सूर्यविनायक-धुलिखेल सुरुङ निर्माण थप धकेलिँदै, सुरुङमार्गको डिजाइन पुनरावलोकनको तयारी

बिजमाण्डू
२०७६ असार ४ गते १२:१३ | Jun 19, 2019
सूर्यविनायक-धुलिखेल सुरुङ निर्माण थप धकेलिँदै, सुरुङमार्गको डिजाइन पुनरावलोकनको तयारी

Tata
GBIME
Nepal Life

काठमाडौं। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माण अनिश्चित भएको छ। नेपालले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार पारेको डिजाइन पुनरावलोकनको प्रस्ताव गरेसँगै सुरुङको काम ढिलो हुने भएको हो।

यसै वर्ष निर्माण सुरु गर्ने योजना बनाइएको भएपनि सुरुवाती अनुमानभन्दा १८ अर्ब रुपैयाँ धेरै लागत अनुमान जाइकाले गरेपछि

पुनरावलोकनका लागि नेपालले प्रस्ताव गरेको हो। जाइकासँग डिजाइन पुनरावलोनका लागि अनुरोध गरिएको र त्यसपछि मात्रै काम अघि बढाइने विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। 

यो सुरुङ निर्माणका लागि सुरुमा २४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो। तर जाइकाले तयार गरेको डिजाइन र लागत अनुमानअनुसार सुरुङ बनाउन ४२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

भक्तपुरको पलासेबाट धुलिखेलतर्फ जानेबाटो घुमाउरो र जोखिमपूर्ण रहेका कारण त्यहाँ सुरुङ निर्माणको प्रस्ताव गरिएको थियो। धुलिखेलतिर जान आउनका लागि १.३/१.३ किलोमिटरका दुईवटा छुट्टाछुट्टै सुरुङमार्ग प्रस्ताव गरिएको छ। यो खण्डमा सुरुङमार्गसगै १६ किलोमिटर सडक पनि ८ लेनमा विस्तार गर्न लागिएको महाशाखाले जनाएको छ। 

सुरुङमार्ग निर्माण गर्दा ७ अर्ब रुपैया मुआब्जा वितरण गर्नुपर्छ। जग्गा अधिग्रहण गर्न कठिन रहेको महाशाखाको निष्कर्ष छ। जहाँ वाटर किङडम रिसोर्टलगायत धेरै संरचनाहरु समेत अधिग्रहण गर्नुपर्छ। सुरुङमार्गको लागि मात्रै करिब १४ अर्ब लागत लाग्ने अनुमान छ। यसैगरी ८ लेनमा करिब १६ किमी सडक र त्यसको मुआब्जा दिदा आयोजनाको लागत ४२ अर्ब लाग्ने देखिएको छ।

यसैगरी महाशाखाले कोटेश्वरको ट्राफिक जाम न्यूनकरण गर्न त्यहाँ पनि सुरुङको प्रस्ताव गरेको छ। उपयुक्त सुरुङ निर्माणका लागि अध्ययन भइरहेको महाशाखाले जनाएको छ। कोटेश्वरमा सुरुङ बनाउने र सडक ८ लेनमा  विस्तार गर्ने प्रस्ताव गरिएको छ।