बजेट आउन एक साता बाँकी, राजस्वका दर बढ्ने अनुमान गरिएका वस्तुको आयातमा फरक देखिएन

बिजमाण्डू
२०७६ जेठ ७ गते २१:२३ | May 21, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट आउने दिन नजिकिए पनि बजेटबाट राजस्वका दर बढ्ने अनुमान गरिएका वस्तुको आयात अघिल्लो वर्षजस्तो देखिएको छैन। अघिल्ला वर्षहरुमा बजेटअघि त्यस्ता वस्तुको आयात उच्च दरमा बढ्ने गरेको भए पनि यसपटक त्यस्तो नदेखिएको भन्सार कार्यालयहरुले जनाएका छन्।

प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिषकुमार महतोले बजेटअघि अघिल्ला वर्षमा जस्तो उच्च आयात नदेखिएको बताए। ‘बजेट आउन अब जम्मा एक साता बाँकी छ, यही अवधिमा बढ्यो भने त भन्न सकिँदैन तर अहिलेसम्म आयातमा उल्लेख्य वृद्धि भएको छैन,’ महतोले भने।

चालु आर्थिक वर्षको आठौँ र नवौँ महिना (चैत र वैशाख)मा गत वर्षको तुलनामा वस्तु आयात नै घटेको भन्दै उनले ती दुवै महिनामा राजस्वको लक्ष्य पुरा नभएको उल्लेख गरे। ‘चैतमा त गत वर्षको जति पनि राजस्व उठेन, वैशाखमा पनि लक्ष्यभन्दा निकै कम मात्रै राजस्व संकलन भएको छ,’ उनले भने।

धेरै भन्सार संकलन हुने सवारी साधनको आयात कम हुँदा राजस्व संकलन नै प्रभावित बनेको महतोले बताए। उनले वीरगञ्जबाट केही वस्तु आयातको मार्ग भैरहवा सिफ्ट भएको हुन सक्ने पनि आशंका गरे। ‘सवारी साधन आयात कम हुँदा त्यसबाट प्राप्त हुने राजस्व जम्मा ५ प्रतिशतले मात्रै बढेको छ,’ उनले भने।

वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी विकास कुमारले पनि अहिलेसम्म आयातको दबाब नदेखिएको बताए। उनले बजेट आउनु एक दुई दिन अघि त्यस्तो दबाब बढेपनि अहिलेसम्म साविक अवस्थाकै आयात कायम रहेको जानकारी दिए।

यता भैरहवा नाकाबाट भने अन्तशुल्क र भन्सार महसुल वृद्धिको आशंकामा केही वस्तुको आयात बढेको छ। चैतको तुलनामा वैशाखमा त्यस्ता वस्तुको आयात १५ प्रतिशत हाराहारीमा बढेको भन्सारका अधिकृत कलिराम पौडेलले अन्तशुल्क बढ्ने आशंकमा सवारी साधन, मदिरा बनाउन प्रयोग हुने स्प्रिट र खैनी तथा खैनीजन्य वस्तुको आयात बढेको बताए।

‘धेरै वृद्धि भएको त छैन, अहिले पनि हामी राजस्वको लक्ष्य भन्दा पछाडि नै छौँ,’ पौडेलले भने, ‘चैतको तुलनामा वैशाखमा केही आयात बढेको छ, बजेटबाट अन्तशुल्क बढ्ने आशंकमा ती वस्तुको आयात बढेको हुन सक्छ।‘

सदा झैँ यो वर्ष पनि सवारी साधन तथा सुर्ती र रक्सीजन्य वस्तुमा अन्तशुल्क बढ्ने अनुमान व्यवसायीको छ। केही वस्तुमा नेपालले भन्सारमा अधिकतम दर लगाएको भन्दै विश्व व्यापार संगठनलगायतबाट आलोचना हुन थालेपछि सरकारले अन्तशुल्कबाट त्यसको व्यवस्थापन गर्दै आएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट पनि सवारी साधन, मदिरा र चुरोट तथा सुर्तीजन्य वस्तुमा लाग्दै आएको अन्तशुल्क बढाएको थियो।