इटहरीमा ४० करोड लगानीमा वाटर पार्क बन्दै, नेपालमै पहिलो इन्डोर आइसपार्क निर्माण हुने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ जेठ १ गते १७:०१ | May 15, 2019
इटहरीमा ४० करोड लगानीमा वाटर पार्क बन्दै, नेपालमै पहिलो इन्डोर आइसपार्क निर्माण हुने

Tata
GBIME
Nepal Life

विराटनगर। सुनसरीको इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ।

दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इहहरी उपमहानगरपालिका क्षेत्रको सिमसार क्षेत्र तालतलैयामा पौडेलको समूहले अत्याधुनिक पार्क बनाउने भएको हो। सञ्चालक विनोद पौडेलका अनुसार पार्कको नाम ‘वेट एन्ड डाइनो एम्युजमेन्ट एन्ड वाटर पार्क’ राखिएको छ। ढिलोमा आगामी दशैँभित्र संचालनमा ल्याउने लक्ष्य राखिएको छ। दैनिक कम्तीमा ५ सयले पार्कको अवलोकन गर्ने अनुमान उनले गरे।

सञ्चालक पौडेलले जमिनको मूल्यसहित पार्कको लगानी ४० करोड पुग्ने जानकारी दिए । पहिलो चरणमा पार्कमा ६० जनाले रोजगारी पाउनेछन् ।‘यसभित्र नेपालमै पहिलो इन्डोर आइसपार्कको निर्माण गरिनेछ’, उनले भने, ‘स्विमिङ पुल र डाइनोसरका मूर्तिहरु राखिनेछ। काठमाडौंबाहिरको यो सबैभन्दा ठूलो र आधुनिक प्रकृतिको पार्क हुनेछ।’

इटहरीमा हाल गोकुलम् पार्क, गोकर्ण पार्क र ओसियन पार्क गरी तीन वटा पार्क सञ्चालनमा छन्।उनका अनुसार पार्कभित्र एकै ठाउँमा केन्द्रीकृत रेस्टुरेन्ट हुनेछैन। खाने र पिउने सामग्रीका स्टलहरू ठाउँठाउँमा राखिनेछन् । यसले गर्दा पार्क घुम्दै र खानपिनको मज्जा लिँदै मानिसले पार्कको अवलोकन गर्नेछन्।

‘यो पिकनिक स्थल होइन तर हामी १० हजारसम्मलाई खानेपिउने सुविधा दिन सक्छौँ । पिकनिक मनाउन आउनेहरूले यहीँभित्र खाने र पिउने सामग्री खरिद गर्न सक्नेछन्।’ पौडेलले भने।दोस्रो चरणमा सुविधासम्पन्न कटेजको निर्माण गरेर अतिथिलाई आवासको सुविधा दिइने उनले जानकारी दिए।

भारतबाट वराह क्षेत्र र दन्तकाली–पिण्डेश्वरमा दर्शन गर्न आउनेको सङ्ख्या उल्लेखनीय हुने चर्चा गर्दै पौडेलले धार्मिक पर्यटनमा आउने वाह्य पर्यटकलाई पार्कतर्फ लैजाने आफ्नो उद्देश्य रहेको स्पष्ट पारे।‘सरकारले पनि ढिलो नगरी ६ लेनको बाटो बनाउनु पर्छ र अन्य सहायक बाटाघाटाको निर्माण र सरसफाइमा जोड दिनु पर्छ’, उनको कथन थियो, ‘प्रदेश नम्बर १ को सरकारले पर्यटन प्रबद्र्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ। हामीले त्यही प्राथमिकतालाई सघाउ पुर्याउने हौँ । सरकारले पनि हामीलाई सक्दो सहयोग गर्नुपर्छ।’