विजुली आपूर्ति गत वर्षकै हाराहारीमा, माग बढ्दा पनि पोहोरकै विजुलीबाट कसरी भयो व्यवस्थापन?

बिजमाण्डू
२०७६ जेठ ११ गते १५:१७ | May 25, 2019
विजुली आपूर्ति गत वर्षकै हाराहारीमा, माग बढ्दा पनि पोहोरकै विजुलीबाट कसरी भयो व्यवस्थापन?


Tata
GBIME
Nepal Life

काठमाडौं।वैशाख २०७६ मा विद्युतको उच्चतम माग एक हजार दुई सय ९६ मेगावाट थियो। वैशाख २०७५ मा भने उच्चतम माग एक हजार दुई सय ८५ मेगावाट थियो। फरक जम्मा ११ मेगावाट।

अधिकतम माग हुँदा यो वर्ष वैशाखमा भारतबाट ५०० मेगावाट विद्युत आयात भएको थियो। गत वर्ष वैशाखमा पनि ५०० मेगावाटनै आयात भएको थियो। अन्य समयमा भारतबाट पहिले र अहिले समान दुईदेखि तीन सय मेगावाट विद्युत आयात भइरहेको छ।

दुई लाख ८१ हजार पाँच सय १८ घरेलु ग्राहक, तीन हजार तीन सय १३ औद्योगिक ग्राहक लगायत एक वर्षमा तीन लाख ११ हजार आठ सय २५ नयाँ ग्राहक थपिइसकेका छन्। तर विद्युतको आपूर्ति भने विगत एक वर्षदेखि एक हजार दुई सयदेखि एक हजार तीन सय मेगावाटकै बीचमा घुमिरहेको छ।

गत वर्ष उद्योगतर्फ चार घण्टा लोडसेडिङ गरिएको थियो। अहिले त्यो पनि अन्त्य भइसकेको छ। तर पनि विद्युतको माग एक हजार तीन सय मेगावाट भन्दा बढी गएको छैन।

प्राधिकरणको आम्दानी भने ८ अर्ब रुपैयाँले बढिसकेको छ। त्यसमा दुई अर्ब रुपैयाँ चालु आर्थिक वर्षको बक्यौता उठ्न बाँकी छ। यो वर्ष वैशाखमा त प्राधिकरणले भारतलाई तिर्ने बिजुलीको बिल पनि महिनामै ३५ करोड रुपैयाँ सम्मले घटाएको छ।

चालु आर्थिक वर्षको चैतसम्म  चार अर्ब ५४ करोड ४१ लाख ६३ हजार युनिट विद्युत बेचेको प्राधिकरणले गत वर्षको सोही अवधिमा चार अर्ब दुई करोड ८२ लाख ८४ हजार युनिट मात्र विद्युत बेचेको थियो। जुन गत आर्थिक वर्षको भन्दा भन्दा ५१ करोड ५८ लाख ७९ हजार युनिट बढी हो।

चैतसम्मको तथ्याङ्कमा प्राधिकरणले ४६ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा ४० अर्ब ५५ करोड १६ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो। जुन गत आर्थिक वर्षको तुलनामा झण्डै ६ अर्ब रुपैयाँले बढी हो।

चालु आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणको आम्दानी १५ प्रतिशतले बढिसकेको छ। यसमा सबैभन्दा ठूलो योगदान उद्योगकै छ। यो वर्ष १८ अर्ब रुपैयाँ महशुल तिरेका उद्योगले गत वर्ष १५ अर्ब रुपैयाँ तिरेका थिए। गत वर्षको भन्दा चालु वर्षमा उद्योगले १७ प्रतिशतले खपत बढाएर प्राधिकरणको आमदानीमा १९ प्रतिशत योगदान दिएका छन्। घरेलु खपत र योगदान भने १० प्रतिशतले मात्रै बढेको छ।

कसरी सम्भव भयो पोहोरकै जति विद्युतले १५ प्रतिशत बढी आम्दानी?

प्राधिकरणको आम्दानी बढ्नुमा चुहावट नियन्त्रण, माग व्यवस्थापन र जलविद्युत आयोजनालाई कुशल सञ्चालनको प्रमुख हात रहेको नेपाल विद्युत प्राधिकरणको दावी छ।

'गत वर्ष २६ प्रतिशत रहेको चुहावट अहिले १६ प्रतिशत भन्दा तल आएको छ। एक हजार मेगावाटको हाम्रो प्रणालीमा एक सय मेगावाट बराबरको योगदान त चुहावट नियन्त्रणलेनै दिएको छ।' प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजमाण्डूलाई भने, 'अर्को कुरा अहिले विद्युतको माग र आपूर्तिको रेखा सिधा हुँदै गएको छ। अर्थात रातको समय र बेलुकाको पिक समयको मागको अन्तर २०/२५ प्रतिशत भन्दा बढी छैन। पहिले पहिले यस्तो फरक ५० प्रतिशत सम्म हुने गरेको थियो। यसले गर्दा हामीले प्रणालीमा पोहोरकै जति विद्युत आपूर्ति गरेरपनि प्राधिकरणको आम्दानी बढाउन सफल भएका छौ।'

उनका अनुसार पहिलेको अवस्था भएको भए अहिलेको आपूर्ति प्रणालीमा दुई हजार मेगावाट विद्युत चाहिन्थ्यो। व्यवस्थापनले दुई हजार मेगावाटको माग पनि १२/१३ सय मेगावाट विद्युतले पूरा गरिरहेको घिसिङले बताए।

'पहिले रातको समयमा विद्युत माग चार/पाँच सय मेगावाट पनि थिएन। अहिले रातमा पनि ९ सय देखि एक हजार मेगावाटसम्म विद्युतको माग भइरहेको छ। यसले पिक समय र अन्य समयको मागमा धेरै फरक परेन। २०/२५ प्रतिशतमात्रै माग तलमाथी भइरहेको छ। अझ यस्तो मागको फरक १० प्रतिशतमा झार्ने गरी काम गरिरहेका छौ।' उनले भने।