बजारमा ‘एकुमुलेसन फेज’, १ अर्ब ३५ करोड रुपैयाँको किनबेच, एभरेष्टमा लगातार सर्किट लाग्यो 

बिजमाण्डू
२०७६ बैशाख १२ गते १५:४३ | Apr 25, 2019
बजारमा ‘एकुमुलेसन फेज’, १ अर्ब ३५ करोड रुपैयाँको किनबेच, एभरेष्टमा लगातार सर्किट लाग्यो 

काठमाडौं। शेयर बजारमा समान्य करेक्सनसँगै पुनः सुधार सुधार सुरु भएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार एक अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकिङ क्षेत्रमा तरलता अभावसँगै बैंक व्याजदर नघट्दासमेत बजारमा भने तरलता देखिएको छ। दोस्रो बजारमा लगानीकर्ताहरु माझ शेयर बजार बढ्ने व्यापक माहौल सृर्जना भएसँगै कारोबार रकम र सूचकमा सुधार हुँदै गएको बजार विश्लेषक प्रकाश तिवारीले बताए। 

लगानीकर्ताको मनोबल उच्च हुन थालेसँगै शेयर बजार एकुमुलेसन फेज सुरु भएको उनको विशल्लेषण छ। शेयर बजारमा एकुमुलेसन फेज भन्नाले शेयर बजार विस्तारै बुलिस ट्रेण्ड सुरु हुँदा ठूला लगानीकर्ताहरुले साना लगानीकर्ताहरुको शेयर उठाउन सुरु गर्छन्। उनले भने ‘यस्तो अवस्थामा शेयर बजार विस्तारै थोरै अंकले घट्ने र धेरै अंकले बढ्न थाल्छ।’ 

बिहीबार शेयर बजार एक प्रतिशतले सुधार भएर १२९२.१२ विन्दुमा रोकिएको छ। नेपाल बैंकको शेयर सबैभन्दा धेरै १८ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै एनसिसी बैंकको सात करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। दुई महिना अगाडि दोस्रो बजारमै १८/१९ करोड रुपैयाँको कारोबार हुँदै आएकोमा आज नेपाल बैंकको १८ करोड रुपैयाँको कारोबार भएको हो। 

गत फागुन १९ गतेपछि शेयर बजार १९२ अंकले सुधार देखिएको छ। यस अवधिमा केहि दिन मात्रै शेयर बजार रातो देखिएको छ भने अधिकांस दिनमा शेयर बजार बढिरहेको छ। गएका वर्षमा दैनिक २० देखि ४० करोड रुपैयाँको हाराहारीमा मात्रै कारोबार हुँदै आएकोमा पछिल्ला दिनमा एक अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुँदै आएको छ। 

बिहीबार एभरेष्ट इन्स्योरेन्स र कृषि विकास बैंकको कारोबार अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। एभरेष्ट इन्स्योरेन्सको ४२ रुपैयाँले बढेर ४६९ रुपैयाँ पुगेको छ। अधिकतम बढ्ने क्रममा विगत चार दिनदेखि कम्पनीको शेयरमा सर्किट लाग्दै आएको छ। त्यस्तै कृषि विकास बैंकको ३४ रुपैयाँले बढेर ३८८ रुपैयाँ पुगेको छ। 

समग्र शेयर बजार सुधार हुँदै गर्दा तारागाउँ रिजेन्सीको भने घट्ने क्रममा सर्किट लागेको छ। आज सबैभन्दा धेरै बाणिज्य बैंकहरुको ७० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ।