ब्रिटानियाको विस्कुट नेपालबाटै उत्पादन सुरु, वार्षिक १४ हजार टन विस्कुट उत्पादन गर्ने

बिजमाण्डू
२०७६ बैशाख ११ गते १४:३० | Apr 24, 2019
ब्रिटानियाको विस्कुट नेपालबाटै उत्पादन सुरु, वार्षिक १४ हजार टन विस्कुट उत्पादन गर्ने



वीरगंज। भारतीय प्रत्यक्ष लगानीको बहुर्राष्ट्रिय कम्पनी ब्रिटानिया बिस्कुट इण्डष्ट्रिजले परिक्षण उत्पादन शुरु गरेको छ।वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा अवस्थित उद्योगबाट गत महिनादेखि बिस्कुटको परिक्षण उत्पादन शुरु भएको हो ।

Tata
GBIME
Nepal Life

परिक्षण उत्पादनको क्रममा उत्पादन गरिएको बिस्कुटको गुणस्तर, प्याकेजिङ लगायतको नमूना परिक्षणको लागी उपभोक्ता माझ प्रयोग पनि गरिएको स्रोतले जानकारी दियो।वार्षिक १४ हजार टन बिस्कुट र अन्य बेकरी उत्पादन गर्न स्वीकृति लिएको यो उद्योगले परिक्षण उत्पादनको सफलतापछि ब्रिटानियाको लोकप्रिय ब्राण्ड गुड डे, बरबन, डाइजेष्टिभ, टाइगर लगायत दशवटा ब्राण्डमा बिस्कुट र बेकरी उत्पादन गर्नेछ।

करिब दुई बिघा क्षेत्रफलमा 'ग्रीन फिल्ड' प्रविधीको प्रयोग गरेर उद्योग स्थापना गरिएको छ । 'ग्रीन फिल्ड' प्रविधि अपनाइएको उद्योगमा उर्जाको खपत, वैकल्पिक उर्जाको प्रयोग, कार्य स्थलबाट उत्पन्न हुने प्रदुषण नियन्त्रणको उपाय अपनाएर वातावरण मैत्री उत्पादन विधीको प्रयोग गरिएको हुन्छ ।

 उद्योग पूर्ण क्षमतामा संचालनमा आएपछि ३ सय १४ जनाले रोजगारीको अवसर पाउने उद्योग विभागमा स्वीकृति लिंदा कम्पनीले पेश गरेको प्रतिवेदनमा उल्लेख छ। भारतमा‌ मुख्यालय रहेको वाडिया ग्रुपले १ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको ब्रिटानिया इण्डिया लिमिटेडको सन् २०१७/१८ को वार्षिक ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌प्रतिवेदनमा उल्लेख छ ।

स्वदेशी बजारमा २० प्रतिशत हिस्सा ओगटेको ब्रिटानियाले स्थानीय स्तरमै उत्पादन शुरु गरेर आक्रामक रुपमा बजार बिस्तार गर्ने योजना बनाएको छ।स्थानीयलाई रोजगारीको अवसरको विषयमा उत्पन्न विवादलाई ठेक्का मार्फत सम्बोधन गर्ने प्रयास गरेको छ । राजनीतिक दलका स्थानीय नेतालाई श्रमिक आपूर्तिको ठेक्का दिएर उद्योग व्यवस्थापनले समस्या समाधानको प्रयास गरेको हो ।यो उद्योग वीरगंज महानगरपालिका वडा नम्बर २१ स्थित लिपनीबिर्तामा अवस्थित छ।

स्रोतका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर २१ का  वडा अध्यक्ष हबिब मियाँ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता जलेन्दर पटेलले प्याकिङ युनिटमा मजदुर आपूर्ति गर्न र संघीय समाजवादी फोरमका स्थानीय कार्यकर्ता राधाकृष्ण रौनियारलाई सरसफाई मजदुर आपूर्तिको ठेक्का दिइएको छ ।  नेपाली काँग्रेसको प्रतिनिधित्व गरेका वडा अध्यक्ष मियाँले अन्य व्यक्तिलाई अघि सारेर आफूले श्रमिक आपूर्तिको ठेक्का लिएको स्थानीयको आरोप छ।

वडा अध्यक्ष मियाँले आफू मजदुर आपूर्तिको ठेक्कामा संलग्न नरहेको दाबी गर्दै भने,मैले स्थानीयलाई रोजगारीको अवसर दिन पटक पटक‌ माग गर्दा पनि उद्योग व्यवस्थापनले वास्ता गरेको छैन । वडा कार्यालयबाट गर्नुपर्ने कागजी प्रकृया अझै बाँकी रहेपनि उद्योग संचालनमा आइसकेको छ ।

सरसफाईको लागी दैनिक ७ जना र प्याकिङको लागी दैनिक ३० जना  ज्यालादारी मजदुर आपूर्ति गर्ने जिम्मेवारी दिइएको उद्योगमा संलग्न एक कर्मचारीले बताए।

उद्योग निर्माणको लागी प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिको लागी वडा कार्यालयको सिफारिस लिने समयमा  उद्योग व्यवस्थापनले स्थानीयलाई रोजगारी दिने आश्वाशन दिएपनि अहिले बेइमानी गरेको वडा अध्यक्ष मियाँको भनाई छ ।
 
उद्योग व्यवस्थापनले राजनीतिक दलका स्थानीय कार्यकर्तालाई  ठेक्का दिएर स्थानीयलाई‌ प्रत्यक्ष रोजगारीको अवसरबाट बंचित गरेको  गुनासो गर्दै राष्ट्रिय जनता पार्टीको स्थानीय कार्यकर्ता सन्तोष यादवले  भने, पचास प्रतिशत भएपनि स्थानीयलाई रोजगारी दिनुपर्ने हाम्रो माग कायमै छ ।