आधुनिक भेहिकल क्लिनिङ सेन्टर बनाइने, काठमाडौं महानगरमा एक घर दुई रुख अभियान संचालन गरिने

बिजमाण्डू
२०७६ असार ५ गते १५:२० | Jun 20, 2019
आधुनिक भेहिकल क्लिनिङ सेन्टर बनाइने, काठमाडौं महानगरमा एक घर दुई रुख अभियान संचालन गरिने

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने भएको छ ।

सवारीसाधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि काठमाडौं छिर्ने नाकामा स्थानीय तहसँगको समन्वयमा क्लिनिङ सेन्टर निर्माण गररिने काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार आर्थिक बर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा क्लिनिङ सेन्टरलाई महत्वका साथ उल्लेख गरिएको छ।

उपत्यका बाहिरबाट आउने सवारीसाधनले हिलो र धुलो नल्याउन भन्नका लागि नाकामै सफा गर्न लागिएको हो। नाकामै सवारीसाधन धोएर मात्र प्रवेश दिने व्यवस्था मिलाउन लागिएको हो।यो वाहेकध साझा यातायात सहकारी संस्थाको सहकार्यमा सार्वजनिक यातायात संचालनलाई निरन्तरता दिइने कार्यक्रममा उल्लेख छ।सार्वजनिक यातायातमा ठूला र विद्युतीय सवारीसाधनहरुमा प्रोत्साहित  गरिने गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरभित्रको प्रदुषण तथा धुवाँ/धुलोलाई न्युनीकरण गरि नो मास्क सिटीका रुपमा विकास गर्न ल्याईएका ब्रुमरहरुको प्रयोगलाई प्रभावकारी बनाइने उल्लेख छ। ब्रुमरले उठाएको धुलोलाई प्रशोधन गरि नयाँ वस्तु उत्पादन गर्न अध्ययन गरिने कार्यक्रममा छ। काठमाडौंलाई प्लाष्टिक मूक्त शहर घोषणा गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। ठूला उद्योगबाट  निस्कने फोहोरपानीलाई प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट अनिवार्य राख्नुपर्ने नियम ल्याईने उल्लेख छ।

महानगरपालिकाकाभित्रका मूख्य सडकहरुमा अर्नामेन्टल प्लान्ट लगाई शहरी हरियाली एवम सौन्दर्य अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा छ। खुल्ला क्षेत्र सरकारी तथा गैरसरकारी संस्था, सार्वजनिक जग्गा,पर्ति जग्गा तथा नदी उकासका स्थलहरुमा विभिन्न प्रजातिका फलफुलका विरुवाहरु रोपेर ग्रीन सिटी प्रवर्द्धन गरिने कार्यक्रममा छ। एक घर दुई रुखको कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिईने र भर्टिकल गार्डेनको अवधारणालाई अघि बढाईने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

काठमाडौं महानगरपालिकाका क्षेत्रलाई सफा सुन्दर बनाउन मुल सडक र सहायक सडक मोहडामा अवस्थित भवन तथा भौतिक संरचना कम्पाउण्ड वाल समेत तोकिए बमोजिम रङरोगन गर्न प्रोत्साहित गर्ने नीति लिईने उल्लेख छ।

कोटेश्वर तीनकुने स्थित खुल्ला क्षेत्रलाई मौलिक पहिचान सहितको अन्तर्राष्ट्रिय स्तरको आधुनिक बुद्धपार्क निर्माण गरिने कार्यक्रममा उल्लेख गरिएको छ। लामो समयदेखि धेरैवटा योजना बनेपनि तीनकुनेको खुल्ला क्षेत्र अलपत्र अवस्थामा छ।