शेयर बजारमा नयाँ रोग, बजार बढ्दा किन्न आदेश, घटेपछि रकम नदिई भाग्ने प्रवृति, ब्रोकर परे समस्यामा

बिजमाण्डू
२०७६ असार ३ गते १०:०२ | Jun 18, 2019
शेयर बजारमा नयाँ रोग, बजार बढ्दा किन्न आदेश, घटेपछि रकम नदिई भाग्ने प्रवृति, ब्रोकर परे समस्यामा

Tata
GBIME
Nepal Life

काठमाडौँ।दोस्रो बजारमा शेयर खरिद आदेश दिएर रकम भूक्तानी नगरि लगानीकर्ताहरू सम्पर्कविहिन हुने प्रवृत्ति बढ्न थालेको छ।पछिल्लो समय शेयर खरिद आदेश दिने तर समयमा भूक्तानी नगर्ने प्रवृत्तिले बढ्दै गएपछि ब्रोकर कम्पनी समस्यामा परेका छन्।

नियम अनुसार शेयर खरिद गरेका लगानीकर्ताले कारोबारको तेस्रो दिन सम्म रकम भुक्तानी गर्नुपर्ने प्रावधान छ।तर पछिल्लो समय लगानीकर्ताले १० देखि १२ दिन सम्म पनि भूक्तानी नदिने प्रवृत्ति बढ्दै गएको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए।

लगानीकर्ताहरूले शेयर बजार बढ्न थालेपछि हौसिएर खरिद आदेश दिने गरेका छन्। तर उनीहरूले सोचेअनुरुप शेयरको मूल्य नबढेपछि सम्पर्क वाहिर रहने गरेको उनले बताए। ब्रोकर कार्यालयमा नियमित कारोबार गर्नेले समेत पछिल्लो समय समयमा भूक्तानी दिन छाडेको कालिका सेक्यूरिटिजका कर्मचारी टिका श्रेष्ठले जानकारी दिए।‘शेयर बढ्दा हौसिएर किन्ने तर घटेपछि भूक्तानीनै दिन नआउने प्रवृति बढ्दो छ। यसले हामीलाई ठूलो समस्यामा पार्न थालेको छ।’ उनले भने।

उनका अनुसार लगानीकर्ताले बढेको बेलामा शेयर खरिद गर्ने र त्यही शेयर तीन/चार दिनमा बढेपछि बिक्री गरेर भुक्तानी गरी अल्पकालीन नाफा गर्ने मानसिकता उनीहरूको रहने गरेको छ।तर उनीहरूले सोचे अनुरूप बजार नबढेपछि उनीहरू सम्पर्क विहीन हुने गरेका छन्।शेयर खरिद गरेकाले समयमा भुक्तानी नदिएपछि अन्य नियमित कारोबारीलाई समेत समयमा भूक्तानी दिन अप्ठ्यारो भएको उनको जिकिर छ। उनी भन्छन् 'किन्नेले समयमा भुक्तानी दिए बिक्रीकर्तालाई समयमा पैसा दिन सकिन्छ तर त्यसको सन्तुलन नमिल्दा राफसाफमै असर परिरहेको छ।'

समयमा भूक्तानी नगर्ने प्रवृत्ति बढ्दै गएपछि ब्रोकर कम्पनीहरू एक आपसमा सरसापट गर्दै कारोबार राफसाफ गर्न बाध्य भएका छन्।बजारमा नियमित कारोबारनै चलाउन मुस्किल परेपछि   उनीहरूले कारोबार राफफाफ गर्न ब्रोकर कम्पनीहरुबीच सर सापट गरेर कारोबार आउट हुनबाट जोगाउनु परेको रानाभाटले बताए।

समयमा भूक्तानी नभएपछि केही ब्रोकर कम्पनीले बक्यौंता राख्ने लगानीकर्ताको शेयर भटाभट बिक्री गर्न थालेका छन्। उनीहरूको शेयर बिक्री गरेर आएको रकमबाट कारोबार मिलान गर्दै आन्तरिक रुपमा कालोसूचीमा राख्न थालिएको रानाभाटले बताए।केही लगानीकर्ताको शेयर बिक्री गरेर आउने रकम बढी भए ट्रेड ग्यारेन्टी फण्ड (राफसाफ कोष)मा दाखिला गर्ने गरेका छन्।राफसाफमा रकम कम भए तत्कालाइ ब्रोकर कम्पनीले भूक्तानी गर्ने र त्यही व्यक्तिको अर्को कारोबारबाट आएको रकमबाट ब्रोकर कम्पनीले लिनुपर्ने रकम असुल उपर गर्न थालिएको छ।

केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले यस्तो व्यवस्था गरिदिएपछि ब्रोकर कम्पनीले समयमा भूक्तानी नगर्ने लगानीकर्ताको शेयर बिक्री गर्न सम्भव भएको हो। यसअघि लगानीकर्ताले शेयर खरिद गरेको पैसा जति समयमा नदिएपनि शेयर बिक्री गर्न बन्देज थियो।

तर यही कमजोरीमा टेकेर लगानीकर्ताले समयमा भूक्तानी नदिने प्रवृत्ति बढ्दै गएपछि सिडिएससीले कार्यबिधिनै बनाएर उक्त व्यवस्था गरिदिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए।कार्यविधि अनुसार लगानीकर्ताले शेयर खरिद गरेर समयमा भूक्तानी नदिएको प्रमाणसहित ब्रोकर कम्पनीले निवेदन दिएपछि शेयर बिक्रीका लागि अनुमति दिने गरेको न्यौपानेले बताए।