सिडिएससीका सिइओ गुप्ता जसले शेयर भर्न सडकको लाम हटाए, घाटाको संस्थालाई यसरी ब्यूँझाए




काठमाडौं। एक समय यस्तो पनि थियो लगानीकर्ता आइपिओ भर्न दिनभर लाइन बस्थे अनि बेलुकी भर्न नपाई फिर्ता जान्थे। दिनभर लाइन बसेर आवेदन दिँदा पनि शेयर पाइने निश्चित हुन्नथ्यो। अहिले दिनदिनै आइपिओ निष्कासन हुँदा पनि कहिँ कतै शेयर हाल्नेको लाइन देखिँदैन। आज कुनै पनि कम्पनीले आइपिओ निष्कासन गर्दा मोबाइलबाट आवेदन दिन पाइन्छ। प्राथमिक शेयरमा आवदेन दिएको १० दिनभित्रमा दोस्रो बजारमा कारोबार गर्न पाइन्छ।

यो सबैका पछाडि छन्  सिडिएस एण्ड क्लिएरिङ लिमिटेड (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता।

कम्प्युटरमा इन्जिनियरिङ, शेयरमा पिएचडी

सिरहाको महेशपुरमा जन्मिएका गुप्ताले भारतबाटै प्राथमिक शिक्षादेखि कम्प्युटर इन्जिनियरिङ सम्मको पढाइ सके। इन्जिनियरिङ सकेर दुई वर्ष भारतमै काम गरे। भारतमा आफुसँगै इन्जियरिङ सकेका धेरै साथीहरु यूरोप अमेरिकातिर लाग्दा उनलाई बिदेश मोह पलाएन। नेपालमै फर्किएर काम गरौं जस्तो लाग्यो। प्रविधिको हिसावले पछाडि परेको देशमा काम गर्न पाए केही परिवर्तन ल्याउन सक्नेमा उनी आशावादी थिए।

TATa
Swostik Collage

उनलाई एउटा वाक्यले सँधै झक्झक्याइरहन्थ्यो,“डु समथिङ मिनिङफुल द्याट मेक द डिफ्रेन्ट लाइफ अफ द कमन पिपुल”।

पढाइ सकेर नेपाल फर्किँदा उनलाई राम्रोसँग नेपाली बोल्न समेत आउँदैनथ्यो। झन् नेपाली लेख्न त जानेकै थिएनन् रे। बिस्तारै सबै सहज हुँदै गयो। सुरुमा आफैँले आइटी सम्बन्धी कम्पनी खोलेर काम गरेका गुप्ताले स्विस अर्गनाइजेसन हेल्भेटासमा झण्डै १२ वर्ष काम गरे। १२ वर्ष जागिर खाँदा उनले नेपालको एउटा जिल्ला बाहेक सम्पूर्ण जिल्लाहरु घुम्न भ्याए। नेपालको भुगोलदेखि विकाससम्म नजिकबाट नियाले। यसबाटै उनलाई देशमा बसेर परिवर्तनको काम गर्न अझ प्रेरित गर्यो।

गुप्तालाई फाइनान्स र शेयर बजारमा विशेष रुची थियो। कम्प्युटर इन्जिनियरिङ गरेका गुप्तालाई यही रुचीले व्यवस्थापन पढ्न आकर्षित गर्यो। हेल्भेटासमा काम गर्दै गर्दा काठमाडौं विश्वविद्यालयबाट शेयर बजारलाई नै फोकस गर्दै एमबिए र एमफिल सकाए। पढाइलाई नै निरन्तरता दिँदै उनले शेयर बजारकै विषयमा पिएचडी गरिरहेका छन्। 

पढाइका क्रममा उनलाई के लाग्यो भने नेपालको शेयर बजारलाई हेलाको क्षेत्र बनाइएको रहेछ। त्यसैले उनले पूँजी बजारमा अन्तर्राष्ट्रिय स्तरको अभ्यास जरुरी देखे। आफुसँग भएको प्राविधिक र सैद्धान्तिक ज्ञान प्रयोग गरेर शेयर बजारको विकास गर्न सक्छु भन्ने विश्वासका साथ उनी उपयुक्त मौकाको पर्खाइमा थिए।

त्यसपछि बजार बुझ्ने क्रमसँगै सुरु भयो आइपिओ खरिदको सिलसिला। यस क्रममा उनले शेयर बजारको व्यवहारिक समस्यालाई नजिकबाट नियाले। एमफिलको थेसिस गर्दा नेपालको शेयर बजारको सैद्धान्तिक विषयमा गरेका थिए। एमफिल र पिएचडी गर्ने क्रममा नेपालको पूँजी बजारको विषयमा विस्तृत अध्ययन गरे। कुन कुन संस्थामा कहाँ कहाँ कसरी काम गर्छ नजिकबाट हेरे। उक्त संस्थाहरु विचमा के के ग्याप रहेको छ, थाहा पाए। त्यसैले यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा उनको अध्ययन केन्द्रित रह्यो र सुधार गर्दै गर्दा लगानीकर्ताहरुलाई के फाइदा हुन्छ पत्ता लगाए।

एमफिल सकिनासाथ सिडिएसीमा प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुला भयो। यसअघि नेप्सेको महाप्रवन्धकमा आवदेन नदिएका गुप्ताले आफुलाई सिडिएसी फिट हुने सोचिरहेका थिए। आफ्नो ज्ञान जेमा छ त्यसैलाई केन्द्र बनाएर काम गर्नु पर्छ भन्ने उनमा थियो। नभन्दै सिडिएसीको प्रमुख कार्यकारी अधिकृत पदमा उनले आवेदन दिए लगत्तै छनौट पनि भए।

२०७२ को असोजमा उनले सिडिएसीको प्रमुख कार्यकारी पद सम्हाल्दा सिडिएसी लगभग मृत अवस्थामा थियो। सञ्चालनको पाँच वर्ष भए पनि जति काम गर्नु पर्ने थियो त्यति हुन सकेको थिएन। अरु त अरु उनको कार्यकक्ष समेत थिएन।

सिडिएससी छिर्ने वित्तिकै सबैभन्दा पहिले सिडिएसीले किन काम गर्न सकेन भन्ने अध्ययनबाट नै उनको काम सुरु भयो।

त्यतिवेला ११ करोड घाटा, अहिले १२ करोड नाफा

त्यतिबेला सिडिएसीले काम गर्न नसक्नुमा तीनवटा कारण रहेछन्। पहिलो कारण कर्मचारीहरु बीचमै समन्वय थिएन उनीहरु पनि अन्योलमा थिए। भर्खर नियुक्त भएका कर्मचारीहरु के काम गर्ने के नगर्ने भन्ने मार्गनिर्देशन नै पाएका थिएनन्। उनले कम्पनीको रणनीतिक कार्यदिशा तयार पार्नुपर्ने पहिलो काम देखे।

दोस्रो : उनले कर्मचारीहरुमा मोटिभेसनको कमी देखे। जागिर खानु भन्दा अगाडि केहि नयाँ काम गरौ भनेरै आएको हुनु पर्छ। तर काम गर्ने कुनै उत्प्रेरणा सिर्जना हुन सकिरहेको थिएन।  

तेस्रो: काममा कसैको पनि फोकस थिएन। सिडिएसीको काम केवल डिपोजिटरी मात्रै हो भन्ने थियो। अरु पनि काम गर्न सकिन्छ भन्ने थिएन।

गुप्ता सिडिएसी प्रवेश गर्दा सिडिएससी ११ करोड ६७ लाख रुपैयाँले नोक्सानमा थियो। उनी आउँदा डिम्याटलाई अनिवार्य गरिएको थिएन। उनले भर्खरै अध्यक्ष भएका बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की समक्ष १८ बुँदे माग राखे।

उनको पहिलो माग थियो डिम्याट अनिवार्य हुनुपर्यो। उनको मागलाई संबोधन गर्दै नेपाल धितोपत्र बोर्डले २०७२ माघ दुई गतेदेखि डिम्याट अनिवार्य गर्यो।

माघ दुई गतेदेखि डिम्याटलाई अनिवार्य त भनियो तर ३० वटा कम्पनी मात्रै सिडिएसीमा आवद्ध थिए। १७० वटा भन्दा धेरै कम्पनीलाई डिम्याटको दायरामा ल्याउनु पर्ने थियो। रातारात बाँकी कम्पनीलाई डिम्याटको दायरमा ल्याइयो। डिम्याट अनिवार्य गर्ने मिति आउन १० दिन बाँकी थियो। तर अधिकांश कम्पनीको डिम्याट गर्नै बाँकी थियो।

त्यतिबेला रातको साढे १० वजे पनि कम्पनीहरुसँग सम्झौता गरेको उनी सम्झन्छन्।

डिम्याट अनिवार्यको मिति आइसक्यो तर चिलिमे हाइड्रोपावरको शेयर डिम्याट हुने अवस्था थिएन। डिम्याट अनिवार्य हुने अघिल्लो दिन गुप्ता सहितको टोली चिलिमेको कार्यालयमै गएर डिम्याट गराएका थिए।

यस अगाडि तीन पटक उद्घाटन भैसकेको भन्दै उनको काम प्रति प्रश्न गरियो। उनलाई यतिसम्म हतोत्साहित गर्ने प्रयास गरियो कि ‘तपाइको अनिवार्य डिम्याट अभियान सफल नै हुँदैन। तपाइले गर्नु भएको काम सफल नभए पछि नैतिक रुपमा नै तपाईले राजीनामा दिनु पर्छ’। भन्नेहरुको पटक पटक उनले सामना गरे।

उनले सबैलाई एउटै उत्तर दिए -'राजीनामा दिनु परे दिउँला तर म यो चुनौती सामना गरेरै छाड्छु।'

जसले जतिसुकै हतोत्साहित गर्न खोजे पनि उनी डिम्याटलाई अनिवार्य गर्ने समयको थप गर्ने पक्षमा थिएनन्। उनलाई पछाडिबाट नेप्से र बोर्डले सधै साथ दियो। डिम्याटलाई अनिवार्य गर्ने अभियान सफल भए पछि आम लगानीकर्ताको सिडिएससी प्रति विस्वास बढ्दै गयो। अब चाहीँ सिडिएसीले काम थाल्यो है भन्ने सन्देश गयो।

सिडिएसको पुर्ण कार्यान्वयन नभैकन शेयर बजारको विकास हुँदैन भन्ने उनलाइ राम्रोसँग थाहा थियो। उनले बोर्ड र नेप्सेलाई प्रविधी मार्फत कारोबारमा सहजता प्रदान गरौं जसले गर्दा लगानीकर्ताको सहभागिता पनि बढ्छ र कारोबार रकम पनि बढ्ने भन्दै कन्भिन्स गराए।

सिडिएसीले पुर्ण काम थालेसँगै नेपालको पूँजी बजारमै एक अर्ब माथिको कारोबार गर्न सफल भयो। यदि डिम्याट नभएको भएर अहिले पनि एक अर्बको कारोबार हुन सम्भव थिएन। 

कारोबार रकम पनि बढ्यो साथै सेटलमेन्टको लागि महिनौ कुर्नुपर्ने दिन पनि सकियो। त्यतिबेलाको सेटलमेन्ट कस्तो थियो भने पेमेन्ट भर्सेस डेलिभरि थियो। एक अर्ब रुपैयाँको कारोबार भयो भने सिडिएसीले दुई अर्ब रुपैयाँको सेटलमेन्ट गर्नु पर्ने हुन्थ्यो।

एक अर्ब रुपैयाँ किनेकोसँग लिनु पर्यो र एक अर्ब रुपैयाँ बेच्नेलाई दिनु पर्यो। यसमा ठूलो समस्या आयो। कसले कतिमा किन्यो कति पूँजीगत लाभकर तिर्नु पर्यो देखि लिएर सबैको हिसावकिताब गर्नु पर्यो। यसका लागि सिडिएसीले आवश्यक प्रणाली विकास गर्न गुप्तालाई महाभारत जस्तै लाग्यो। तर पनि उनले प्रणाली विकास गर्न सफल भए।

अर्को सबैभन्दा ठूलो समस्या कागजी शेयर प्रमाणपत्रको थियो। कागजबाट शेयर खरिद बिक्री गर्न नमिल्ने बनाइयो। सबै कागजी प्रमाणपत्रलाई डिम्याट गर्नुपर्ने भयो।

यसैसँगै डिपि होल्डरकोमा प्रमाणपत्रको चाङ लाग्न थाल्यो। चाङ धेरै देखिएको स्थानमा सिडिएसीले आफ्नै कर्मचारी पठाएर सहजीकरण गर्यो। एक महिनासम्म लगातार काम गरे पछि धेरैको शेयर डिम्याट भयो। प्रमाणपत्र बोकेर हिड्ने दिन सकियो।

डिपोजिटरीको काम पूर्णमा रुपमा सकियो। सेटलमेन्ट गर्दा धेरै ठूलो समस्या देखा पर्यो। कुनै ब्रोकरले १० करोड रुपैयाँको शेयर बिक्री गरेको छ। उसको बायर चाहीँ ५ करोड रुपैयाँको मात्रै छ भने उसले २० करोड रुपैयाँ बुझाउनु पर्यो। यसको समाधानको लागि नेट सेटलमेन्टको सिस्टम विकास गर्यौ।

नेट सेटलमेन्टमा फण्डको मात्रै काम गरिन्छ शेयरको काम गरिदैन। लगानीकर्ताले जति बचेको छ त्यसमा किनेको रकम घटाएर बाँकी रहेको रकमको मात्रै व्यवस्थापन गरियो। यसले गर्दा कारोबार रकमको भोलुम बढ्न थाल्यो। एक वर्ष अगाडि दैनिक १०/११ करोड रुपैयाँको कारोबार हुँदै आएकोमा १० गुणा बढी कारोबार हुन थाल्यो।

दोस्रो बजार त लगभग समस्या समाधान भयो। तर  प्राथमिक शेयर खरिदका लागि हजारौ लगानीकर्ताको लाम देखेका गुप्ताले यसको समाधानको उपाय सोचे।

कर्मचारीहरुले अफिसनै छाडेर आइपिओमा आवदेन दिन दिनभरि लाइन बस्नु पर्ने अवस्थाले प्राथमिक बजारबाटै बञ्चित हुनु परेको गुप्तालाई चित्त बुझेको थिएन।

बोर्डले आस्वाको मोडालिटी ल्याएको थियो। पहिला जहाँ जहाँ बिक्री प्रबन्धकको कलेक्सन सेन्टर हुन्थ्यो त्यहीँ मात्रै फर्म बुझाउने चलन थियो। आस्वाले केही सहजीकरण गरेको भएपनि यसले पूर्ण समाधान गर्न सकेको थिएन।

आइपिओ हाल्न डिम्याट अनिवार्य गरिसकेको अवस्थामा गुप्ताले मेरो शेयरको एप्लिकेसन विकास गरे। जसले गर्दा घरबाटै आइपिओ आवेदन दिन मिल्यो।

क्लियरिङ बैंकसँग कुरा गरेर गुप्ता आफैले बैंक इन्ट्रिगेसन गरिसकेका थिए। २०७४ फागुन ११ गते सिडिएसीले मेरो शेयर पनि लन्च गर्यो।

आस्वा प्रणाली कार्यान्वयन हुनु भन्दा अगाडि अधिकतम ६० हजारले आवेदन दिएको उदाहरण थियो। तर सिआस्वा प्रणाली कार्यान्वयन सँगै तीन लाख आवेदन सामान्य हुन थाल्यो।

आस्वा प्रणाली विकास हुनुभन्दा अगाडि एउटा कम्पनीले प्राथमिक शेयर निष्काशन गरेर बाँडफाँड सँगै दोस्रो बजारमा सूचिकृत हुन ७/८ महिनासम्म लाग्थ्यो। सिआस्वा प्रणाली अनिवार्य भएसँगै सिडिएसीले आरम्भ माइक्रोफाइनान्सको आइपिओ ३३ घण्टा भित्रमा डिम्याट खातामा पठाउन सफल भयो। सात दिन भित्रमा दोस्रो बजारमै कारोबार गराउन सक्ने भयो। 

प्रविधिको प्रयोगले कतिसम्म प्रभाव पार्न सक्छ भन्ने प्रमाणित भयो। आइपिओ हाल्दा ७/८ महिनासम्म पैसा फस्दै आएकोमा ७/८ दिन मात्रै रोकिने अवस्थाको सिर्जना भयो। यसले गर्दा लगानीकर्ताले पनि छिट्टै प्रतिफल पाउन थाले। 

डिम्याट अनिवार्य गर्दा गुप्ताले धेरै नै धम्की खेप्नु पर्यो। कतिपयले काम नगर्न दवाव नै दिए। प्रि ट्रेडिङको काम तपाईहरुको हुँदै होइन भन्दै धेरैले डिमोटिभेट गरे। तर उनी पछि सरेनन्।

सरकारी अफिस भएको हुँदा कानुनी प्रक्रिया पूरा गर्दा काम गर्न ढिलाइ हुने संकेत देखिएसँगै गुप्ताले मेरो शेयरको सफ्टवेयर निर्माणको लागि आफैँले कोडिङ सुरु गरे। सफ्टवेयर निर्माणसँगै डिम्याट भेरिफिकेसनदेखि बैंक इन्ट्रिगेसनका लागि दुईदेखि तीन महिनामा काम सके।

यस अवधिमा डिम्याट अकाउन्ट र बैंक अकाउन्ट कसरी लिङ्क गर्नेमा ठूलो समस्या देखियो। यसकालागि उनले अमेरिकामा कम्प्युटर इन्जिनिरिङ पढिरहेका छोरासँग पनि मद्दत मागेछन्। बैंकको सिस्टम र डिम्याटको सिस्टम चिन्ने गरी कोड बनाउनु पर्ने थियो।

बैंक र डिम्याट इन्ट्रिगेसका लागि सि आस्वा प्रणाली सँगै सिआरएन (सिआस्वा रिजिस्ट्रेसन नम्बर) नम्बर क्रियट गर्यौ। सिआरएन नम्बर बैंकको सिस्टममा पनि हुन्छ र सिडिएसीको सिस्टममा पनि हुन्छ। बैंक र डिम्याट बीच पुलको काम सिआरएन नम्बरले गर्ने बनाइयो। यस अवधिमा बैंक तथा मर्चेन्ट बैंकले उनलाई मद्दत गरे जसले गर्दा सफ्टवेयर व्यवहारिक बन्यो।

डिम्याट र बैंक खाता अनिवार्य गरिएसँगै सम्बन्धित व्यक्तिको उपस्थितिमा शेयर कारोबार हुन नसक्ने भयो। यसले गर्दा झोले र बोरे लगानीकर्ता एकै पटक हटे। तीनै झोले र बोरे लगानीकर्ताले खरिद गरेको शेयर अहिले पनि डिम्याट हुन सकेको छैन। यसले गर्दा उनीहरुको समूह नै सिडिएसीमा आएर धम्की दिन थाले। धम्की आउन थालेपछि सिडिएसीले प्रहरी नै राखेर काम गर्यो।

यतिधेरै विकास गर्दा पनि अझै धेरै शेयर डिम्याट हुन सकेको छैन। झोले बोरे लगानीकर्ताको मात्रै ४/५ प्रतिशत शेयर डिम्याट हुन सकेको छैन।

'अर्काको नाममा शेयर खरिद गरेको हुँ यसको समाधान के हुन सक्छ भन्दै उनीहरु सिडिएसी, नेप्से र बोर्ड नै धाए। यो विषय अहिले पनि हामी सबैको समस्या बनिरहेको छ।'- उनले भने।

घरायसी नामसारीको लागि काठमाडौं भन्दा टाढा टाढका लगानीकर्ता पनि नेप्सेमै आउनु पर्ने अवस्था थियो। यसका लागि बोर्ड र सिडिएससीले बोर्डको अनुमति लिएर देशभरिबाटै घरायसी नामसारी गर्ने व्यवस्था मिलाएको छ।

११ करोड रुपैयाँ नोक्सानमा रहेको संस्थालाई हाल १२ करोड नाफामा पुर्याउन उनी सफल भएका छन्। सिडिएससीले गत वर्ष मात्रै २० प्रतिशत लाभांश दिएको छ। गुप्ता सिडिएससी प्रवेश गर्दा बुक भ्यालु ६७ रुपैयाँ थियो हाल बढेर १३४ रुपैयाँ पुगेको छ।

अब सेन्ट्रलाइज केवाइसी

कहिले काहीँ कुनै कुनै कोड बनाउन दिक्क लागेमा उनले अमेरिका बस्ने छोरालाई दिन्छन् रे। पछिल्लो समय आएका प्रविधिका वारेमा पनि छोरासँग सोधी खोजी गर्छन्।

'मेरो शेयरबाट आइपिओ भर्दा आउने भेरिफिकेसन कोड आउने गरेको छ। यसको कन्सेप्ट मैरै छोराले दिएका हुन्। यदि सिस्टम ह्याक भयो भने गार्हो हुने भन्दै रोबट सिस्टममा ह्युमन इन्टरभेन्सनका लागि यस्तो कोड जेनेरेट गरिएको हो।'-बिदेशमा पढिरहेका छोराले सघाउँदाको  खुशी उनले यसरी साँटे।

उनले डिम्याटदेखि प्राथमिक शेयरमा आवदेन दिने कामको सहजिकरण लागि जति पनि काम गरे त्यो यसअघि सायदै कसैले गर्यो। चारवटै सरोकारवाला निकायहरु नेपाल सरकार, लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जको अपेक्षा पूरा गर्न आफु सफल भएको गुप्तालाई लागेको छ।

उनी हाल सेन्ट्रलाइज केवाइसीको सफ्टवेयर निर्माण गर्ने क्रममा छन्। सफ्टवेयरको निर्माण अन्तिम चरणमा पुगेको र धितोपत्र बोर्डको स्वीकृतमा चाँडै नै लन्च गर्ने तयारीमा जुटेका छन्।

सेन्ट्रलाइज केवाइसीको सफ्टवेयर निर्माण भएसँगै लगानीकर्ताले ब्रोकर, बैंक, मर्चेन्ट बैंकमा गएर छुट्टाछुट्टै केवाइसी भरिरहनु पर्दैन। एक पटक केवाइसी भरे पुग्छ। कम्पनीको साधारणसभाको लागि इलेक्ट्रोनिक भोटिङको लागि उनले सफ्टवेयर निर्माण गरिरहेका छन्। उक्त प्रणाली विकास भएसँगै लगानीकर्ताले सञ्चालकको निर्वाचनमा अनलाइन प्रणालीबाटै भोट दिन सक्ने छन्। यसले कम्पनीको सुशासनका लागि यसले थप मद्दत पुग्नेछ।

उनको कार्यकाल अब ७ महिनामा मात्रै बाँकी छ। तर नियुक्ती अघि उनले बुझाएका कार्ययोजना लगभग सबै पूरा गरिसकेका छन्। उनी भन्छन् ‘मैले गरेका केही कामले गर्दा साधारण मानिसको जीवनमा जुन प्रभाव पर्छ त्यहि नै मेरो लागि ठूलो उपलब्धी हो।‘


Share this Story

   

सिडिएससीका सिइओ गुप्ता जसले शेयर भर्न सडकको लाम हटाए, घाटाको संस्थालाई यसरी ब्यूँझाए को लागी ७ प्रतिक्रिया(हरु)

rabindra[ 2019-05-08 07:03:58 ]
guf matra dherai bho cdsc ko system kasto chha use garne lai matra thachha jahile problem kachhuwa bhanda slo... karmachari ko bebahar bhogne lai matra thaha hunchha

   हालसम्म ४१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


आशिष[ 2019-05-06 03:35:21 ]
son lai pani sammn garnu parne bhaexa. Nepal Bolaera

   हालसम्म ४५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ashish Paudyal[ 2019-05-03 02:42:16 ]
सम्मानित व्यक्तिमा कुलमान घिसिङलाई मात्र लिएको थिएँ, अब म तपाईंलाई पनि राख्नेछु सर​

   हालसम्म ७७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


subash gyawali[ 2019-05-02 09:23:33 ]
We all are thankful for your brilliant idea.

   हालसम्म ५३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sunil[ 2019-05-02 05:46:49 ]
Great job prakash dai !

   हालसम्म ५१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ramesh Singh[ 2019-05-02 03:37:57 ]
Great job Dev dai

   हालसम्म ४९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


krishna[ 2019-05-02 11:12:08 ]
Great job.....gupta sir...

   हालसम्म ९६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.