शेयर बजारले लिएन गति, दैनिक औसतमा ३८ करोड रुपैयाँ मात्रै कारोबार, प्रतिफल पाउने समय

बिजमाण्डू
२०७६ असार ६ गते १८:४९ | Jun 21, 2019
शेयर बजारले लिएन गति, दैनिक औसतमा ३८ करोड रुपैयाँ मात्रै कारोबार, प्रतिफल पाउने समय

Tata
GBIME
Nepal Life

काठमाडौं। बजार सुधार हुने अपेक्षामा लगानीकर्ताले शेयर बिक्री नगर्दा कारोबार रकम औसतमा दैनिक ३८ करोड रुपैयाँमा सीमित भएको छ। गत बैंशाखमा शेयर बजार सुधार हुँदा औसतमा दैनिक ८० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको थियो।

बजार सुधार हुने अपेक्षामा ‍लगानीकर्ताले शेयर बिक्री नगर्दा कारोबार रकम घटिरहेको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए। दुई महिनाको अवधिमा शेयर बजार २१९ अंकले सुधार भयो।यति धेरै सुधार हुँदापनि अधिकाम्स लगानीकर्ताले नाफा बुक गर्न नखोजेको रौनियार बताउँछन्। नाफा बुक गर्न खोजेको भएर सूचक घट्दा यति मात्रै कारोबार हुँदैन थियो। सूचक घट्दै गर्दा बिक्री भन्दा खरिद चाप धेरै छ।

 ‘यति धेरै अंकले बजार बढिसके पछि स्वभाविक रुपमा करेक्सन हुने अनुमानले केही समय बजार सुस्ताएको हो।’ उनले भने। बजार बढ्नु अगाडि बजेटमा शेयर बजारको सुधारका कार्यक्रम आउने अपेक्षा गरिएको थियो। त्यसैले बजार पनि बढ्यो।

बजेटमा धेरै कार्यक्रम परे। तर बजेटका कार्यक्रम कार्यान्वयन हुन केही समय लाग्नेछ। शेयर बजारको सुधार र विस्तारका अधिकांश कार्यक्रम पाइपलाइनमै छन्। शेयर बजारमा स्टक डिलर, गैर आवासीय नेपालीको लगानी, बैंकलाई ब्रोकरको लाइसेन्स प्रदान गर्ने लगायतका विषय कार्यान्वयन हुन नसकेको रौनियारले बताए।

बजार सकारात्मक देखिएपनि कतिपय लगानीकर्ताले पूँजीगत लाभकरको विषयलाई गलत हिसावले व्याख्या गरेर घटाउन खोजेको उनले आरोप लगाए।उनले भने ‘बजार घटाउन चाहने लगानीकर्ताले पूँजीगत लाभकर घटाए पनि यो अन्तिम कर होइन। सरकारले भोलिका दिनमा आयकरको सीमामा शेयरबाट आर्जन भएको आम्दानीलाई पनि गणना गरेर थप करको दायरा बढाउने भ्रम फैलाइएको छ।’

प्राविधिक रुपमा विश्लेषण गर्नेहरुले पनि नाफा बुक गर्ने वेला आएको भन्दै शेयर बिक्री गर्दा बजार केही हदसम्म प्रभावित भएको लगानीकर्ताहरु बताउँछन्। शेयर बजार दिन दिनै घट्न थाले पछि लगानीकर्ताहरु आफुसँग भएको शेयर बिक्री नगरि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिलाई हेरेर बसिरहेका छन्। मौद्रिक नीति नआउनजेल पर्ख र हेरको अवस्थामा लगानीकर्ता छन्।

लगानीकर्ताले बजार घट्दा पनि बिक्री नगर्नुको कारण साउनमा अधिकांश कम्पनीले चौथो त्रैमासिकमा वित्तीय विवरण सार्वजनिक गर्छन्। एक महिना पर्खिदा राम्रो लाभांस पाइने भन्दै लगानीकर्ताले शेयर बिक्री नगरि बसेका छन्। एक महिना लगानी गरेर एक वर्षको प्रतिफल पाउने समय आएको फोरमका उपाध्यक्ष रौनियारले बताए। लगानीकर्ताहरु शेयर थप्न चाहेपनि अझै ‘पर्ख र हेर’को अवस्थामा छन्। त्यसैले दोस्रो बजारको कारोबार रकम खुम्चिदै गएको छ।

वैशाखमा एकै दिन एक अर्ब ७९ करोड रुपैयाँसम्म कारोबार भएकोमा यो साताभरी जम्मा एक अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ। यो रकम अघिल्लो साताको भन्दा ६.६ प्रतिशतले कम हो। विगत तीन सातादेखि शेयर बजारमा कारोबार रकम घट्दै आएको छ।

सूचकमा आएको गिरावट सँगै बजार पूँजीकरण १५ खर्ब ७३ करोड रुपैयाँमा झरेको छ। साताको अन्तिम दिन ५.९० अंकले बजार सुधार हुँदा एक साताको अवधिमा ६.०९ अंकले मात्रै घटेको हो।

यो साता सबैभन्दा धेरै नेपाल बैंकको १२ करोड ३४ लाख रुपैयाँको भएको छ। गत सातामा कारोबार रकम तथा कारोबार कित्ताको आधारमा शिवम एक नम्बर रहेकोमा यो साता कारोबार रकमका हिसावले दोस्रो र कारोबार कित्ताको हिसावले ९ औ नम्वरमा परेको छ। यो साता एक करोड ५६ लाख कित्ता नयाँ शेयर सूचीकृत भएको छ। सबैभन्दा धेरै नविल बैंकको ९६ लाख ८६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ।