नेपाल-बंगलादेश ऊर्जा संयन्त्रको बैठक बंगलादेशमा सुरु, विद्युत निर्यात विषयमा थप छलफल 

बिजमाण्डू
२०७६ असार ४ गते १३:४६ | Jun 19, 2019
नेपाल-बंगलादेश ऊर्जा संयन्त्रको बैठक बंगलादेशमा सुरु, विद्युत निर्यात विषयमा थप छलफल 


Tata
GBIME
Nepal Life

काठमाडौ। नेपाल-बंगलादेश ऊर्जा संयन्त्रको दोस्रो बैठक बुधबारबाट बंगालदेशमा सुरु भएको छ। बंगालदेशसँग विद्युत व्यापार तथा जलविद्युतमा लगानी सम्बन्धि समझदारी भएपछि त्यसलाई कार्यान्वयनमा लैजान संयुक्त कार्य समुहको सहसचिव स्तरीय बैठक बंगलादेशमा सुरु भएको हो।

यसअघि पहिलो बैठक भने गत मंसिरमा काठमाडौमा सम्पन्न भएको थियो। जसमा अन्तरदेशीय प्रशारणलाइन, विद्युत व्यापारको मोडालिटी, जलविद्युतमा बंगालदेशको लगानी, भारतीय लगानीमा निर्माण हुन लागेको माथिल्लो कर्णालीको विद्युत खरिद र नविकरणीय ऊर्जामा सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो।

दोस्रो बैठकको लागि ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र सहसचिव प्रविणराज अर्यालको नेतृत्वमा ६ सदस्सीय टोली बंगालेदश पुगेको हो। २ दिनसम्म चल्ने बैठकमा ऊर्जा सहयोग सम्बन्धि समझदारी भएपछि त्यसलाई कार्यान्वयनमा लैजान दुवै देशले गर्नुपर्ने आवश्यक तयारीका विषयमा छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ।

गत वर्ष साउनमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिसोर्स राज्यमन्त्री नसरुल हमिदले नेपाल र बंगलादेशबिच हुने विद्युत व्यापार तथा जलविद्युतमा लगानी सम्बन्धी समझदारीमा हस्ताक्षर गरेका थिए।

नेपाल, बंगालदेश र भारत सहित त्रिपक्षीय समझदारी गरेर नेपालबाट बंगलादेश विद्युत निर्यात गर्ने विषयमा द्धिपक्षीय र त्रिपक्षीय बैठक गर्ने सहमति अनुसार नेपाल-भारत तथा नेपाल-बंगलादेश ऊर्जा संयन्त्रको बैठक नियमित रुपमा बस्दै आएको छ।