पोल्ट्रीपछि दूधमा आत्मनिर्भर बन्दै चितवन: वार्षिक उत्पादन ९५ हजार टन, दैनिक तीन लाख लिटर

बिजमाण्डू
२०७६ जेठ ९ गते २१:१७ | May 23, 2019


चितवन। कुनै समय तोरीको जिल्ला भनेर चिनिने चितवन केही वर्षयता पोल्ट्रीको राजधानीको रुपमा परिचित छ। पोल्ट्रीमा आत्मनिर्भर बनेपछि चितवनले यो उपनाम पाएको हो।

Tata
GBIME
Nepal Life

पोल्ट्रीपछि अब चितवन दूधमा आत्मनिर्भर बन्दैछ। दैनिक तीन लाख लिटर दूध उत्पादन भइरहेको चितवनलाई जेठ १८ गते दूध दिवसमा ‘दूधमा आत्मनिर्भर जिल्ला’ घोषणा गरिँदै छ। चितवनको वार्षिक दूध उत्पादन ९५ हजार टन छ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले स्थानीय सरकार पशु विज्ञ केन्द्र, जिल्ला समन्वय समिति, जिल्लाका दुग्ध उत्पादक सहकारी, व्यावसायिक पशु फार्म र अन्य सरोकारवालाको सहभागितामा चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन सम्भव भएको बताउँछन्।

चितवनमा दूध उत्पादनको केही वर्षयताको तथ्यांक हेर्दा पहिले नै आत्मनिर्भर भइसकेको देखिन्छ । त्यसको औपचारिक घोषणा भने यतिबेला गर्न लागिएको हो। यसका लागि संघले दूध र दुग्धजन्य पदार्थको तथ्यांक संकलनका लागि विभिन्न समिति बनाएको छ।‘यस्तो घोषणा गर्ने काम स्थानीय सरकारको हो। हामी स्थानीय सरकारकै समन्वयमा जिल्लालाई दूधमा आत्मनिर्भर भएको घोषणा गर्दैछौँ’ संघका अध्यक्ष न्यौपाने भन्छन्, ‘हामीले जिल्लाका सबै स्थानीय तहमा पुगेर तथ्यांक लिइरहेका छौँ।’ उनका अनुसार जेठ १८ गते दूध दिवसका दिन चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रम तय भएको छ।

केन्द्रीय दुग्ध उत्पादक संघका उपाध्यक्ष रामेश्वर पोखरेलले चितवन जिल्ला दूधमा आत्मनिर्भर घोषणा कार्यक्रमलाई केन्द्रीय संघले सहयोग गर्ने बताउँदै यो काम स्वागतयोग्यभएको बताए। उनले जिल्ला संघद्वारा चितवनमा आयोजित दूधमा आत्मनिर्भर जिल्ला घोषणा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

मागभन्दा दोब्बर उत्पादन
अमेरिकन बोन हेल्थ डट ओआरजी वेबसाइटका अनुसार, वयश्क मानिसलाई दैनिक एक ग्राम क्याल्सियम चाहिन्छ। यसको आपूर्ति तीन गिलास (दुई सय ५० मिलिलिटर) दूधबाट हुन्छ ।

यस हिसाबले चितवनको पौने ६ लाख जनसंख्यालाई दैनिक अनुमानित एक लाख ५० हजार लिटर दूध चाहिन्छ । एक वर्षमा एक जनालाई अनुमानित ९१ लिटर दूध चाहिन्छ। अहिले जिल्लामा उत्पादन भइरहेको दूधको आधा परिमाणले त्यो माग पूरा हुन्छ।दुई वर्षअघि साविक पशुसेवा कार्यालयले चितवनमा दिनको दुई लाख ५० हजार लिटर दूध उत्पादन हुने जानकारी दिएको थियो। अहिले दिनको तीन लाख लिटर दूध उत्पादन भएको अनुमान संघले गरेको छ।

उक्त कार्यालयका अनुसार चितवनमा आव २०७१/७२मा ७७ हजार टन र आव २०७२/७३ मा ७८ हजार टन दूध उत्पादन भएको थियो। आव २०७३/७४ मा ९० हजार टन र गत आव २०७४/७५ मा ९५ हजार टन दूध उत्पादन भएको थियो। चालु आर्थिक वर्षमा यसैको हाराहारी उत्पादन भएको अनुमान छ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध १ सय ३७ वटा दुग्ध सहकारीमध्ये १ सय ११ वटामात्र नवीकरण भएका छन्। जस अनुसार भरतपुर महानगरपालिकामा ५२ वटा, रत्ननगर नगरपालिकामा २१ वटा, कालिका नगरपालिकामा आठ, खैरहनी नगरपालिकामा २३ वटा, राप्ती नगरपालिकामा ६ वटा र माडी नगरपालिकामा एउटा दुग्ध सहकारी रहेका छन्।
सहकारीमार्फत् कारोबार
होलिस्टन जातका चार वटा गाई र स्थानीय जातका दुई वटा भैंसी पालेका चितवनका किसान रामचन्द्र देवकोटाले दैनिक २८ लिटर दूध स्थानीय दुग्ध सहकारीमा बिक्री गर्छन्। रामचन्द्रमात्र होइन, गाईभैंसी पालेर दूध बिक्री गर्दै आएका चितवनका हजारौँ किसानले दुग्ध सहकारीमार्फत् नै दूध बिक्री गर्छन्। दुग्ध सहकारीबाट खरिद गरी डेरी उद्योगहरुले प्रशोधनपछि यही दूध बजारमा पठाउँछन्।

चितवनका सहकारीमा संकलन भएको दूध कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, मवानपुर लगायतका जिल्लामा पुग्छ। चितवनमा उत्पादित दूधमध्ये ५० प्रतिशत जिल्लाबाहिर गइरहेको छ। चितवनको दूध डीडीसी, उज्ज्वल डेरी, सीताराम डेरी, हेटौँडा डेरी लगायतले उठाउने गरेका छन्। धेरै वर्षदेखि चितवनमा मिल्क होलिडे भएको छैन।

दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध अधिकांश स्थानीय स्तरमा रहेका दुग्ध सहकारीमार्फत् संकलन हुने गर्छ। केही किसानले भने सिधै उपभोक्तासम्म पुगेर दूध बिक्री गर्छन्। किसानबाट दूध संकलन गर्ने दुग्ध सहकारीले प्रतिलिटर दुई रुपैयाँ नाफा लिएर डेरी उद्योगलाई दूध बिक्री गर्छन्। जिल्लामा उत्पादन हुने दूधको मुख्य बजार चितवन, काठमाडौं र पोखरा नै हो।

साबिक जिल्ला पशु सेवा कार्यालयको तथ्यांक अुनसार, चितवनमा दुधालु गाई ३६ हजार र भैंसी ६८ हजार रहेका छन्। गाईमध्ये १० हजार स्थानीय र २६ हजार उन्नत जातका छन्। भैंसीमध्ये २८ हजार स्थानीय र ४० हजार उन्नत जातका छन्। चितवनमा परम्परागत रुपमा दुई वटादेखि लिएर व्यावसायिक रुपमा ८५ वटा गाईभैंसी पाल्ने किसान दुग्ध उत्पादनमा सक्रिय छन्।

नेपालमा दूधको माग दैनिक दस लाख लिटर रहेको अनुमान छ। दूध उत्पादनका लागि काभ्रे जिल्ला अग्रस्थानमा र चितवन दोस्रो स्थानमा रहेका छन्। नेपालमा भारतबाट समेत दैनिक करिब एक लाख लिटर दूध भित्रिने गरेको अनुमान छ।भारतमा सरकारले किसानलाई विभिन्न सहुलियत र अनुदान दिने भएकोले नेपालमा भन्दा भारतमा दूधको मूल्य सस्तो भएको दुग्ध उत्पादक किसानहरु बताउँछन्। नेपालमा पनि सरकारले किसानलाई राहत प्याकेज नल्याउने हो भने केही वर्षपछि देशभित्रका दुग्ध उत्पादक किसानले बढ्दो उत्पादन लागत थेग्न नसक्ने किसानहरुको भनाई छ।
कार्यान्वयन भएन निर्देशिका
सरकारले जारी गरेको दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका कार्यान्वयन भएको छैन। दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर कायम राख्नका लागि गत वर्ष असोज ४ गतेको मन्त्रिस्तरीय निर्णयले निर्देशिका स्वीकृत गरेको थियो। निर्देशिका गत वर्ष चैत ४ गतेदेखि कार्यान्वयनको चरणमा गइसकेको छ।

दूधको स्वच्छता कायम राख्न किसानदेखि उद्योगसम्मलाई मापदण्ड तोकिएको छ। अनुगमनका क्रममा स्वच्छता कायम राख्न सुधार गर्नु पर्ने धेरै प्रावधानहरु बाँकी देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनका खाद्य निरीक्षक प्रदीप काफ्लेले जानकारी दिए।दूध बोक्नका लागि अनिवार्यरुपमा आल्मुनियम वा स्टिलको भाँडाको प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख भए पनि किसानहरुले प्लाष्टिकको भाँडा नै प्रयोग गर्दै आएका छन्। किसानहरुले बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुका नै संकलन गर्नुपर्ने, दूध बोक्ने भाँडा राम्रोसँग सफा गर्नुपर्नेलगायत मापदण्ड रहेको छ।

दूधको परीक्षण गर्ने विधि र मापदण्ड, दूधको प्रशोधन, दूध चिस्यान गर्ने अवधि र उद्योगहरुको सरसफाई लगायत स्वच्छताका मापदण्ड निरीक्षण गर्दा मापदण्डको पालना नभएको पाइएको काफ्ले बताउँछन्। पहिलो चरणको अनुगमन भएकाले दुग्ध उत्पादक सहकारीहरुलाई छिट्टै निर्देशिकाको मापदण्डमा आउन निर्देशन दिइएको उनले बताए।

गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद घिमिरे दूध बोक्ने प्लास्टिकको क्यान फालेर आल्मुनियमको क्यान खरिद गर्दा किसानहरुलाई आर्थिक भार पर्ने बताउँछन्। दुग्ध उत्पादक किसानहरुले आल्मुनियमको क्यान खरिद गर्न सुरु गरिसकेकोले असार मसान्तसम्ममा सबै किसानले नयाँ क्यान खरिद गरिसक्ने उनको भनाइ छ। ‘सरकारले ल्याएको मापदण्ड सही छ तर कृषकहरुलाई पहिल्यैदेखि बानी नपरेकाले कार्यान्वयनमा ढिलाई भएको हो’ उनले भने।

अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भागीरथ तिमिल्सिना खाद्य विभागले जारी गरेको दुग्धजन्य पदार्थको स्वच्छता सम्बन्धी निर्देशिका उचित रहेको बताउँछन्। दूधलाई स्वच्छ बनाउन संस्थाको पनि ध्यान गएको उनको भनाइ छ। दूध बोक्ने प्लास्टिकका क्यान विस्थापित गर्न चार सय थान आल्मुनियमका क्यान माग भएको उनले जानकारी दिए। किसानलाई एउटा क्यानमा ५० प्रतिशत अनुदान दिने गरी क्यान ल्याइने उनको भनाइ छ।