विदेशी लगानीमा न्यूनतम सीमा प्रभावः साना उद्योग सम्पर्कमा आएनन्, ३ देशबाट मात्रै विदेशी लगानी

बिजमाण्डू
२०७६ असार ७ गते १५:११ | Jun 22, 2019
विदेशी लगानीमा न्यूनतम सीमा प्रभावः साना उद्योग सम्पर्कमा आएनन्, ३ देशबाट मात्रै विदेशी लगानी

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरेर न्यूनतम ५ करोड रुपैयाँ तोकेपछि पाँच करोड भन्दा कमका दुई दर्जन उद्योगका फाइल अलपत्र परेका छन्।न्यूनतम सीमा तोक्नु भन्दा अघि उद्योग विभागमा दर्ता भएका फाइल अलपत्र परेका हुन्।

चैतमा लगानी सम्मेलनका समयमा विदेशी लगानी सम्वन्धी कानुन आयो। तर दुई महिनासम्म विदेशी लगानीको न्यूनतम सीमा तोक्ने काम भएन्।दुई महिनाको अवधिमा ३० वटा फाइल विभागमै रोकिए।ती मध्ये पाँच विदेशी लगानीकर्ताले पाँच करोड लगानी गर्नेगरि निवेदन परिवर्तन गरेर स्वीकृति लिए।अन्य लगानीकर्ताले सीमा बढाउन तयार भएनन्। यही सीमा कारण समेत विदेशी लगानी घटेको छ।

तीन देशबाट मात्र विदेशी लगानी

जेठमा जर्मनीबाट एउटा, बर्मा (म्यानमार)बाट ४ वटा र बाँकी १८ वटा उद्योग चीन बाट गरी ३ वटा देशबाट मात्र विदेशी लगानी प्रतिवद्धता आएको छ। जेठमा नयाँ आएका २३ उद्योगमा ५ अर्ब २५ करोड रुपैयाँ लगानी प्रतिवद्धता गरिएको छ।

अधिकांश लगानी होटल तथा रेष्टुरेन्टमै केन्द्रित भएको छ। विगतमा न्यूनतम लगानीको सीमा ५० लाख रुपैयाँ हुँदा पनि अधिकांश लगानी होटल तथा रेष्टुरेन्टमै आउने गरेको थियो।

लगानीको न्यूनतम सीमाले सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा आउने उद्योगको संख्यामा कमी आएको छ। खनिज, कृषि र उर्जा क्षेत्रमा नयाँ उद्योगले लगानी प्रतिवद्धता गरेका छैनन्। विगतमा यही समुहका उद्योगमा हरेक महिना कम्तीमा ५० प्रतिशत विदेशी लगानी प्रतिवद्धता आउने गरेको थियो।

लगानी स्वीकृतिको लागि परेका आवेदनमा पनि यी समुहका उद्योग धेरै छैनन्। सेवा र पर्यटन उद्योगमा मात्र विदेशी लगानीकर्ता आकर्षित भएको विभागले जनाएको छ।

५२ प्रतिशत उद्योग पर्यटन क्षेत्रमा

विभागका अनुसार २३ वटा उद्योग मध्ये १२ वटा उद्योगले पर्यटन क्षेत्रमा लगगानीको प्रतिवद्धता गरेका छन्। जुन कुल उद्योग संख्यामा ५२ प्रतिशत भन्दा बढी हो। त्यस्तै सेवा उद्योगमा ९ उद्योगले विदेशी लगानी प्रतिवद्धता गरेका छन्।

यो कुल उद्योग संख्याको ४० प्रतिशत हो। सेवा र पर्यटन उद्योगमा मात्रै ९२ प्रतिशत उद्योगले विदेशी लगानीको स्वीकृति लिएका छन्।उत्पादन र सूचना प्रविधिमा आधारित १/१ वटा उद्योगमा मात्र विदेशी लगानी प्रतिवद्धता भएको छ।

क्षेत्र अनुसार २ करोड रुपैयाँसम्म खुला गर्नुपर्ने

विदेशी लगानी आउने सबै उद्योगमा न्यूनतम सीमा ५ करोड रुपैयाँ तोक्दा विदेशी लगानी प्रभावित भएको भन्दै केही क्षेत्रमा २ करोड रुपैयाँ सम्मको विदेशी लगानी खुला गर्नेगरि नियमावली संशोधन गर्न सरोकारवालाले राय दिएका छन्।

नेपालीले गर्न नसक्ने तर विदेशीले गर्दा ५ करोड रुपैयाँ पूँजी नचाहिने उद्योगमा दुई करोड रुपैयाँ सम्मको विदेशी लगानी खुला गर्नुपर्ने विज्ञहरुको जिकिर छ।

विभिन्न मुलुकमा विदेशी लगानीमा क्षेत्र अनुसारको न्यूनतम सीमा तोक्ने गरेको उदाहरण छ। दक्षिण कोरिया र जापानमा विदेशी लगानीको न्यूनतम सीमा ५० लाख रुपैयाँदेखि माथी छ। छिमेकी मुलुक चीन, भारत, भूटान र बंगलादेशमा पनि क्षेत्रअनुसार फरक फरक सीमामा विदेशी लगानी स्वीकृत गरिन्छ।