सेनाका अवकाश प्राप्त अधिकृतको पर्यटन मोह,कलैयामा सुविधा सम्पन्न होटल निर्माण गर्दै

बिजमाण्डू
२०७६ बैशाख ११ गते १३:५९ | Apr 24, 2019


वीरगंज । बाराको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई प्रवेश गर्ने मूख्य द्वारको रुपमा अवस्थित कलैया शहरमा सुविधा सम्पन्न तारे होटल संचालनमा आउने भएको छ ।

Tata
GBIME
Nepal Life

ऐतिहासिक बरेवा दरबार' छेऊमा राणाकालमा रजौटा चलाएका स्वर्गीय रामराजा मोहन विक्रम शाहका नातिले पुर्ख्यौली जग्गामा तीनतारे स्तरको होटल निर्माण गर्दैछन् । सेनाको जागिरबाट लेफ्टिनेन्ट कर्णेल पदबाट अवकाश लिएका किरण विक्रम शाहले 'बरेवा दरबार होटल एण्ड ब्याङ्क्वेट' सञ्चालनमा ल्याउन लागेका हुन् ।

पर्यटन तथा होटल व्यवसायको लागी लगानीकर्ताको खासै प्राथमिकतामा नपर्ने कलैयामा भावी संभावनालाई मध्यनजर गर्दै होटलमा लगानी गरेको संचालक शाहले जानकारी दिए । उनले भने, प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरको प्रवेश द्वारको साथै निर्माणाधीन निजगढ(काठमाडौं द्रूत मार्गको प्रस्थान बिन्दुबाट छोटो दूरीमा अवस्थित भएकोले यहाँ भारतीय र स्वदेशी पाहुनाको आगमन बाक्लिने छ।

कलैयादेखि पूर्व पश्चिम राजमार्ग सँग जोडिने गरी निर्माणाधीन द्रूत मार्गको प्रस्थान विन्दु 'पिलुवा'सम्मको दूरी १६ किलोमिटर छ ।निर्माणाधीन होटल परिसरमा २६ वटा कोठा, स्वीमिङ्गपुल, रेष्टुरेन्ट,बार, पुल हाउस, ब्याङ्क्वेट हल निर्माण गरिंदैछ। कलैयामा स्वीमिङ पुल सहितको यो पहिलो र एकमात्र होटल हुनेछ । आगामी महिनादेखि रेष्टुरेन्ट र ब्याङ्क्वेट हल संचालनमा ल्याउने योजना रहेको छ ।

साढे १२ कठ्ठा ‌ क्षेत्रफलमा फैलिएको होटल परिसरभित्र ३५० जना सम्म अटाउने ५ हजार वर्गफुट फराकिलो ब्याङ्क्वेट हल, ६० जना अटाउने बैठक‌ कक्ष निर्माण गरिंदैछ । साथै स्वीट रुम, डिलक्स रुम र सामान्य रुम सहित २६ वटा कोठा समेत निर्माण भइरहेको संचालक शाहले जानकारी दिए। होटलमा प्रारम्भिक चरणमा १ करोड रुपैयाँ लगानी गरिंदैछ ।

सन् १९७० मा‌ निर्मित बरेवा दरबारको एउटा हिस्सालाई संरक्षण गरेर निजी आवासको रुपमा प्रयोग गरिरहेका छन् । स्वर्गीय मोहन विक्रम शाहले कलैयाको बरेवामा निजी आवासको रुपमा निर्माण गरेको दुई तल्ले 'रातो बंगला' बरेवा दरबारको नामले चिनिंदै आएको छ।'पुर्ख्यौली धरोहर मास्न मन मानेन', शाहले पुरानो दरबार संरक्षणको कारणबारे खुलाउँदै भने,'मैले आफ्नो अंशमा परेको दरबारको भौतिक संरचनालाई भावी पुस्ताको लागी जोगाएर राखेको छु।'