हिमालयनसँगको २६ बर्षे सहयात्रा छाडेर पाकिस्तानको हबिब बैंक बाहिरिँदै, बेलायतको बैंक साझेदार

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ जेठ ३ गते ०८:५५ | May 17, 2019
हिमालयनसँगको २६ बर्षे सहयात्रा छाडेर पाकिस्तानको हबिब बैंक बाहिरिँदै, बेलायतको बैंक साझेदार


Tata
GBIME
Nepal Life

काठमाडौं। हिमालयन बैंकमा २६ बर्षदेखि साझेदारी गरिरहेको पाकिस्तानको हबिब बैंक बाहिरिने भएको छ। हिमालयनमा हबिबको २० प्रतिशत संस्थापक शेयर लगानी छ।

हबिब बाहिरिएपछि त्यही शेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सिडिसी)ले लिनेछ। 

हबिबले छाडेर सिडिसी आउने भएपछि दुवैका प्रतिनिधिले अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपाललाई केही दिनअघि मात्र भेटिसकेका छन्। हबिब र सिडिसीका दुई/दुई जना प्रतिनिधिसहित हिमालयन बैंकका उच्च अधिकारीहरुले अर्थमन्त्री खतिवडा र गभर्नर नेपाललाई भेटेका हुन्।

सरकारी पूर्ण लगानीको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिट) को निजी क्षेत्रमा लगानी गर्ने संस्था सिडिसी हो। यसले दक्षिण एसिया र अफ्रिकी मूलुकहरुमा आफ्नो लगानी बढाउँदै लगेको छ।

हबिबले आफ्नो लगानी भएको अन्य बैंकहरुबाट हात झिक्न थालेको छ। उसले पाकिस्तानमै आफूलाई बलियो बनाउने भन्दै रणनीतिक 'मुभ' लिन थालेको छ। त्यसलै उसले ६ वटा देशमा भएको लगानीबाट हात झिकिसकेको छ। यही क्रममा नेपालबाट पनि लगानी झिक्न लागेको हो।

हबिबले नै हिमालयनमा सिडिसी खोजिदिएको हो। हबिबमा सिडिसीको ५ प्रतिशत लगानी छ। लामो समयदेखि हबिबले सिडिसीसँग सहकार्य गरिरहेकाले आफ्नो ठाउँमा उसलाई राख्ने व्यवस्था मिलाइदिएको हो।

'संयुक्त लगानीको बैंक हुँदा जेजति फाइदा हुनु पर्ने थियो त्यो हुन सकेन' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'न प्रविधिमा, नत अन्तर्राष्ट्रिय एक्सपोजरमा नै। त्यही भएर हिमालयनले हबिबसँगको सहकार्य छाडेर बेलायतको संस्थासँग मिल्न खोजेको देखिन्छ।'

हिमालयन बैंकका अधिकारीहरुले यस बारेमा केही पनि बताएका छैनन्। हबिबले मागेको मूल्य तिरेर सिडिसी हिमालयन बैंकमा छिर्ने छ। अहिले हिमालयन बैंकको प्रति शेयर कारोबार ६२१ रुपैयाँमा भइरहेको छ। 

यही मूल्य वा सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) बाट कायम हुने मूल्यका आधारमा हबिबले आफ्नो शेयर बिक्री गर्ने बारे पनि स्पष्ट छैन। यद्यपी हबिबले नै सिडिसी खोजिदिएकाले मूल्य आपसी समझदारीमा निर्धारण हुने संभावना उच्च छ।

हबिबले मागेको मूल्य सिडिसीले नेपालमा जम्मा गराउने छ। त्यसपछि अंकित मूल्य १०० रुपैयाँमा जति प्रिमियम हबिबले मागेको छ, त्यसको पूँजीगत लाभकर तिरेपछि उसले पैसा पाकिस्तान लैजाने छ।

हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ। कोषको १४ प्रतिशत लगानी छ। यसपछि एन ट्रेडिङ कम्पनी प्रालिको १२.७१. म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत, छाया इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत शेयर छ। बाँकी लगानीकर्ताको शेयर १ प्रतिशतभन्दा तल छ।

स्रोतहरुका अनुसार, आफ्नो शेयर बिक्री गर्ने भन्दै हबिबले अर्को साता हिमालयन बैंकको सञ्चालक समितिलाई पत्र लेख्नेछ। सञ्चालक समितिले बाहिरको सिडिसी ल्याउनलाई स्वीकृति दिएपछि नामसारीका लागि नेपाल राष्ट्र बैंक जाने छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि सिडिसीको औपचारिक प्रवेश नेपालमा हुनेछ।

सिडिसीले हिमालयन बैंकलाई २ करोड डलर ऋण उपलब्ध गराउने सहमति गरिसकेको छ। सिडिसीसँग यसअघि एनएमबीले डेढ करोड डलर ऋण उपलब्ध गराएको थियो। सिडिसी शेयरधनीकै रुपमा हिमालयन बैंकमा भित्रिएपछि अझ धेरै पैसा भित्र्याउन सहज हुने राष्ट्र बैंकका अधिकारीहरुले बताए। 

बेलायती सरकारको लगानी भएको संस्था भएकाले हिमालयनलाई अन्तर्राष्ट्रिय बैंकिङका लागि पनि बाटो खुला हुनेछ। प्रतितपत्र खोल्नेदेखि बैंक ग्यारेन्टीसम्मका फाइदा हिमालयन बैंकलाई हुनेछ। सिडिसीको संस्थागत सुशासन एकदमै राम्रो रहेको र नो योर कस्टमर (केवाइसी) अनुपालन पनि बलियो भएकाले त्यसको लाभ पनि हिमालयन बैंकलाई हुनेछ। 

सिडिसीको लगानीसँगै सञ्चालक समितिमा पनि उताबाट एक जना आउने छन् भने उच्च ब्यवस्थापनमा पनि एक जना आउने छन्। आवश्यकता अनुसार उच्च ब्यवस्थापनमा अन्य केही कर्मचारी पनि थपिन सक्ने छन्।

नेपालस्थित बेलायती दूतावासले पनि सिडिसीलाई ल्याउन पहल गरेको थियो। नेपाल र बेलायतको २०० बर्ष पुरानो सम्बन्ध भएपछि प्रत्यक्ष लगानीको संस्थाहरु भने आएका थिएनन्। त्यही भएर सिडिसीलाई ल्याउन उसले पहल गरेको हो।

हबिबका अधिकारीले सार्कको महत्व कम हुँदै गएको र नेपाल-पाकिस्तान पनि ठूलो ब्यापार नभएको अर्थमन्त्रीलाई जानकारी गराएका थिए। नेपालमा पाकिस्तानी नागरिकको उपस्थिति पनि धेरै नभएको जिकिर हबिब पक्षले गरेका थिए। अर्थमन्त्री खतिवडाले हबिबसँग मिलेर अझै काम गर्ने इच्छा रहेको भन्दै कुनै न कुनै रुपमा नेपालमा रहन आग्रहसमेत गरेका थिए। सिडिसीको ५ प्रतिशत लगानी रहेकाले हबिबसँग कुनै न कुनै खालको सम्बन्ध रहिरहने अर्थमन्त्रीले बताएका थिए।

सिडिसी र हबिबका अधिकारीले गत साता अर्थमन्त्री र गभर्नरलाई भेट्नुअघि बेलायतमा पनि भेटघाट भएको थियो। अर्थमन्त्री खतिवडा लगानी सम्मेलनको मुखमा बेलायत जाँदा सिडिसीको हेडक्वाटर पुगेका थिए। गभर्नर नेपाल पनि केही महिनाअघि बेलायतमा सिडिसीका अधिकारीहरुसँग भेट गरेका थिए।