१० करोड पूँजी पुर्याए ब्रोकरलाई पनि स्टक डिलरको काम, धितोपत्र बोर्डमा प्रस्ताव गयो

बिजमाण्डू
२०७६ बैशाख ११ गते ०८:५७ | Apr 24, 2019
१० करोड पूँजी पुर्याए ब्रोकरलाई पनि स्टक डिलरको काम, धितोपत्र बोर्डमा प्रस्ताव गयो


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर कम्पनीलाई पनि स्टक डिलरको काम गर्न दिने प्रस्ताव अघि बढाएको छ। ब्रोकर कम्पनीको कार्यक्षेत्र बिस्तारका लागि स्टक डिलर लगायतका काम गर्न दिने प्रस्ताव नेप्सेको हो। ब्रोकरसहित अरुलाई पनि डलरको काम दिइनेछ।

Tata
GBIME
Nepal Life

हाल बजारको आकार बढ्दै गएकाले संस्थागत तथा ठूला कम्पनीको आवश्यकता देखिएको नेप्सेले गरेको प्रस्तावमा उल्लेख छ। उसले ब्रोकर कम्पनीलाईसमेत स्टक डिलरको काम गर्न दिए कार्यक्षेत्रसमेत बिस्तर हुने ठहर गरेको छ।

ब्रोकर कम्पनीले स्टक डिलरको रुपमा काम गर्न चुक्ता पूँजी बढाउनु पर्छ। स्टक डिलरको काम गर्न ब्रोकर लगायतका कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताब गरिएको छ।

अनुमति तथा भौतिक पुर्बाधार लगायतका बिषयमा भने धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को अनुमतिपत्र सम्बन्धी व्यवस्था अनुरुप गर्न सकिने प्रस्ताव गरिएको छ। नियमावलीमा धितोपत्र व्यापारीको काम गर्ने कम्पनीले पुर्याउनु पर्ने सबै प्रकृया समेटिएको छ। 

धितोपत्र बोर्डले गत मंसिरमा नेप्सेलाई स्टक डिलर, बैकलाई ब्रोकर लाइसेन्स, प्रदेशिक स्तरका ब्रोकर कम्पनीलाई नयाँ लाइसेन्स र सर्किट ब्रेकरको बिषयमा अध्यन गरि प्रकृया अघि बढाउन निर्देशन दिएको थियो। 

निर्देशनपछि नेप्सेले ती बिषयमा अध्ययन गर्न एक समिति गठन गरेको थियो। समितिले नेप्सेलाई ब्रोकर लगायतका कम्पनीलाई स्टक डिलरको कम गर्न दिनु पर्ने सुझाब दिएको थियो। त्यही सुझावलाई नेप्सेको सञ्चालक समितिले कार्यान्वनमा लैजान धितोपत्र बोर्डमा पेश गरेको छ।

नेप्सेले गरेको प्रस्तालाई बोर्डले स्विकृति दिएमा थप प्रकृया अघि बढाउने नेप्सेको योजना छ। नेप्सेको प्रस्ताब अनुसार, बैकका सहायक कम्पनी, ब्रोकर कम्पनी, नागरिक लगानी कोष लगायतका कम्पनीले स्टक डिलरको काम गर्ने बाटो खुल्ने छ। 

पछिल्लो समय नागरिक लगानी कोषले नीति अभावकै कारण कोष नाममा शेयर खरिद बिक्री गरिरहेको छ। कोषले स्टक डिलरको कामको पूर्व अभ्यासका लागि दोस्रो बजारबाट शेयर खरिद गर्न थालेको हो। स्टक डिलरको विधि तय भएलगत्तै कोष लगायतका कम्पनीलाई औपचारिक रूपमै डिलरको काम गर्न बाटो खुल्ने छ।