पाँच बीमा कम्पनीको हातमा ७२ प्रतिशत बजार, एक वर्षमा १० लाख बीमालेख जारी

बिजमाण्डू
२०७६ जेठ ७ गते ०८:५१ | May 21, 2019
पाँच बीमा कम्पनीको हातमा ७२ प्रतिशत बजार, एक वर्षमा १० लाख बीमालेख जारी


Tata
GBIME
Nepal Life

काठमाडौं। जीवन बीमाको बजारमा ५ वटा बीमा कम्पनीले ७२ प्रतिशत बजार हिस्सा ओगटेका छन्। हाल १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन्। 

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा १९ वटा जीवन बीमा कम्पनीले ५० अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। 

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै ३० प्रतिशत बजार हिस्सा रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्ममा १५ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।  

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १७ प्रतिशत रहेको छ। नयाँ आएका केहि जीवन बीमा कम्पनीले पुराना जीवन बीमा कम्पनीलाई नै उछिनेका छन्। पुराना जीवन बीमा कम्पनी गुराँस लाइफलाई नयाँ आएको जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनीले उछिनेको हो। गुराँस लाइफको बजार हिस्सा दुई प्रतिशत छ भने युनियनको तीन प्रतिशत रहेको छ। 

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये म्यादी जीवन बीमालेख जारी गर्नेको बीमा शुल्क आर्जन धेरै छ साथै जारी भएको बीमा लेख संख्या पनि धेरै छ। युनियनले हालसम्म ५६ हजार ३४७ वटा बीमालेख जारी गरेर एक अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। 

एक वर्षको अवधिमा १९ वटा जीवन बीमा कम्पनीहरुले नयाँ १० लाख ५५ हजार बीमालेख जारी गरेका छन्। चैत मसान्तसम्ममा सम्पुर्ण जीवन बीमा कम्पनीहरुले ६१ लाख ६३ हजार बीमा लेख जारी गरेका छन्। गत वर्षको चैत मसान्तसम्ममा ५१ लाख ८ हजार बीमा लेख जारी गरेका छन्। 

जारी भएको जम्मा बीमालेख मध्ये पुराना जीवन बीमा कम्पनीले ५ लाख ११ हजार बीमालेख थप गरेका छन् भने नयाँ जीवन बीमा कम्पनीहरुले ५ लाख ५० हजार बीमालेख जारी गरेका छन्। बीमालेख जारी गर्नेमा पुरानाभन्दा नयाँ जीवन बीमा कम्पनी आक्रमक देखिन्छन्। तर बीमा शुल्क आर्जनका हिसावले नयाँ जीवन बीमा कम्पनीले उल्लेख्य सुधार गरेका छन्। 

यहि तथ्याङ्कका आधारमा बीमा समितिले नेपालमा जीवन बीमाको पहुँच १८ प्रतिशत पुगेको दाबी गर्दै आएको छ। पुराना जीवन बीमा कम्पनीको चुक्ता पूँजी बृद्धि भएसँगै उनीहरु बजार विस्तारमा आक्रमक देखिएका हुन्।  

नाफा 
गएको वर्ष नियामकीय पूँजी बैंकमा जम्मा गरेर नाफा आर्जन गरेका नयाँ जीवन बीमा कम्पनीहरुले बजार विस्तारका लागि खर्च गर्न थालेसँगै नाफा घटेको छ। गत चैतपछि व्यवसाय विस्तारमा आक्रमक देखिएका नयाँ जीवन बीमा कम्पनीहरुले नयाँ नयाँ शाखा विस्तार गर्ने, नयाँ कर्मचारी नियुक्ती गर्ने, प्रचारप्रसार गर्ने कार्यले गर्दा खर्च बढेको हो। 

औषतमा ९ जीवन बीमा कम्पनीको नाफा गत वर्षको भन्दा १० प्रतिशतले घटेको छ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले तीन महिना अगाडि मात्रै जीवन बीमा व्यवसायको अनुमति पाएको हुँदा यसमा कम्पनीको नाफा जोडिएको छैन। 

भइरहेको संरचनाबाट व्यवसाय बृद्धि गरेका पुराना जीवन बीमा कम्पनीहरुले भने औषतमा १८ प्रतिशतले नाफा बढाएका छन्। नौ महिनाको अवधिमा पुराना ९ जीवन बीमा कम्पनीहरुले एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेका छन्। गत वर्षको यहि अवधिमा एक अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। 

नयाँ जीवन बीमा कम्पनीहरुले नौ महिनाको अवधिमा ८८ करोड ३१ लाख रुपैयाँ नाफा गरेका छन्। गत वर्षको यहि अवधिम एक अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो। गत वर्ष जीवन बीमा कम्पनीहरुको दायित्व तुलनात्मक रुपमा कम थियो। यसले गर्दा प्रोभिजनिङ कम गर्नु पर्ने थियो। बीमा कम्पनीहरुको दीर्घकालिन दायित्व बढ्दै गर्दा प्रोभिजनिङ पनि बढ्दै जान्छ। यसले नाफामा ठूलो असर पार्छ। 

जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा एक्चुरियल मूल्याङ्कनपछि मात्रै निष्किन्छ। अहिले सार्वजनिक भएको नाफा सम्पति तथा दायित्वको मूल्याङ्कनपछि मात्रै बाँडन मिल्ने गरि तयार पारिन्छ।