नेपाली पासपोर्ट रद्ध, तै पनि थाइल्यान्डमै रहेर तस्करी र ठगी, डिपोटपछि काठमाडौंमा सार्वजनिक

सविन ढकाल/बिजमाण्डू
२०७६ जेठ ११ गते १५:२६ | May 25, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। थाइल्यान्डलाई आधार बनाएर मानव तस्करीमा सक्रिय परशुराम गुरुङलाई प्रहरीले आज सार्वजनिक गरेको छ। वैदेशिक रोजगारमा लगाउने भन्दै २ सयभन्दा धेरैबाट १३ करोड रुपैयाँभन्दा बढीको ठगीका अभियुक्त गुरुङलाई यही १० गते काठमाडौं ल्याइएको हो।

इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका गुरुङविरुद्ध ५० जनाभन्दा धेरैले उजुरी गरेका थिए। अभियुक्त गुरुङको २०७२ साल जेठ २२ गते राहदानी रद्ध गरिएको थियो भने असार १८ गते इन्टरपोलमा राखिएको थियो। पासपोर्टविना नै ट्राभल डकुमेन्ट बनाएर थाइल्यान्डमा बस्दै आएका उनलाई थाइ प्रहरीले गएको चैत १३ गते समातेको थियो। थाइ प्रहरी र नेपाली दूतावासको सक्रियतामा उनलाई नेपाल ल्याइएको हो।

मानव बेचविखन र ओसारपसार तथा ठगी मुद्दामा उनलाई प्रहरीले खोजिरहेको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले आज उनलाई सार्वजनिक गरेको हो।

अन्तर्राष्ट्रिय नटवरलाल

थोरैले मात्र परशुराम गुरुङलाई उनको नामले चिन्छन्। उनी यस्ता नटवरलाल हुन् जसले आफ्नो बहु पहिचान बनाएको छ। बहुरुपी उनले आफूलाई क्यानडाको परमानेन्ट रेसिडेन्ट बताउँछन् त कतिलाई विभिन्न कम्पनीका उच्चपदस्थ अधिकारी। त्यसैगरी चिनिएका हुन् उनी।

थाइल्यान्डमा बसेर सक्कली पहिचान लुकाएर उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धन्दा जारी राखेका थिए। नक्कली परिचयपत्र देखाएर क्यानडामा पिआर दिलाउने, फ्रान्स, कोरिया, अमेरिका, मकाउ, अस्ट्रेलिया लगायतका देशमा पुर्‍याउने र काम दिलाउने प्रलोभन दिँदै ठगीमा उनी सक्रिय थिए। आकर्षक तलबको लोभ दिलाएर नक्कली भिसा उपलब्ध गराउँदै प्रतिव्यक्ति ५ लाखदेखि २० लाख रुपैयाँसम्म ठगी गर्दै आएका थिए।

थाइल्यान्ड पुर्‍याएर बनाउँथे बन्धक

गुरुङले विभिन्न देश लैजाने भन्दै नेपालीहरुलाई भिजिट भिसामा थाइल्यान्ड बोलाउँथे। त्यहाँ पुगेका नेपालीलाई बन्धक बनाउने र उल्टै उनीहरुसँग रहेको रकम लिने गर्थे। त्यतिलेमात्र नभइ 'बाहिर निस्किस भने थाइ प्रहरीले समाउँछ' भन्दै तर्साउँथे। पीडितहरुसँग रकम सकिएपछि उनले फेरि नेपालबाट उनीहरुका आफन्तको रकम माग्न लगाएर शोषण गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

यसरी लगेकाहरुबाट रकम मगाउन सक्ने अवस्था भएसम्म मगाइरहने र नसक्ने अवस्थामा पुगेपछि फरार हुने गरेको देखिएको छ। विभिन्न नाममा परिचय स्थापित गरेर ठगीमा सक्रिय हुने भएकाले पीडितहरु उनीसम्म पुग्न सक्दैन थिए। होटल  वा एकान्त ठाउँका कोठमा राखेर उनले ठगी गर्दै आएका थिए।

५० भन्दा बढीको उजुरी, २ सय बढी पीडित

गुरुङविरुद्ध आर्थिक वर्ष २०७१/७२ देखि नै उजुरी पर्नेक्रम सुरु भएको देखिन्छ। मानव बेचविखनको मुद्दामा उजुरी गर्नेको संख्यामात्र हो, ५०। करीब २ सय जनाले ठगिएको भन्दै उजुरी गरेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोमा परेको उजुरीका आधारमा उनीविरुद्ध प्रहरी मुभ भएको थियो।

लामो समय फरार रहँदै आएका उनको २०७२ जेठमा राहदानी खारेज गरियो अनि इन्टरपोलमा उनको डिटेल राखिएको थियो। नेपाल प्रहरीको समन्वयमा थाइल्यान्डमा रहेको नेपाली दूतावास र त्यहाँको प्रहरीको सक्रियतामा उनलाई लाओसको सीमा नजिकै पक्राउ गरिएको थियो।

त्यसपछि बैंककमा उनलाई सौन प्लु कारागारमा राखिएको थियो। जेठ १० गते भने थाइल्यान्ड सरकारले उनलाई डिपोट गरेको हो।