शेयर बजार बारे ठूला लगानीकर्ता भन्छन्- ११०० अंक न्यूनतम हो, अब १८०० लाई नाघ्छ

अरुण सापकोटा/बिजमाण्डू
२०७६ बैशाख ९ गते १५:५४ | Apr 22, 2019
शेयर बजार बारे ठूला लगानीकर्ता भन्छन्- ११०० अंक न्यूनतम हो, अब १८०० लाई नाघ्छ


काठमाडौं। शेयर बजारको घट्दो ट्रेण्ड अन्त्य भएको भन्दै शेयर बजारमा ठूला लगानीकर्ताले विस्तारै लगानी बढाउन थालेका छन्। नेप्से सूचक ११००.५८ विन्दु नै बियरिस ट्रेण्डको अन्तिम बिन्दु रहेको विश्लेषणसँगै साना-ठूला लगानीकर्ता बजार प्रवेश गरेका हुन्। 

Tata
GBIME
Nepal Life

नेपालको शेयर बजारमा पाँचदेखि सात बर्षको चक्र बन्दै आएको छ। प्रत्येक चक्रमा शेयर बजारले अधिकतम र न्युनतम विन्दु बनाएर अगाडि बढेको देखिन्छ। २०७३ साउन १२ गते अहिलेसम्मकै अधिकतम विन्दु १८८१ अंकसम्म पुगेको थियो। त्यसयता शेयर बजार वियरिस ट्रेण्डमा रहेको छ। 

वियरिस ट्रेण्डमा रहेको शेयर बजारले गत फागुन १९ गते यस चक्रको तल्लो विन्दु ११००.५८ अंक कायम भएको विश्लेषण गरिएको हो। 

बजार विश्लेषक प्रकाश तिवारीको शब्दमा- बजार सुधार हुनका लागि सबैभन्दा पहिले घट्ने क्रम रोकिनु पर्छ। बजार घट्न रोकिएपछि मात्रै सुधारको अपेक्षा गर्न सकिन्छ। बजार घट्ने क्रम रोकिएकोले अबका दिनमा शेयर बजार बिस्तारै वुलिस ट्रेण्डमा जानेछ।
 
लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बजारको चक्रिय प्रभाव सकिएको बताउँछन्। 'बजारको न्युन बिन्दु ११०० नै हो' उनले भने ‘हामी ठोकुवाका साथ भन्न सक्छौ फागुन १९ गतेको सूचक नै यस चक्रको सबैभन्दा तल्लो विन्दु हो।‘

अर्का लगानीकर्ता निर्मल प्रधान पनि शेयर बजार जति घट्नु थियो घटिसकेको बताउँछन्। 'अब बजार बढ्ने बेला आएको छ' उनले भने ‘बजार तल जाने क्रम रोकिएको आँकलन गरिएको छ।‘  
शेयर बजारका अर्का लगानीकर्ता निरञ्जन टिवरेवालको पनि बजारको घट्ने क्रम रोकिएको विश्लेषण गर्छन्। 

निरञ्जनकुमार टिवरेवाल
बजारको घट्ने क्रम रोकिएको छ तर अबका दिनमा कति अंकले बढ्छ भन्ने चाँही प्रश्न हो। नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय योजना आयोग तथा सरकारले यस वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशतभन्दा माथिको हुने प्रक्षेपण गरिसकेको छन्। आर्थिक सुधारको संकेत विस्तारै शेयर बजारमा पर्ने देखिन्छ। 

बाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण आउन थालेको छ। अबको तीन महिनापछि यस आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक हुनेछ। गत बर्ष एनएफआरएस प्रणालीले गर्दा बैंकहरुलाई लेखापरिक्षण गर्न ढिलाइ भएको थियो। लेखापरिक्षणमा ढिलाइ हुँदा लाभांस घोषणा गर्ने तथा साधारणसभा गर्नलाई नै ढिलाई भयो। तर यस वर्ष सबै कुराको एडजस्टमेन्ट भैसकेको हुँदा समयमै लेखापरिक्षण गर्न सक्ने छन्। असार मसान्त सकिने वित्तीकै साउन भदौमा राम्रा बैंकहरुले साधारणसभा सम्पन्न गरेर लाभांस वितरण गर्न सक्ने छन्। यसको प्रभाव शेयर बजारमा पर्ने छ। 

नबिल बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकहरुको नाफा कम्तिमा पनि ४ अर्ब रुपैयाँभन्दा माथि हुने आँकलन गर्न सकिन्छ। यसले गर्दा उनीहरुले दिने लाभांस पनि राम्रो हुने देखिन्छ। 

अधिकांस बैंकहरुको आधार व्याजदर घटिसकेको छ। आधार व्याजदर घटेसँगै व्याजदर पनि घट्ने छ। नेपाल धितोपत्र बोर्डले प्यानको विषयमा रहेको विवादलाई समाधान गर्दै ५ लाख रुपैयाँभन्दा माथिको कारोबारका लागि मात्रै अनिवार्य गरिसकेको छ। यसलाई विस्तारै अनिवार्य गर्ने तर्फ लाग्नु पर्छ। तर करको विषयलाई स्पस्ट पारिनु पर्छ। 

विस्तारै लगानीको वातावरण वन्दै गएको छ। नेपालमा लगानी जेनेरेट हुने क्रम सुरु भएको छ। यसको प्रत्यक्ष असर शेयर बजारमा पनि पर्ने देखिन्छ। यसले बजारमा लगानीकर्ताको मनोविज्ञान पनि बढ्दै जाने छ। 

कस्तो कम्पनीमा लगानी गर्दा कति प्रतिफल पाउन सकिन्छ भन्दै लगानीकर्ताले छानिछानी लगानी गर्न सक्ने छन्। लगानीकर्ताले कम्पनी छानेर लगानी गर्ने ट्रेण्ड सुरु भएको हुँदा हिजोको दिनमा जस्तै एकाएक १८०० अंक भन्दा माथि बजार जान सक्दैन। 

अबका दिनमा शेयर बजारले बढ्दो ट्रेण्डको नयाँ नयाँ विन्दु बनाउदै जाने छ। तर बजार सँधै बढिरहन्छ भन्ने चाँही हुँदैन। एक पटक बढ्दा दुई तीन सय अंकले बढ्ने त्यसपछि करेक्सन हुने त्यसपछि पुनः बढ्ने क्रममा रहनेछ। 

बजेट आउँदै छ। राष्ट्रिय योजना आयोगतले यस वर्षको बजेटको सिलिङ १५ खर्ब पुर्याउने सल्लाह दिसकेको छ। यसले गर्दा पनि यस वर्ष बजेटमा उल्लेख्य बृद्धि आउने छ। पछिल्लो समय रेमिट्यान्स बढिरहेको छ। साथै जापानले पनि कामदार लैजाने सहमति गरेको हुँदा भोलिका दिनमा रेमिट्यान्स थप बढ्ने अनुमान गर्न सकिन्छ। मेलेसियाले फेरि कामदार लैजान सुरु गरेको हुँदा रेमिट्यान्स बढ्ने अनुमान गर्न सकिन्छ। रेमिट्यान्सको प्रभाव समग्र अर्थतन्त्रका साथै शेयर बजारमा पनि पर्ने देखिन्छ। 

अर्थतन्त्रमा विस्तारै सकारात्मक सिग्नल देखा पर्न थालेको छ। लगानीमैत्री वातावरणको लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न भयो। यसले लगानी नभित्रिए पनि लगानीको अवसर रहेछ भन्ने सन्देश प्रवाह भएको छ। स्थानीय लगानीकर्ताहरु विचमा पनि काम गर्ने जागर चलेको छ। शेयर बजार लगायतका क्षेत्रमा मानिसहरुको पैसा फसेको थियो। बजार सुधार हुने क्रम बढे सँगै उनिहरुमा पनि उत्साह छाउने छ।

प्रधानमन्त्री केपि ओलीले निजी क्षेत्रलाई विश्वासमा लिन नियमित रुपमा आफ्नो भेटघाटलाई बाक्लो बनाइरहेका छन्। ठाऊँठाऊँमा गएर निजी क्षेत्रसँग डिल गरिरहेका छन्। प्रधानमन्त्री जति धेरै निजी क्षेत्रसँगै सोसल हुँदै जान्छन त्यति नै लगानीको वातावरण सृजना हुँदै जान्छ। यसले लगानीकर्ताको मनोविज्ञान बढ्न थाल्छ र लगानीको वातावरण पनि तयार हुन थाल्नेछ। 

अर्थतन्त्रका खराब पक्ष जति हुनु थियो भैसकेको छ। सबै क्षेत्रमा सुधार देखिँदै गर्दा शेयर बजारमा पनि यसको प्रभाव पर्न थालेको हो। जुन सुकै क्षेत्रमा जे सुकै नीति लागु गरे पनि तत्काल नतिजा प्राप्त हुँदैन। अर्थविज्ञ तथा अर्थशस्त्रीले दीर्घकालिन सोच बनाएर मात्रै नीति बनाएका हुन्छन्। तत्काल हामीले चाहेको जस्तो निर्णय नहुन सक्छ। जति निर्णय गर्नु पर्ने हो त्यति नगरेको हुन सक्छ। 

अर्थमन्त्री कतिको करेक्टिभ वेयमा हुनुहुन्छ भन्ने कुरा यस वर्षको बजेटबाट देखिनेछ। नेपालको अर्थन्त्रमा केहि म्याचुरिटि देखिन थाल्नेछ। अर्थमन्त्रीले खासै केहि विगारेको जस्तो लाग्दैन। काम नविगारे पनि १० अंकको काम हुनु पर्नेमा ८ अंकको मात्रै भयो होला तर काम गर्न खोजेको देखिन्छ। कुनै पनि काम गर्न खोज्दा त्यसको प्रतिफल पाउन केहि वर्ष कुर्नै पर्छ। 

आगामी वर्ष १० वटा जीवन बीमा कम्पनीहरुले शेयर निष्काशन गर्ने छन्। शिवम् सिमेन्टले शेयर निष्काशन गरेसँगै अब बाँकी कम्पनीहरुका लागि पनि शेयर निष्काशन गर्ने वातवरण तयार हुनेछ। यसले समग्र पूँजी बजारलाई नै माथि लैजान सहयोग पुर्याउँछ।

अम्बिकाप्रसाद पौडेल 
चक्रिय प्रभाव सकिएसँगै नेपालको अर्थतन्त्र पनि राम्रो बन्दै छ। अबको चक्रमा उच्चतम विन्दुमा पुग्न पाँचै वर्ष नलाग्न सक्छ। बजार विस्तारै सुधार हुँदै जाने भएकोले शेयर किन्न पछाडि परे भन्नु पर्दैन। बजारमा आरामले छानीछानी शेयर खरिद गर्न पाइन्छ र आरामले नाफा आर्जन गर्न सकिन्छ। 

कारोबार रकमले पनि अहिले बजार बढ्ने संकेत गरेको छ। २०/२२ करोड रुपैयाँमा सीमित कारोबार ७०/८० करोड रुपैयाँ नाघ्नुले पनि बजारलाई माथि पुर्याउने पुष्टी गर्छ। बाणिज्य बैंकहरुले लिड गरिरहनु नै अहिलेको सुखद पक्ष हो। शेयर बजारमा म छुटिहाले भन्ने हुँदैन। आज म डुविहाले भन्ने हुँदैन। अवका दिनमा लगानीकर्ताले विवेकपूर्ण किसिमले कम्पनी छनौंट गर्न सकेमा अबका केहि बर्ष गुमाउनु पर्दैन।

अबका दिनमा निरन्तर फाइदा लिने नै हो। यसमा कुनै शंका छैन। घट्दो ट्रेण्डमा धेरैले फाइदा लिन सक्दैनन्। तर बढ्दो ट्रेण्डमा कसैले पनि गुमाउनु पर्दैन। हामीले ठोकुवाका साथ भन्न सक्छौ यो चक्रको अन्तिम विन्दु ११०० नै थियो। यहि विन्दुबाट बजार सुधार भएको छ। चक्रिय प्रभावको कारणले हिजोका दिनमा सरकारले जति सुकै सुधार गर्न खोज्दा पनि बजार बढ्न सकेको थिएन। मुद्रा तथा पूँजी बजार सुधारका लागि गठित उच्च स्तरीय समितिले दिएका सुझावले पनि काम नगरेको देख्दा बजारले चक्र खोजेको रैछ। पूँजी बजारको सुधारको आधार यस अगाडि सरकारले गठन गरेको उच्च स्तरिय मुद्रा तथा पूँजी समितिको सुझाव कार्यान्वयन भएर नै भएको हो। यहि जगमा बसेर बजार माथि जान्छ। 

  
निर्मल प्रधान
अवको दिनमा शेयर बजार विस्तारै बुलिस ट्रेण्डमा देखिने आँकलन गर्न सकिन्छ। बढ्ने क्रम चाँहि सुरुवात भएजस्तो लाग्छ। शेयर बजार घटेको तीन वर्ष भइसकेको छ। १८८१ अंकबाट शेयर बजार घट्दै घट्दै ११०० अंकमा झरिसक्यो। नेपालको शेयर बजारमा ६ देखि ७ वर्षको साइकल हुने गरेको छ। यसै क्रममा घट्ने क्रम सकियो र अब बढ्ने क्रम सुरु भएको छ। 

यसैले गर्दा शेयर किन्ने बेला भएको छ। सबैको सोच बढ्छ भन्ने भएपछि सबै जना चनाखो भएका छन्। भोलि शेयर किनौला भन्नेहरुले आजै शेयर किनिसकेको हुन्छन्। थोरै कारोबार हुँदा पनि ७५/८० करोड रुपैयाँको हुने गरेको छ। सबैको मनमा अब किन्ने बेला भयो भन्ने परेको छ। बैंकसँग चाँहि पैसा छैन तर नगद लिएर बस्नेहरुसँग अवशर छ। उनीहरुले शेयरमा लगानी गर्न सक्ने छन्। बजार बढ्न थालेसँगै लुकेका पैसा पनि शेयर बजारमा आउन थाल्ने छ। 

बिहीबारसम्ममा शेयर बजार तीन वर्षयताकै तल्लो विन्दुबाट सुधार हुने क्रममा १३२ अंकले बढिसकेको छ। बजार सुधार भएसँगै कारोबार रकम पनि दैनिक ७० करोड रुपैयाँ नाघ्न थालेको छ। बजार घट्ने क्रम रोकिएको हुँदा सबैले लगानी बढाइरहेका हुन्। 

बजारमा अझै केहि अंकले सुधार हुने र फेरि करेक्सन हुन सक्नेछ। यहि क्रममा बजार बढ्न थालेमा लगानीकर्ताले थप लगानी बढाउने छन्। अबको बजारमा केहि अंकले बढ्ने र केहि अंकले करेक्सन हुँदै विस्तारै विस्तारै बढ्दै जाने देखिन्छ। अलिअलि करेक्सन हुँदै नेप्से सूचक पनि बढ्दै जानेछ। १८/१९ सय अंक नकटेसम्म यसरी नै शेयर बजार अगाडि बढ्ने देखिन्छ। यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो क्षमता अनुसार शेयर खरिद बिक्री गर्दै जाने छन्। 

बजार घटेको बेलामा शेयर किन्ने र बढेको बेलामा बेच्ने लगानीकर्ताहरुको लागि यहि समय नै उचित समय हो। बढ्दो ट्रेण्डमा रहेको बजारमा अल्पकालिन लगानीकर्ताले उचित फाइदा लिन सक्छन्। दीर्घकालिन लगानी गर्न चाहनेहरुले पनि अबको तीन वर्षमा राम्रो प्रतिफल पाउन सक्ने छन्। इन्डेक्स करेक्सन हुँदा किन्ने र बढेको वेलामा बिक्री गर्नेले राम्रो नाफा आर्जन गर्न सक्ने छन्।