अरुण तेस्रोको काम तीब्र गतिमा, २४सै घण्टा तीन सिफ्टमा काम, सँगसँगै प्रशारणलाइन पनि निर्माण

बिजमाण्डू
२०७६ असार ४ गते ०८:४८ | Jun 19, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। लगानी बोर्डको पहिलो जलविद्युत परियोजनाको रुपमा अघि बढेको अरुण ३ जलविद्युत आयोजनाको काम निकै उत्साहजनक रुपमा भइरहेको छ। ९०० मेगावाट क्षमताको अरुण ३, लगानी बोर्डमार्फत विदेशी लगानी आएको नेपालको पहिलो जलविद्युत आयोजना हो।

भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले निर्माण गरिरहेको आयोजनामा दुई हजार पाँच सयभन्दा बढी स्वदेशी तथा विदेशी कामदारले २४सै घण्टा तीन सिफ्टमा काम गरिरहेका छन्। 

निर्माण सुरु भएको एक वर्षको अवधिमै आयोजनाको भौतिक निर्माणको प्रगति २२ प्रतिशतभन्दा बढी सकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बिजमाण्डूलाई बताए।

यो पनि पढ्नुस्: लोडसेडिङले च्यापेपछि सरकारले सम्झेको अरुण तेस्रो यसरी फर्कियो ट्रयाकमा

२०७५ बैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौबाट आयोजनाको औपचारिक रुपमा शिलान्यास गरेका थिए। बैशाखदेखि औपचारिक रुपमा निर्माण सुरु भएको आयोजनाले एक वर्षमै लोभलाग्दो प्रगति गरेको हो। 

यो पनि पढ्नुस्: एमालेको पालामा रद्द आयोजना एमालेकै सरकारको पालामा शिलान्यास, खेर गएको दुई दशक

आयोजनाको मूख्य सुरुङमार्गसम्म जाने प्रवेश सुरुङ ५०० मिटर खनिएको छ। नदि फर्काउन बाधस्थलमा निर्माण हुने डाईभर्सन सुरुङको काम पनि उत्साहजनक रुपमा अघि बढिरहेको धिमानले बताए। उनले भने 'आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत गृह र प्रशारणलाइन निर्माणको काम पनि एकै साथ भइरहेको  छ।' 

विद्युतगृहदेखि ढल्केबर हुँदै भारतको मुजफ्फरपुरसम्म ३१६ किलोमिटर लामो ४०० केभीको प्रशारण लाइन पनि आयोजनाले बनाइरहेको छ। नेपालले पाउने विद्युत ढल्केबरबाट लिनेछ। त्यहीँबाट भारत पनि जाने छ। 

मुख्य सुरुङसम्म पुग्न दोभानमा निर्माण भइरहेको एउटा प्रवेश सुरुङमार्गको निर्माण लगभग सकिएको छ। अन्य ३ वटा प्रवेश सुरुङमार्गको  काम पनि एक साथ चलिरहेको छ। 

सबै प्रवेश सुरुङमार्गको काम गरेर ५०० मिटरभन्दा बढी खनिसकिएको धिमानले बताए। बाँध स्थलमा नदि फर्काउन पनि ३९३ मिटर लामो सुरुङमार्ग निर्माण गर्नुपर्छ। प्रवेश सुरुङमार्गको काम सकिएपछि ११ हजार सात सय मिटर लामो मुख्य सुरुङमार्ग निर्माणको काम थाल्ने आयोजनाले जनाएको छ।

निर्माण सुरु भएको ९ महिनामा १५ प्रतिशत मात्र निर्माण पूरा भएको आयोजनामा प्रमुख कार्यकारी अधिकृत शतिषकुमार शर्मा बाहिरिएर नयाँ सिइओको रुपमा अरुण धिमान आएसँगै कामले झनै गति लिएको हो। 

संखुवासभाको मकालु गाउँपालिका ५ दोभानमा बाँधस्थल रहने आयोजनाको चिचिला गाउँपालिका ३ दिदिङमा विद्युत गृह रहनेछ। एक खर्ब चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास गरिएको छ।

९०० मेगावाटको आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात १९७ मेगावाट विद्युत निशुल्क पाउने छ। बाँकी विद्युत कम्पनीले भारतमा निर्यात गर्ने छ। सतलजले २५ वर्षसम्म आयोजना सञ्चालन गरेपछि चालु अवस्थामै नेपाललाई हस्तान्तरण गर्ने छ।