घट्दो बजारको प्रभाव: कारोबार रकम १ अर्ब ६९ करोडबाट ३० करोड रुपैयाँमा सिमित

बिजमाण्डू
२०७६ असार ४ गते १५:३४ | Jun 19, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। कारोबार सुरु भएको केहि समय शेयर बजार सुधार देखिए पनि ५२ मिनेटपछि रातो हुन थालेर बजार अन्तिममा ०.२० अंकले घटेर १२५८.४६ अंकमा रोकिएको छ। सूचकसँगै कारोबार रकम ३० करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ। 

नेप्से सूचक झिनो अंकले घटे पनि ‘क’ वर्गका कम्पनीको सूचक सेन्सेटिभ भने मंगलबार र बुधबार झिनो अंकले सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले मर्जरको पोलिसी ल्याउने हल्लासँगै फाइनान्स र सस्ता मूल्यका बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य भने थोरै थोरै बढिरहेका छन्।

बैंकिङ तरलता अझै पनि सहज हुन सकेको छैन। आर्थिक वर्ष सकिन एक महिना पनि बाँकी छैन। आर्थिक वर्ष सकिनै लाग्दा पनि बैंकिङ तरलता सहज नहुँदा शेयर बजार बढ्न सकेको छैन। 

बैंकिङ तरलता केहि सहज हुँदै गर्दा व्याजदर पनि विस्तारै घट्ने अनुमान गरिएको भए पनि अझै पनि तरलता समाधान हुन सकेको छैन्। आर्थिक वर्षको अन्तिममा खर्च भए पनि पुनः कर तथा राजस्व वापतको रकम पनि राज्यकै ढुकुटिमा जान थाल्छ। 

जसले गर्दा बजारमा बैंकहरुको योजना अनुसारको पैसा रिलिज हुन पाउँदैन। कतिपय बैंकहरुले नयाँ कर्जा लगानी गर्नै छाडेका छन्। यो सबैको प्रत्यक्ष असर शेयर बजारमा पर्ने गरेको छ। विगतका वर्षहरुमा जेठ-असारमा विकास खर्च धेरै हुने र त्यो पैसा बजारमा आउने गर्थ्यो। बजारमा पैसा आउन थाले सँगै केहि पैसा शेयर बजारमा पनि आउने गरेको थियो। 

हरेक वर्षको असार पहिलो साता शेयर बजार सुधार हुँदै आएको पाइए पनि यस वर्ष बजेटपछि शेयर बजार उकालो लाग्न सकेको छैन। ३० करोड रुपैयाँमा सिमित भएको कारोबारमा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको मात्रै दुई करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। 

मल्टिपर्पोज फाइनान्सको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। फाइनान्सको शेयर मूल्य १९ रुपैयाँले बढेर २१५ रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै घलेम्दी हाइडोपावरका शेयरधनीहरुले ३ प्रतिशतले गुमाएका छन्। कम्पनीको शेयर तीन रुपैयाँले घटेर ८१ रुपैयाँमा कारोबार भएको छ।