४० करोड लगानीमा बाँकेमा दोश्रो औषधी उद्योग, आगामी वर्षदेखि औषधी उत्पादन थाल्ने

बिजमाण्डू
२०७६ जेठ ४ गते ०९:५१ | May 18, 2019
४० करोड लगानीमा बाँकेमा दोश्रो औषधी उद्योग, आगामी वर्षदेखि औषधी उत्पादन थाल्ने


काठमाडौं। चिकित्सक सहित नौ जना लगानीकर्ताको अगुवाईमा बाँकेमा दोश्रो फर्मास्युटिकल्स उद्योग संचालनमा आउने भएको छ। 

Tata
GBIME
Nepal Life

डा. कुमार सन साहको नेतृत्वमा चिकित्सक र वितरक सहितको लगानीकर्ताले नेपालगन्ज उपमहानगर वडा नम्बर १४ भवनियापुरमा ३ बिघा क्षेत्रफल जग्गामा आइडियल फर्मास्युटिकल्स प्रालि संचालनमा ल्याउन लागेका हुन्। 

करिब ४० करोड रुपैयाँ लगानी हुने यो उद्योगको मुख्य भवन निर्माण सम्पन्न भइसकेको छ। उद्योग व्यवस्थापनका अनुसार अहिले प्रयोगशाला निर्माणको कार्य भइरहेको छ। २०७७ असोजदेखि उत्पादन बजारमा ल्याउने योजनाका साथ निर्माण कार्य भइरहेको प्रबन्ध निर्देशक डा. दिनेश चौधरीले जानकारी दिए। 

मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लाहरुलाई मुख्य बजार बनाएर औषधी वितरण गर्ने उद्योग व्यवस्थापनको योजना छ। यो क्षेत्रमा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिमसहित तीनवटा प्रदेश रहेको छ। 

सरकारले स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै लैजानुको साथै वैदेशिक रोजगारबाट प्राप्त आम्दानीको कारण उपभोक्ताको क्रयशक्ति क्रमशः सुधार हुँदै जाँदा औषधीको बजार पनि बढ्दै जाने व्यवसायीको विश्वास छ। 

नाक कान घाँटी रोग विशेषज्ञको रुपमा नेपालगन्जमा कार्यरत डा. चौधरीले गुणस्तरिय औषधीको हुटहुटीले २०७० सलामै औषधी उत्पादन शुरु गर्ने योजना बनेको बताए ।

आँफैले सिफारिस गरेका औषधीको गुणस्तरियतामा समेत पूर्ण विश्वस्त हुनसक्ने अवस्था छैन, डा. चौधरीले भने, त्यसैले चिकित्सक, औषधी वितरकसहितको सहभागितामा गुणस्तरिय औषधी उत्पादन गर्ने लक्ष्य सहित उद्योग संचालनमा ल्याउँदैछौं। 

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको र औषधी व्यवस्था विभागले लागू गरेको 'डब्लुएचओले जिएमपि' मापदण्ड अनुसार उत्पादन गरिनेछ। 

उद्योगबाट पहिलो चरणमा मल्हम, ट्याब्लेट, क्याप्सुल, झोल औषधी लगायत दुई दर्जन भन्दा बढी औषधी उत्पादन हुनेछ। दोश्रो चरणमा इन्जेक्शनको समेत उत्पादन शुरु गरिने प्रबन्ध निर्देशक डा. चौधरीले बताए। यसअघि २०६७ सालदेखि नेपालगन्जको पहिलो फर्मास्युटिकल्स उद्योग पानस फर्मास्युटिकल्सले औषधी उत्पादन शुरु गरेको थियो। 

पानस फर्मास्युटिकल्समा चिकित्सक, औषधी वितरक र स्थानीय व्यवसायीको लगानी रहेको छ। स्वदेशी बजारमा औषधीको बढ्दो बजारसँगै ठूलो लगानीमा धमाधम नयाँ उद्योग खुल्न थालेका छन्। 

औषधी उत्पादनका अनुसार अहिले बजारमा थप दुई दर्जन भन्दा बढी औषधी उद्योग संचालनमा आउने तयारीमा छन्। अहिले संचालनमा रहेका ६० वटा औषधी उद्योगमध्ये अधिकांश काठमाडौं, बुटवल-भैरहवा, चितवन र वीरगंजमा संचालनमा रहेका छन्। 

स्वदेशमै औषधी उद्योगको संख्या थपिँदै गएपनि औषधीको आयातमा अझै पनि ठूलो रकम बाहिरिएको छ। आर्थिक वर्ष २०७४/७५ मा स्वदेशी बजारमा २५ अर्ब ७१ करोड रुपैयाँ बराबरको औषधी आयात गरिएको थियो। 

औषधी उत्पादक संघका अनुसार यो अवधीमा स्वदेशी उद्योगले जम्मा १८ अर्ब २५ करोड रुपैयाँ मूल्य बराबरको औषधी बिक्री गरेका छन्।