काठमाडौं। सरकारका लागि नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। ११ बर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो।
चालु बर्ष सरकारले ८६ अर्ब रुपैयाँ ऋणपत्र जारी गर्देछ। यसैगरी सोमबार १३ अर्बको नयाँ ट्रेजरी बिल्स जारी गर्दैछ। साथै ३ अर्ब ८९ करोडको पुरानो ट्रेजरी बिल्सको नवीकरण गर्देछ।
यद्यपी यसअघि जारी गरिएका ऋणपत्रमा मागभन्दा कम आवेदन परेको छ। सरकारले चालु बर्ष १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो। यसमध्ये ८६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने सरकारी योजना छ। बैशाख मसान्तबाट ऋण उठाउन थालिएपनि मागभन्दा कम आबेदन परेको छ।
'सरकारले अल्पकालिन दृष्टीकोणबाट ग्रिसत भएर ऋणपत्र निष्कासन गर्ने तालिका बनाउँदा माग अनुसार पैसा उठाउन गाह्रो भएको हो' एक बैंकरले भने, 'बर्ष दिन लगाएर उठाउनु पर्ने ऋण १५ दिनभित्र उठाउँछु भन्दा सफल हुन गाह्रो भएको हो।'
सरकारले गत ३० गते ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलमार्फत १२ अर्ब रुपैयाँ उठाउन खोजेको थियो। तर बैंकिङ प्रणालीमा तरलता अभाव भएकाले ९१ दिने र १८२ दिने गरी ७ अर्ब उठाउनै सकेन। ३६४ दिनेमा ५ अर्ब रुपैयाँ उठाउन बोलकबोल गरेको थियो। यसमा जम्मा २ अर्ब ८ करोड रुपैयाँ मात्र बैंकहरुले कबुल गरेका छन्।
विकास ऋणपत्रको हालत पनि राम्रो छैन। बैंशाख ३१ र जेठ २ गते गरी १६ अर्ब रुपैयाँ विकास ऋणपत्र जारी गरेको थियो। यसमध्ये सात बर्ष अवधिको ८ अर्ब रुपैयाँको विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले २ अर्ब एक करोडका लागि मात्र आवेदन दिए। बाँकी ऋणपत्र बिकेन। बैशाख २ गतेको नौं बर्षे अवधिको ऋणपत्र भने पुरै बिक्री भएको छ।