तीन म्युचुअल फण्ड परिपक्व हुँदा शेयर बजारमा प्रभाव, फण्डले शेयर आपूर्ति बढाउँदा समस्या

बिजमाण्डू
२०७६ असार ५ गते १८:४२ | Jun 20, 2019
तीन म्युचुअल फण्ड परिपक्व हुँदा शेयर बजारमा प्रभाव, फण्डले शेयर आपूर्ति बढाउँदा समस्या

Tata
GBIME
Nepal Life

काठमाडौं।तीन वटा म्युचुअल फण्ड यो वर्ष परिपक्व हुने भएका छन्। साउन ६ गते सिद्धार्थ इक्विटी ओरियण्टेड स्कीम परिपक्व हुँदैछ। कात्तिकमा एनएमबी सुलभ इन्भेष्टमेन्ट एक र चैतमा लक्ष्मी भ्यालु फण्ड परिपक्व हुँदै छन्।

नियम अनुसार म्युचुअल फण्डहरुले परिपक्व हुनुभन्दा छ महिना अगाडिदेखि शेयर बिक्री गर्दै शेयर संख्या घटाउन थाल्नु पर्छ। करोडौ रुपैयाँको शेयर एकै पटक आपूर्ति हुँदा बजार अस्वभाविक रुपमा घट्न सक्ने भन्दै नेपाल धितोपत्र बोर्डले यस्तो नियम बनाएको हो।

सिद्धार्थ इक्विटी ओरियण्टेड स्कीमले सार्वजनिक गरेको वैशाखको न्याभ रिपोर्ट अनुसार साउन ६ गतेसम्ममा ७ लाख ९८ हजार कित्ता शेयर बिक्री गर्नु पर्ने हुन्छ। वैंशाखको न्याभ अनुसार फण्डले २६ करोड २५ लाख रुपैयाँको शेयर बिक्री गर्नु पर्नेछ। परिपक्व हुने अवधि नजिकिदै गर्दा चैतको तुलनामा फण्डले १५ प्रतिशत शेयर बिक्री गरेको देखिन्छ।

परिपक्व हुने समय नजिकिदै गर्दा फण्डहरुले शेयर बिक्री गर्न थालेपछि दोस्रो बजार बढ्न नसकेको विश्लेषण गरिएको छ। हरेक वर्ष वैशाख, जेठ, असार र साउनमा शेयर बजार बढ्ने गरेको पाइन्छ। तर यस वर्ष विगतका वर्षमा जस्तो बजार केही समय अगाडि नै बढ्न सुरु गर्यो र घट्ने क्रम पनि केही समय अगाडिबाटै सुरु भयो।

म्युचुअल फण्डले बजार बढेको वेलामा शेयर बिक्री गर्ने रणनीति बनाउँदा बजारमा बिक्री चाप बढेको हो। पछिल्लो समय शेयर बजारमा आपूर्ति अनुसारको खरिदकर्ता नहुँदा बजार सुधार हुन नसेकको हो।

सिद्धार्थको म्युचुअल फण्ड परिपक्व भएपछि कात्तिकमा एनएमबी सुलभ इन्भेष्टमेन्ट एकको सकिनेछ। यस फण्डले पनि नियम अनुसार शेयर बिक्री गर्न थाल्नु पर्ने हुन्छ। एनएमबीको सकिए सँगै लक्ष्मी भ्यालु फण्डले बिक्री गर्न थाल्नेछ। नियम अनुसार पहिलो छ महिनामा शेयर बिक्री नभएमा परिपक्व भएको तीन महिनामा शेयर बिक्री गर्न पाउने प्रावधान छ।

ओरियण्टेड आकार एक अर्ब रुपैयाँको छ भने एनएमबीको ७५ करोड रुपैयाँ र लक्ष्मीको ५० करोड रुपैयाँको छ। तीन फण्डको दुई अर्ब २५ करोड रुपैयाँको इकाई परिपक्व हुनेछ भने यी तीन कम्पनीले दोस्रो बजारमा लगानी गरेको ९८ करोड २९ लाख रुपैयाँ बराबरको शेयर बजारमा आउनेछ।

बोर्डले तीन कम्पनी परिपक्व हुँदै गर्दा चार वटा फण्डले तीन अर्ब ९० करोड रुपैयाँको अनुमति पाएका छन्। चार वटा फण्डले अनुमतिको लागि बोर्डमा निवेदन दिएका छन्। तीन फण्ड बाहिरिदै गर्दा ८ वटा फण्ड थपिने देखिन्छ। यसले गर्दा आपूर्ति र मागमा केही सन्तुलन कायम हुन सक्छ। भर्खरै आएका फण्डले ५ वर्षदेखि लगानी गरेको शेयर आपूर्ति धान्न नसक्दा बजारमा केही प्रभावित पार्न सक्ने विज्ञहरु बताउँछन्।

लाभांस यस्तो छ

साउनमा परिपक्व हुन लागेको सिद्धार्थ ओरियण्टेडले तीन पटक गरेर ५३ प्रतिशत नगद लाभांस दिएको छ। फण्डले विगत तीन आर्थिक वर्षदेखि क्रमश १६, २५ र १२ प्रतिशत नगद दिएको छ।

त्यस्तै कात्तिकमा परिपक्व हुन लागेको एनएमबी सुलभले ६२.१० प्रतिशत नगद लाभांस दिएको छ। फण्डले पछिल्ला तीन वर्षदेखि क्रमश २०, २१.०५ र २१.०५ प्रतिशत नगद दिएको हो।

परिपक्व हुँदै गर्दा आफु सँग भएको शेयर, ऋणपत्र, बैंक निक्षेप, मुद्दती निक्षेप सकारेर आएको रकम दामासाही रुपमा थप वितरण गर्ने छन्। यसले उनीहरुले पाउने प्रतिफल बढ्नेछ।

आगामी चैतमा परिपक्व हुन लागेको लक्ष्मीले भने अघिल्ला दुई आर्थिक वर्षमा २५/२५ प्रतिशत नगद लाभांस दिएको हो। तीन वटै फण्ड बजार प्रवेश गर्दा शेयर बजार बुलिस ट्रेण्डमा थियो। सुरुका दुई वर्षमा राम्रो मुनाफा आर्जन गर्न सकेपनि पछिल्ला तीन वर्षमा भने अधिकांश समय घाटामा देखिएका थिए।

पछिल्लो समय शेयर बजार वियरिस ट्रेण्डमा रह्यो। बजार वियरिस हुँदा आफु सँग भएको शेयरको मूल्य पनि दिन दिनै घट्न थाल्यो। बजारमा उतार चढाव नहुँदा फण्डहरुले कमाउने अवसर पाएनन्।