खानी विभागले टेण्डर मागे डाङ्गोटेले दुई अर्ब रुपैयाँ हाल्ने, निजी क्षेत्रको किन्न ४ खानीको जाँच

बिजमाण्डू
२०७६ जेठ ३ गते १६:५७ | May 17, 2019
खानी विभागले टेण्डर मागे डाङ्गोटेले दुई अर्ब रुपैयाँ हाल्ने, निजी क्षेत्रको किन्न ४ खानीको जाँच


Tata
GBIME
Nepal Life

काठमाडौ। सरकारले सहयोग नगर्दा खानी नपाएको डाङ्गोटे सिमेन्टले खानीका लागि २ अर्ब रुपैयाँसम्म हाल्ने जनाएको छ। नेपालमा अहिलेसम्मकै ठूलो लगानी प्रतिवद्धता गरेको डाङ्गोटेले खानीको टेण्डर गर्न माग गरेको छ। 

लगानी बोर्ड स्थापना भएपछि सबैभन्दा पहिलो लगानीका रुपमा स्विकृत भएको डाङ्गोटेले सिमेन्ट उद्योग खोल्न ५५ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिवद्धता गरेको छ। तर सरकारले सहयोग नगर्दा उसले नेपालमा लगानी गर्न पाएको छैन।

लगानी स्विकृत गराएको बोर्डले भने ६ वर्ष भइसक्दासम्म उसलाई उद्योग स्थापनामा कुनै सहयोग नगरेको डाङ्गोटेको गुनासो छ।

सरकारी स्तरबाट सहयोग नपाउँदा कम्पनी मात्र नवीकरण गर्दै बसेको डाङ्गोटेलाई अहिले फेरी कुनै काम नगरेको भन्दै उद्योग खोल्न पुन: स्विकृती लिनुपर्ने भनिएको छ। कम्पनी पनि दर्ता नगर्दै डाङ्गोटेले नेपालमा भूकम्प पीडितको लागि १० करोड रुपैयाँ सहयोग गरेको थियो। तर सरकारले भने डाङ्गोटेको लगानी स्विकृत गरेपछि सँधै निरुत्साहित मात्रै गरिरहेको उसको आरोप छ।

डाङ्गोटेले सुरुमा आफ्नै पहलमा हेटौडामा खानी किन्न खोजेको थियो। उक्त खानीको चुनढुङ्गाको गुणस्तर परिक्षण गर्न उसले नाइजेरियामा रहेको आफ्नै प्रयोगशालामा पठाएको थियो। बाहिरी गुणस्तर राम्रै देखिएपनि पछि ड्रिलिङ गर्दा भित्र भने राम्रो चुनढुङ्गा भेटिएन। त्यसैले उसले उक्त खानी लिएन।

त्यसपछि सरकारले आह्वान गरेको विश्वव्यापी टेण्डरमा भाग लिएको डाङ्गोटेलाई प्राविधिक कुरा नै नपुगेको भनेर पहिलो चरणबाटै निकालिएको थियो।

हरेक वर्ष खानी तथा खनिजको लागि टेण्डर गर्ने खानी विभागले पछिल्लो दुई आर्थिक वर्षदेखि डाङ्गोटेलाई उपयुक्त हुने खानीको टेण्डर नै गरेको छैन। 

'यो वर्ष उसले गरेको टेण्डर सानो सानो खानीको लागि मात्र हो। हामीलाई उपयुक्त हुने खानी त्यसमा छैनन्' डाङ्गोटे सिमेन्टका नेपाल प्रतिनिधि रुप रावलले बिजमाण्डूसँग भने, 'खानी विभागसँग अन्य दर्जनौ ठूला खानी भएकोले अलि उपयुक्त खानीको टेण्डर खोलिदिन आग्रह गरेका छौं। हामी आफ्नो ठाउँबाट पनि लागिरहेका छौ।'

खानी विभागले खोलेको टेन्डरमा आफूलाई उपयुक्त हुने खालको भेटिए दुई अर्ब रुपैयाँसम्म हाल्न पनि डाङ्गोटे तयार रहेको रावलले बताए।

रिलायन्स सिमेन्टले पनि ४० अर्ब रुपैयाँ लगानी स्विकृती गरेर नेपालबाट फर्किएको थियो। उसले पनि सरकारी सहयोग नपाएपछि निरासा बोकेर फर्किनु परेको थियो। कम्पनी पनि दर्ता नगरेकोले रिलायन्सलाई फिर्ता हुन सहज थियो। तर डाङ्गोटेले भने उद्योग खोल्न आवश्यक सबै काम पुरा गरेको र खानी मात्र नपाएकोले हरेक वर्ष कम्पनी नवीकरण गरेर बसिरहेको छ।

सरकारले मन्त्री परिषदबाट निर्णय गराएर कुनै एउटा खानी छुट्ट्याएर आवश्यक मूल्य तोकेर दिनु पर्ने डाङ्गोटेको माग छ। 'त्यसो पनि गर्न नसके खानी विभागसँग सहकार्य गरेर हामीलाई सुहाँउदो खानीको टेण्डर गरोस भन्ने हाम्रो चाहना हो,' उनले भने। 

कम्पनीले धादिङ, पाल्पा, अर्घाखाँची लगायतका ठाउँमा रहेका निजी खानीलाई किन्ने उदेश्यले ४ वटा खानीको गुणस्तर परिक्षणका लागि नाइजेरिया पठाएको छ। १/२ महिनाभित्रै त्यसको रिपोर्ट आउने र राम्रो रिपोर्ट आएमा तुरुन्तै उद्योग स्थापनाको काममा लाग्ने रावलले बताए।

दुई बर्षअघि खानीको बोलकबोल हुँदा नेपाली व्यावसायीले १० लाख रुपैयाँदेखि दुई करोड रुपैयाँसम्म मूल्य कबोल गरेरका थिए। चिनियाँ कम्पनी हुवासिनले भने ६० करोड रुपैयाँ कबोल गरेको थियो। त्यतीबेला खानीको उक्त मूल्य थाहा पाएपछि नेपाली व्यावसायीको होश उडेको थियो।

त्यतिबेला प्राविधिक मूल्याङ्कनमै असफल बनाइएको डाङ्गोटे सिमेन्ट भने अहिले राम्रो खानीको टेण्डर भए दुई अर्ब रुपैयाँको प्रस्ताव हाल्न तयार भएको बताउँछ।