सनराइज बैंक बिबाद: बैठकमा निरजको प्रशंसा गरेर पछि किन युटर्न भए शैलेन्द्र गुरागाईँ

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ असार ४ गते १९:०८ | Jun 19, 2019
सनराइज बैंक बिबाद: बैठकमा निरजको प्रशंसा गरेर पछि किन युटर्न भए शैलेन्द्र गुरागाईँ


काठमाडौ। रत्नराज बज्राचार्यले बिदा लिनुअघि नै सनराइज बैंकको सञ्चालक समितिले चार जनालाई प्रमुख कार्यकारी अधिकृतका लागि 'एप्रोच' गरेको थियो। 

Tata
GBIME
Nepal Life

लक्ष्मण रिसाल, जनक शर्मा पौडेल, अनुजमणि तिमिल्सिना र निरज श्रेष्ठ। 

आफ्ना योजना, बैंकलाई आगामी दिनमा हिँडाउने दिशा, लक्ष्यहरु प्रस्तुत गरेपछि चार जनाबाट प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। 

तर नियुक्तिको 'करारनामा' मा हस्ताक्षर गरेलगत्तै बिबाद सुरु भयो, जसले गर्दा असार २ गतेबाट कार्यभार सम्हाल्नु पर्ने निरज सञ्चालकको विवाद नमिलुन्जेलसम्म बैंक 'जोइन' नगर्ने अडानसहित बाहिरै बसिरहेका छन्।

बिबादको कथा यस्तो छ
सिइओ नियुक्त गर्नुअघि निरजलाई बैक सञ्चालक समितिले 'पावर पोइन्ट प्रिजेन्टेसन' का लागि डाकेको थियो। उनले करिव दुई घण्टा आफ्नो प्रस्तुती दिएका थिए। त्यहाँ सञ्चालकहरुले सवाल गरे, उनले जबाफ दिए। 

त्यो बैठकमा दुई जना सञ्चालक भने अनुपस्थित थिए। शैलेन्द्र गुरागाईँ र मालचन्द दुगड। गुरागाईँले बैठक चलिरहँदा अध्यक्ष मोतीलाल दुगडलाई फोन गरेर भनेपनि- मालचन्द जी हुनुहुन्न। उहाँ नभएपछि म आउँदिन। निरजजी राम्रो मान्छे हो। म अर्को बैठकमा आउँला।

शैलेन्द्रसँग भएको कुराकानी सञ्चालक समिति चलिरहँदा मोतीलाल दुगडले सुनाएका थिए।

निरज आफ्नो प्रस्तुती सकेर हिँडे। त्यसको केही दिनमै सञ्चालक समितिको बैठक बस्यो। बैठकमा गुरागाईँले 'निरजजी राम्रो मान्छे हो। मैले त उहाँसँग सँगै पढेको पनि हो। त्यसैले उहाँलाई नियुक्त गर्दा मेरो समर्थन नै हुन्छ' भनेर बैठकमा आफ्नो धारणा राखे।

बैठकमा शैलेन्द्रले केही लामै बोलेका थिए। उनले अघिल्लो दिन निरज श्रेष्ठसँग सँगै बसेर लञ्च खाएको जानकारीसमेत सञ्चालक समितिलाई गराएका थिए।

बैठकमा मालचन्द दुगड उपस्थित थिएनन्। उनले बिरामी भएकाले आउन नसक्ने जानकारी गराएका थिए। सिइओमा निरजलाई नियुक्त गर्ने भनेर सञ्चालक समितिले माइन्युटमा हस्ताक्षर गर्न थालियो। 

त्यहीबीचमा शैलेन्द्रलाई फोन आयो। उनी 'म अहिले हस्ताक्षर गर्दिन, मालचन्दजीसँगै गरौंला' भनेर बाहिरिए। बैठकले निरजलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेपछि उनलाई चार बर्षका लागि 'कन्ट्राक्ट पेपर' मा हस्ताक्षर गरायो। 

आफूसँगै पढेको साथी भनेर प्रशंसा गरेका शैलेन्द्रको सार्बजनिक रुपमा बोली फेरियो। उनले निरजमाथि प्रश्न उठाउँदै उनको नियुक्तिमा आफ्नो समर्थन नरहेको प्रतिकृया सार्वजनिक गरे। शैलेन्द्र 'युटर्न' हुनुमा दुई वटा मूख्य कारण रहेको उनी निकटहरु बताउँछन्।

शैलेन्द्रले बैककै केही बरिष्ठ कर्मचारीहरुलाई 'तपाईँ हो आगामी सिइओ' भनेर आश्वासन बाँडेका थिए। अर्कोतिर उनले 'राजनीतिक तथा प्रशासनिक दबाब' का कारण अरु कसैलाई प्रमुख कार्यकारी बनाउन खोजेका थिए। 

बैंक सञ्चालक समितिमा मोतिलालका साथै बच्चराज तातेर, मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी छन्। 

स्रोतहरुका अनुसार, सञ्चालक समिति बैठकमा निरजलाई नियुक्त गर्नुअघि मोतीलालले 'तपाईँहरुलाई कोही उत्कृष्ठ लाग्छ भने नाम प्रस्ताब गर्नु होला' भनेर सोधेका पनि थिए। तर न मालचन्द न त गुरागाईँले नै अर्को बिकल्प दिएका थिए।

'सबैको सहमतिमा निरजजीलाई सिइओ नियुक्त गरिएको हो' एक सञ्चालकले भने, 'अहिलेको बिबाद निरजलाई देखाएर मोतीजीसँग रिस फेर्न खोजिएको हो।' सनराइज बैंकमा मालचन्द दुगड अध्यक्ष बन्न चाहन्थे तर मोतीलाल पक्षको बहुमत भएका कारण मालचन्द पक्षले अवशर पाएन। त्यही बद्ला अहिले लिन खोजिएको स्रोतहरुको दावी छ।

'निरजजी जागिर माग्दै आएको पनि होइन। हामीले नै बोलाएको हो। नियुक्त गरिसकेपछि उहाँलाई विवादमा तान्नु ठीक होइन तर साथीहरुले बुझिरहेका छैनन्' एक सञ्चालकले भने, 'शैलेन्द्रजी पनि बाहिर जानु भएको छ। उहाँ आएपछि हामी निष्कर्षमा पुग्छौं। किन बिबादमा तान्नु भएको हो भनेर उहाँसँग जबाफ माग्छौं।'

राष्ट्र बैंकमा सनराइजको बिबाद अनौपचारिक रुपमा प्रवेश गरिसकेको छ। निक्षेपकर्ताको हितमा समस्या पर्ने वा संस्थाको साखमा धक्का पुग्ने अवस्था भएपछि मात्र सञ्चालक समितिलाई बोलाएर छलफल गर्ने पक्षमा राष्ट्र बैंक छ।