बोर्डको सम्पति शुद्धिकरणको अस्त्रले तर्सिए लगानीकर्ता, डरले बेच्नेहरुका कारण कारोबार बढ्यो

बिजमाण्डू
२०७६ असार ८ गते १५:३५ | Jun 23, 2019
बोर्डको सम्पति शुद्धिकरणको अस्त्रले तर्सिए लगानीकर्ता, डरले बेच्नेहरुका कारण कारोबार बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल धितोपत्र बोर्डले शेयर बजारमा कालोधन तथा आतङ्कबादबाट आउने पैसा निरुत्साहित पार्न ल्याएको निर्देशनले दोस्रो बजारमा नकारात्मक प्रभाव परेको छ। बोर्डले शुक्रबार सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन जारी गरेको थियो। 

बोर्डले शेयर बजार घटिरहेको अवस्थामा यस्तो निर्देशन ल्याएर नराम्रो गरेको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्। निर्देशन राम्रो भए पनि आम लगानीकर्ताको मनोविज्ञान गिराउने काम गरेको उनको तर्क छ। आर्थिक बर्ष सकिनै लाग्दा लाभांस बाड्न सक्षम कम्पनीहरुले समेत लाभांस नदिँदा बजार बढ्न नसकेको पोखरेलले आरोप लगाइन्।

बोर्डले जारी गरेको निर्देशन पालना नगरे ५ करोड रुपैयाँसम्म जरिवाना सहित कम्पनीको दर्ता खारेजीसम्मको कारबारही गर्न सकिने व्यवस्था गरिएको छ। दोस्रो बजारमा कतिपय स्रोत नखुलेका लगानी पनि आउने गरेको हुँदा यसको अप्रत्यक्ष असर परेको विश्लेषण गरिएको छ। यदि स्रोत नखुलेको रकम कालोधन रहेको खण्डमा यसको प्रभाव दोस्रो बजारमा पर्नेछ।

पछिल्ला दिनमा दोस्रो बजरमा हुने कारोबारलाई पारदर्शी बनाउने क्रममा असर पार्दै आएको छ। दुई/तीन वर्ष अगाडि दोस्रो बजारको पारदर्शीताको विषयलाई लिएर कुनै पनि किसिमका कार्यक्रम थिएनन्। पछिल्लो समय डिम्याट प्रणालीको पूर्ण कार्यान्वयन, बैंक खाता, लगानीको स्रोत, प्यानको विषय आउँदै गर्दा बजार प्रभावित हुने गरेको छ। जब जब यस्ता विषयहरु आउँछन् तब दोस्रो बजार अप्राकृतिक रुपमा घट्ने गरेको छ। 

बजेट पछाडि लगातार घट्दै आएको शेयर बजार गत बिहीबार ५ अंकले सुधार भएको थियो। बजार घटे पनि ठूलो अंकले घट्न सकेको थिएन। आजदेखि शेयर बजार विस्तारै सुधार हुने विश्लेषण गरिएको भए पनि बोर्डको यस निर्देशनले केहि हदसम्म प्रभावित पारेको छ। 

धेरै जसो लगानीकर्ताहरुले दोस्रो बजार पारदर्शी हुनुलाई राम्रो भएको प्रतिकृया दिए पनि दोस्रो बजारमा कालोधन धेरै नै प्रयोग भएको खण्डमा बजार घट्न सक्ने आँकलन गर्दै शेयर 'होल्ड' गरेर बसेका लगानीकर्ताहरुले समेत शेयर बिक्री गर्न थालेका छन्। 

बजार घट्न क्रममा विगतका दिनमा शेयर खरिद गर्ने भन्दा घटाएरै भए पनि शेयर बिक्री गर्नेको संख्या धेरै थियो। एक ब्रोकर कार्यालयका अनुसार आज शेयर घटाएरै भए पनि बिक्री गर्ने पक्ष हाबी हुँदा कारोबार रकम ४८ करोड १८ लाख रुपैयाँको भएको छ। आजको कारोबार सूचक घट्दा पनि कारोबार रकम डरका कारणले केही बढेको हो। 

आइतबार १७२ वटा कम्पनीको कारोबार हुँदा ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३० वटाको बढेको छ। सबैभन्दा धेरै लक्ष्मी बैंकको चार करोड रुपैयाँको कारोबार भएको छ। विकास बैंक, फाइनान्स र म्युचुअल फण्डको सूचक बाहेक सम्पुर्ण सूचक ओरालो झरेका छन्। 

पुरै बजार रातो देखिए पनि गणपति माइक्रोफाइनान्स र गुराँस लघुवित्तको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।