एफवान सफ्टका अध्यक्ष विश्वास ढकाललाई राष्ट्रपतिबाट सम्मान, पोखरेल पनि भए सम्मानित

बिजमाण्डू
२०७६ जेठ १० गते १०:५५ | May 24, 2019
एफवान सफ्टका अध्यक्ष विश्वास ढकाललाई राष्ट्रपतिबाट सम्मान, पोखरेल पनि भए सम्मानित

Tata
GBIME
Nepal Life

काठमाडौं। सूचना तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वास ढकाल र डा. विरेन्द्रराज पोखरेललाई गोपाल कमला राजभण्डारी रोटरी सम्मान गरेकी छिन्। 

राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो। कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा तथा रोटरी डिष्ट्रिक गभर्नर चिन्तामणि भट्टराई उपस्थित थिए।

प्रविधिमार्फत सहज, सहुलियतपूर्ण तथा सुरक्षित वित्तीय सेवा प्रदान गर्न तयार पारेको प्रणालीका लागि ढकाललाई सम्मान गरिएको थियो उनले सन् २००६ मा इसेवाको परिकल्पना गरेर नेपालमा डिजिटल वालेटको सुरुवात गरेका थिए। ढकाल अहिले इसेवाको मातृसंस्था एफवान सफ्टका अध्यक्ष छन्। यो कम्पनीले मोवाइल बैंकिङ सेवामार्फत ७० लाखलाई वित्तीय सेवामा सहज पहुँच दिएको छ। 

सम्मान ग्रहण गरेपछि अध्यक्ष ढकालले भने,'सम्मानले मलाई राष्ट्रपति अझ उत्तरदायि बन्न प्रेरणा दिएको छ।' सम्मान कार्यक्रममा उपस्थित आफ्नो टिमका सदस्य असगर अलि, सुवास शर्मा र सुवास सापकोटालाई पनि धन्यवाद दिए।

दृष्टिविहिनहरुका लागि जापानमा रहँदा कम्प्युटर र एन्ड्रोइड मोवाइल फोनमार्फत अध्ययन गर्न मिल्ने प्रविधि विकास गरेकोमा पोखरेललाई सम्मान गरिएको थियो। पोखरेल आफै पनि दृष्टिविहिन हुन्। उनले भने, 'सम्मानसहित प्राप्त वित्तीय सहयोगले मेरो आफ्नो प्रविधिलाई ग्रामिण भेगसम्म विस्तार गर्न र दृष्टिविहन बच्चाहरुलाई सघाउन सहयोग पुग्नेछ।'

स्वर्गीय रोटरियन गोपाल राजभण्डारीको स्मृतीमा प्रत्येक दुई वर्षमा उत्कृष्ट व्यवसायिक नेतृत्व तथा संस्थालाई दश लाख रुपैयाँ राशीको यो अवार्ड प्रदान गरिंदै आएको छ। ढकाल र पोखरेललाई पाँच लाख रुपैयाँको दरले यो पुरस्कार राशी वितरण गरिएको थियो।

यसअघि अवार्डबाट धुलिखेल अस्पतालका अध्यक्ष डा. रामकण्ठ मकाजु, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मा, संस्कृतिविद् सत्यमोहन जोशी र प्रजनर एशिस्टेन्स नेपालकी अध्यक्ष इन्दिरा रानामगरलाई सम्मानित गरिसकिएको छ।