काकाकुल काठमाडौं: दुई महिनामा तीन पटक पानी वितरण, त्यो पनि तीन घण्टा मात्रै

बिजमाण्डू
२०७६ जेठ ८ गते ०९:०५ | May 22, 2019
काकाकुल काठमाडौं: दुई महिनामा तीन पटक पानी वितरण, त्यो पनि तीन घण्टा मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। सुख्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार सुरु भएको छ। आपूर्ति घटेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले राजधानीमा २ महिनामा तीन पटक मात्रै पानी वितरण थालेको छ। सतही स्रोतहरु सुक्न थालेसँगै उपत्यकामा खानेपानीको हाहाकार सुरु भएको हो। 

केयुकेएलले दैनिक १७ करोड लिटर पानी वितरण गर्दै आएकोमा अहिले आपूर्ति दैनिक ५ करोड लिटर घटेको छ। उपत्यकामा दैनिक ४१ करोड लिटरभन्दा बढी माग छ। २ देखि ७ दिनमा वितरण गर्दै आएको केयुकेएलले आपुर्ती घटेसँगै २० दिनमा एक पटक पानी वितरण थालेको हो। 

सुक्खा याम लागेसँगै बर्षेनी खानेपानीको समस्या बल्झिने गरेका कारण पानी वितरण गर्न कठिन हुने गरेको केयुकेएलका प्रवक्ता प्रकाश राईले जानकारी दिए। 'दैनिक पानीको माग बढेको बढ्यै छ आपूर्ति छैन विजोग अवस्था छ' उनले भने। अझै पानीको आपूर्ति घट्ने र पानी वितरणमा थप समस्या हुने उनले बताए।  

जेठदेखि केयुकेएलले नयाँ तालिका सार्वजनिक गरेर खानेपानी वितरण गरिरहेको छ। नयाँ संशोधित तालिका अनुसार २० दिनमा एक पटक तीन घण्टा पानी वितरण गर्ने गरेको पाईएको छ। 

केयुकेएलको महाराजगञ्ज शाखाबाट २० दिनमा एक पटक वितरण गर्ने गरेको पाईएको छ। ठाउँ अनुसार शाखाबाट ८ देखि २० दिनसम्म तीन घण्टा वितरण गरिरहेको केयुकेएलले जनाएको छ।  तल्लो ल्होसार पूर्व बसुन्धरा क्षेत्रमा २० दिनमा एक पटक पानी वितरण गर्ने गरेको पाईएको छ। 

केयुकेएलका अनुसार नयाँ तालिका अनुसार क्षेत्रपाटी शाखा कार्यालय, महाकालचौर वितरण प्रणालीबाट ८ दिन विराएर खानेपानी वितरण गरिरहेको छ। बाँसबारी वितरण प्रणालीबाट नौ दिन विराएर वितरण भैरहेको छ। बालाजु वितरण प्राणलीबाट ८ दिनमा वितरण हुने गरेको छ। उक्त शाखाबाट १ देखि ३ घण्टासम्म वितरण गरिरहेको केयुकेएलले जनाएको छ। 

किर्तिपुर शाखाबाट हरेक ७ दिनमा वितरण भैरहेको छ। केहि स्थानमा दैनिक रुपमा पनि वितरण भैरहेको छ भने केहि स्थानमा साताको दुईपटक ठाँउ अनुसार वितरण भैरहेको छ। यो क्षेत्रमा पुरानै तालिका अनुसार पानी वितरण भैरहेको छ। 

महाकालचौर शाखा (ख) (कपन एरिया)  बाट ९ दिनमा एक पटक  वितरण गरेको पाईन्छ। महाकालचौर शाखा (क) बाट तीन देखि १० दिनसम्म एक पटक वितरण हुने गरेको छ। भक्तपुर शाखाबाट प्रत्येक चार दिन विराएर वितरण हुने गरेको छ। ललितपुर शाखाबाट ६ दिन विराएर वितरण हुने गरेको छ। त्रिपुरेश्वर शाखाले साताको तीन दिन वितरण गर्ने गरेको छ। बानेश्वर शाखाले आठ दिन विराएर एक पटक वितरण गर्ने गरेको छ।  

उपत्यका खानेपानी स्रोत तथा ट्याङकर व्यवसायी संघका अध्यक्ष सुमन पाठकका अनुसार गत बर्षमा जस्तो  हाहाकार हुने अवस्था नआईसकेको भएपनि विगत केहि दिनदेखि ह्वात्तै चाप बढेको छ। उनले भर्खरै सुख्खा सिजन सुरु भएकाले माग बढ्ने जानकारी दिए। करिव ६ सय ट्याङकर मार्फत दैनिक रुपमा १० लाख लिटर पानी वितरण भैरहेको संघले जनाएको छ। 

काठमाडौंभित्र ४० प्रतिशत पानीको चुहावट रहेको छ। खानेपानी पाईपहरु राणाकालीन समय देखिका छन्। ती पाईप मर्मत गरेपछि खानेपानीको समस्या धेरै घट्न सक्ने खानेपानी सम्वद्ध अधिकारीहरुको भनाई छ। चुहावट रोक्नका लागि योजना बनाएर काम गर्न सकिएको छैन तर केयुकेएलका अधिकारीहरु भने काम भैरहेको बताउँछन्। 

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले समयमा सम्पन्न हुन नसक्नुले पनि काठमाडौं पानी आपूर्तिलाई प्रभावित पारिरहेको छ। आयोजना सुरु भएको दुई दशकमा पनि पानी आउने निश्चित हुन सकेको छैन।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएको भएपनि ५ महिनादेखि ठप्प छ। पुस २ गते आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले ठेक्का तोडेर हिँडेपछि साईटमा केही काम हुन सकेको छैन। अस्वभाविक रुपमा सम्वन्धीत आयोजना, मन्त्रालय र सरकार महिनौ मौन बस्दा आयोजना अनिर्णयको बन्दी बन्न पुगेको हो।