भारतीय पर्यटकका लागि ‘दिल्ली टु रारा एडभेन्चर टुर’, ५० हजार भारुमा सात दिनको प्याकेज

बिजमाण्डू
२०७६ जेठ ७ गते ११:३२ | May 21, 2019
भारतीय पर्यटकका लागि ‘दिल्ली टु रारा एडभेन्चर टुर’, ५० हजार भारुमा सात दिनको प्याकेज

Tata
GBIME
Nepal Life

काठमाडौं।  साहसिक यात्रा मन पराउने मध्यमवर्गीय भारतीय पर्यटकलाई लक्षित गरेर 'दिल्ली टु रारा एडभेन्चर टुर' प्याकेज शुरु गरिएको छ।

मुक्तिनाथ दर्शन र घुमघामको लागि आउने मौसमी पर्यटकमा निर्भर नेपालगंजको होटल व्यवसायलाई विविधीकरण गर्ने उद्देश्यले दिल्लीदेखि रारासम्मको सात दिने भ्रमण कार्यक्रम शुरु गरिएको हो।

यो प्याकेज अन्तर्गत भारतीय पर्यटकलाई एक हजार किलोमिटर लामो सडक यात्राको क्रममा एक रात नेपालगंज, एक रात कालिकोट र दुई रात तीन दिनको रारा बसाईको सुविधा उपलब्ध गराइएको छ। रारा भ्रमणपछि पुनः एक-एक रात कालिकोट र नेपालगन्ज हुँदै भारतीय पर्यटक सडक मार्गबाटै स्वदेश फर्किन्छन्। आगमनदेखि फिर्तीसम्म भारतीय पर्यटकले कूल २ हजार किलोमिटर लामो सडक यात्राको अनुभव लिन पाउनेछन्।

'पहिलो भारतीय टोलीलाई (शनिबार) राराको लागि बिदाई गरेका छौं, कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देव अर्यालले बिजमाण्डूसँग भने, 'यो टोलीको भ्रमणबाट प्राप्त हुने अनुभव हाम्रो लागl मार्ग दर्शक हुनेछ।'

टोलीमा पूर्व सैनिक अधिकारी, कर्पोरेट संस्थाका अधिकारी र अवकाश प्राप्त कर्मचारी दम्पत्तिको सहभागिता रहेको छ।

सातवटा गाडीमा कुल १७ जनाको टोली दिल्लीबाट आएको हो। उनीहरुको सुविधाको लागि नेपालगन्जदेखि थप दुईवटा गाडीमा अटोमोबाइल मेकानिक र पथ प्रदर्शक सहितको टोलीसमेत पठाइएको प्रबन्ध निर्देशक अर्यालले जानकारी दिए।

यो भ्रमणको तारतम्य भारतको वल्ड अफ ओभरल्यान्ड एड्भेन्चर ट्राभल ऐजेन्सी र नेपालमा होटल सेन्ट्रल प्लाजाले मिलाएको हो। आफ्नै गाडी हुनेलाई  एकजनाको लागि ५० हजार भारतीय रुपैयाँ लिइने छ। आफ्नो सवारी ‌‌‌‌‌‌‌‌नहुने पर्यटकको लागि समेत होटलले निश्चित शुल्क लिएर गाडी उपलब्ध गराउनेछ।

'अहिले परिक्षणको रुपमा हामीले शुरु गरेपनि यसको सफलता पछि नेपालगंजका अन्य होटलले समेत फाइदा उठाउन सक्ने छन्' उनले भने।

उनले दोस्रो भ्रमण टोली आगामी ५ जुनको लागि तय भएपनि मौसमको अनुकुलतामा निर्भर हुने बताए। सडक मार्गबाट निजी सवारीमा पर्यटकको भ्रमणबारे एकवर्ष अघिदेखि नै योजना बनाइएकोमा केही समय अघि भारतीय ट्राभल एजेन्सी सहितको टोलीले सडकको अवस्थाबारे स्थलगत अध्ययन गरेपछि भ्रमण प्याकेज शुरु गरिएको हो।