कांग्रेसलाई ओलीको आरोप: ‘प्रतिक्रियावादीसँग घाँटी जोड्दै मेरो शासक भइदेउ भनेर निवेदन हाल्या छ’

बिजमाण्डू
२०७६ बैशाख ९ गते १५:१३ | Apr 22, 2019


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर गलत नीति अपनाएको आरोप लगाएका छन्। आज नेपाल कम्युनिस्ट पार्टीको ७० औं जन्मदिवसमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।

Tata
GBIME
Nepal Life

सहयात्री कम्युनिस्टमाथि राष्ट्रियतामा साथ दिन नसकेको आरोप लगाउँदै ने क पाका अध्यक्षसमेत रहेका ओलीले भने, 'कांग्रेसले गलत बाटो समात्यो। कांग्रेसले त्यो बाटो अहिले पनि सच्याउन सकेको छैन।'

लोकतान्त्रिक शक्तिसँग मिल्नुपर्ने धारणा राख्दै ओलीले थपे, 'मिलेर अघि बढ्न सक्थ्यो। धेरै दबाव दिएमात्र बाध्य पारेमात्र सहकार्य गर्ने। प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्ने गलत नीति कांग्रेसले लियो। अब त्यो बाटो लिनुहुँदैन। कांग्रेस लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्छ।'

कांग्रेसका कतिपय नेता अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागेको ओलीको भनाई थियो। 'आज अचम्म लाग्छ। कांग्रेस कहाँ पुग्यो? कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिड्दा विचित्र लाग्छ। मेरो शासक भइदेउ भनेर कुनै लोकतन्त्रवादीले निवेदन हाल्दैन,' ओलीले भने।