बहुराष्ट्रिय कम्पनीले आफ्ना शेयर किन कामदारलाई दिँदैछन्? पूँजीबादमा शेयर स्वामित्व वहस

बिजमाण्डू
२०७६ असार २ गते १०:०६ | Jun 17, 2019
बहुराष्ट्रिय कम्पनीले आफ्ना शेयर किन कामदारलाई दिँदैछन्?  पूँजीबादमा शेयर स्वामित्व वहस

Tata
GBIME
Nepal Life

२० औं शताब्दीको  सुरुवात ताकाकी चर्चित अमेरिकी लेखक इडा टारबेलले आफ्नो कलमबाट पुँजीबादको सुधारिएको संस्करणका निम्ति वकालत गरिन्।

सन् १९१६ मा प्रकाशित आफ्नो किताब 'न्यू आइडियल्स इन बिजनेस'मा उनले  सन् १८८७ मा नै विलियम कुपर प्रोक्टरले कामदारसँग कसरी प्रोफिट शेयरिङ गरे भन्नेबारे चर्चा गरेकी छिन्।

कम्पनीले कामदारलाई स्वामित्व बाँड्दा कम्पनीको कार्यदक्षतामा कस्तो प्रभाव पर्छ भन्ने बारेमा उनले एक कामदारको भनाई उद्धृत गर्दै लेखेकी छिन्-' अब कुनै नयाँ मानिसलाई कम्पनीभित्र छिरेर मेरो पाउरोटीको हिस्सा खोस्न दिन्छु? यहाँ नाफा सिर्जना गर्नमै म आफ्नो ध्यान केन्द्रित गर्दैछु।'

यसबाट स्वामित्वपछि कामदारहरुको कम्पनीप्रतिको अझ बढी लगाव र इमान्दारी प्रष्ट हुन्छ।एक सय वर्षभन्दा अघिदेखि प्रोक्टर एण्ड ग्याम्बल कम्पनीले आफ्नो शेयरको दश प्रतिशत हिस्सा कामदार तथा अवकाशप्राप्त कर्मचारीलाई दिइरहेको छ।

यस्तै अन्य चर्चित कम्पनीहरु जस्तै साउथवेस्ट एयरलाइन्स, स्टारबक्समात्र होइन चीनको चर्चित टेलिकम जायन्ट हुवावेको पनि कामदारले नै आंशिक वा पूर्ण रुपमा शेयर स्वामित्व ग्रहण गरेका छन्।

तर हाल केही लेफ्ट विङका नेताहरु पुँजीबादलाई पाखा लगाउँदै जनमानसलाई खतरापूर्ण ढंगले समाजबादतर्फ धकेलिरहेका छन्। कामदारको हितमा धेरै काम हुन सक्छ तर अधिक राजनीतिकरणले यसलाई अझ खतरा पुग्छ।  गत जुनको ५ तारिखमा अमेरिकामा सिनेटर तथा ट्रम्पको पालाका राष्ट्रपति पदका आकांक्षी बर्नी स्यान्डर्स वालमार्टको बार्षिक साधारणसभामा पुगे र कामदारलाई त्यसको संचालक समितिमा लैजान माग गरे।

उनले त्यहाँ त्यस्ता बाध्यात्मक नीतिहरु बहसमा ल्याए जसले ठूला कम्पनी तथा फर्महरुले आफ्नो शेयरको हिस्सा कामदारलाई दिन बाध्य बनाउनेछ। त्यसबाट ति कामदारले नियमित रुपमा लाभांश पाउँछन्। यस्तै किसिमको मोडेलका बारेमा बेलायतमा लेबर पार्टीका जेरोमी कोरबायनले पनि प्रस्ताव गरेका थिए।

यस्तै अमेरिकामै अर्की राष्ट्रपति पदकी आकांक्षी तथा चर्चित सिनेटर एलिजाबेथ वारेनलाई पनि धनको असमान बितरणले न्यून तहका कामदारमा पर्न जाने असर र उनीहरुको अवस्थाबारे गुनासो छ।

उनीहरु सही छन्। कामदारले कम्पनीको शेयर जति धेरै पायो धनी र गरिब बीचको खाडल कम हुँदै जान्छ। १० प्रतिशत अमेरिकीले ८० प्रतिशत अमेरिकी सम्पत्तिमाथि आधिपत्य जमाइरहेको अवस्थामा यस्तो किसिमको बितरणले केही हदसम्म राहत दिन सक्ने उनीहरु तर्क गर्छन्।

तर कम्पनीहरुलाई आफ्नो राजीखुशीले भन्दा पनि दबाबमूलक ढंगले शेयर दिन बाध्य पार्नु भनेको पश्चिमी देशहरुमा प्रोग्रेसिभ र कन्जरभेटिभ दुबै समूहले कामदारको स्वामित्व कायम गर्न ऐतिहासिक कालदेखि नै गरिरहेको प्रयासलाई खतरामा पार्नु हो।  

कामदारको स्वामित्वका बिबिध किसिम तथा मापदण्ड छन्। बामपन्थी बिचारधाराले यसलाई अतिबादी ढंगले ब्याख्या गर्छ जसले कामदारको सम्पत्ति बृद्धिको वकालत गर्छ।

पुरातनबादी बिचारधाराले पुँजीबादमा कामदारले हिस्सा प्राप्त गर्ने कुराको वकालत गर्छ जसबाट उनीहरुको कार्य प्रदर्शनका साथै ब्यापारमा समेत सकारात्मक सुधार होस्। 

सबै किसिमका योजना उपयुक्त हुँदैन। सबै योजनाले काम गर्छ भन्ने पनि हुन्न। तर अध्ययनहरुले के देखाएको छ भने सामान्यतया कामदारको स्वामित्व रहेका फर्महरुले कामदारको उच्च कार्यदक्षता, बढी स्थिर कर्मचारीका साथै सम्पत्तिमा उच्च नाफा जस्ता फाइदाहरु लिन सक्छन्।

सन् २०१७ मा न्यान्सी विइफेकले गरेको एक अध्ययनले के देखाएको छ भने कामदारलाई स्वामित्व नदिएका फर्महरुमाभन्दा स्वामित्व पाएका फर्ममा उच्च औसत आय तथा रोजगारदाताको कार्यावधि लामो हुन्छ।

अमेरिका यस्तो देश हो जहाँ श्रमिक पुँजीबादीहरुको बाहुल्यता छ।  करिब ४० प्रतिशत वयस्क अमेरिकी कामदारहरु कुनै न कुनै किसिमका प्रोफिट शेयरिङमा हिस्सेदार रहेका छन्।

रोजगारदाताको 'शेयर स्वामित्व योजना' अन्तर्गत कम्पनीले कामदारलाई शेयर प्रदान गर्ने योजनामा सहभागी कामदारहरु मनग्गे छन्।

सन् २०१० मा १ करोड ३५ लाख रहेको कामदारको संख्या सन् २०१६ मा १ करोड ४३ लाख थियो भने शेयर स्वामित्व योजनाको कुल सम्पत्ति हाल १.४ ट्रिलियन डलर पुगिसकेको छ।

कामदारहरुप्रति बेलायत तुलनात्मक रुपमा नरम देखिन्छ जहाँ कामदारलाई दिइने शेयर स्वामित्व सम्मानजनक देखिएको छ।

गत महिनामात्रै बेलायतका हाइ-फाइ चेनका मालिक ६० वर्षिय जुलियन रिचरले आफ्नो कम्पनीको ६० प्रतिशत शेयर कामदारहरुको ट्रस्टमा राखिदिने घोषणा गरे। उनको त्यस कदमको सर्वत्र स्वागत भयो किनकी देशले त्यति उदार पुँजीपति जो पाएको थियो। 

तर सबैले यस कुरालाई स्वागत गर्छन् भन्ने छैन। रुटगर्स युनिभर्सिटीका जोसेप ब्लासीले एक दशकदेखि यस कुराको बिरोध गर्दै आएका छन्। उनी कामदारको स्वामित्वलाई जोखिमपूर्ण मान्छन् किनभने यसले कामदारलाई एउटै बास्केटमा धेरै  अण्डा राख्न प्रेरित गर्छ। अर्थात् कम्पनी धरासायी भएको खण्डमा उनीहरुले सबैकुरा गुमाउन सक्छन्। उदाहरणका रुपमा उनी सन् २००२ मा युनाइटेड एयरलाईन्स धरासायी भएको घटनालाई जोड्छन्।

बरु यसको सट्टामा नीतिनिर्माताहरुले पेन्सन प्लानलाई प्रवर्द्धन गर्नुपर्ने उनको धारणा छ। अर्काथरीले पनि यसले कामदारलाई फ्रि राइड दिने भन्दै बिरोध गर्छन्।

ब्लासी यस्ता तर्कसँग असहमत छन्। रोजगारदाताको स्वामित्व स्वभावैले प्राथमिकतामा पर्छ। उनीहरुले आफ्नो बिकल्पमा अरुलाई ल्याएका हुँदैन्। कामदारले १५ प्रतिशतभन्दा बढी स्वामित्व पाएको उदाहरण बिरलै छ। यो हिस्सा ब्यबस्थापनयोग्य पनि छ। जहाँसम्म 'फ्रि-राइड'को कुरा छ टारबेलले धेरै पहिल्यै भनिसकेकी छिन् 'कामदारहरु आफ्नो पाउरोटीको हिस्सा बाहिरकाले खोस्न आएको सहन सक्दैनन्।'

कामदारको स्वामित्व बिस्तार कम्पनीको हितमा हुन्छ। विफिकका अनुसार अमेरिकाका १ लाख ५८ हजार निजी कम्पनीहरुमा दोस्रो बिश्व युद्धपछि जन्मिएकाहरु संस्थापक छन् जो अब अवकाशको संघारमा पुगिसकेका छन्।

ति कम्पनीहरु 'शेयर स्वामित्व योजना' अन्तर्गत आंशिक वा पूर्णरुपमा बिक्री हुन सक्ने देखिन्छ। तर सबैले यही सुझाव मान्छन् भन्ने पनि छैन। त्यसैले यसलाई बढावा दिनका लागि सरकारले अझ बढी सूचना दिइ कर तथा प्रक्रिया सरल बनाउन सक्छ जसले कामदारको स्वामित्व भएका कम्पनीहरुलाई फेवर गरोस्।

हार्वड विश्वविद्यालयका रिचर्ड फ्रिम्यान कामदारको स्वामित्वले आर्टिफिसियल इन्टेलिजेन्सका कारण हुनसक्ने संभावित रोजगारी कटौतीलाई सन्तुलनमा ल्याउन सहयोग गर्छ। उनी प्रश्न गर्छन् – 'यदि 'रोबोमोनिया' हावी भएमा कामदारहरुले के गर्लान्?' उनी कामदारको पुँजीमाथिको स्वामित्वलाई अझ बढाउनुपर्ने बिचार राख्छन्।

ब्यापारीहरुको स्वेच्छामा यस मुद्दालाई छोड्नु सबैभन्दा हितकर हुन सक्छ। उनीहरुले पुँजीबादको असमान उपहारका रुपमा यसलाई लिएका छन् र यसको भविष्यको बारेमा चिन्तित समेत छन्। सार्वजनिक कम्पनीहरुको अध्ययनका आधारमा ब्लासी के अनुमान गर्छन् भने ठूला कम्पनीहरुले वार्षिक रुपमा कम्तीमा पनि ०.५ प्रतिशत शेयर उनीहरुका पाँच बरिष्ठ अधिकारीकालागि सुरक्षित गर्छन्। संचालक समिति वा बोर्डले यसको स्वामित्वलाई अझ बढी बिस्तार वा श्रेणीगत रुपमा बढाउँदै लैजान सक्छ। स्याण्डर्स, वारेन वा कोरबाइनले प्रस्ताव गरेजस्तो समाधानका अनुत्तरदायी उपायहरुले कम्पनीको हित गर्दैन। 

पुँजीबादले आम नागरिकको पक्षमा थालेको अभियानको इतिहास धेरै पुरानो हो। प्रोक्टरले यसलाई ल्याए भने सन् १९८० को दशकमा थ्याचर र रेगनहरुले यसलाई बलियो ढंगले अघि बढाउन मद्दत गरे। यसको भविष्य पनि उज्जवल छ। टारबेलले भनेझैं यसकालागि केवल मष्तिष्क, कुनै बिशेष बादबाट स्वतन्त्र, मानवता र बृहद उत्तरदायित्व आवश्यक पर्छ।