वैशाख २२ भित्र तामाकोसीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु हुने, कहिले सकिन्छ काम?

बिजमाण्डू
२०७६ बैशाख ९ गते १३:२७ | Apr 22, 2019


दोलखा।स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङ वैशाख २२ भित्रमा पेनस्टक पाइप जडान सुरु हुने भएको छ ।

Tata
GBIME
Nepal Life

माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइन जडान सुरु हुनेछ । आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई  अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ। तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नु पर्ने छ। माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपहरु  जडान भइसकेका छन्।अब ती बेण्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि  तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल(लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोलेनै गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्यहरु निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गरेका छन्। मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए।

बैठकमा टेक्स्म्याकोका मुख्य कार्यलयका प्रमुख कार्यलयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जिसी अग्रवाल लगायत प्रमुख डिजाइन र इरेक्सेन इन्जिनियरहरु, सिभिल  ठेकेदार सिनो हाइड्रोका आयोजना प्रमुख, एन्ड्रिज हाइड्रोका साइट प्रतिनिधि र परामर्शदाताका प्रतिनिधिहरुको उपस्थिति थियो ।
‘माथिल्लो तामाकोसीको लगानी गरेकाले आयोजनाको निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तिब्रता दिनुहोस्’,घिसिङले निर्देशन दिए । ‘विद्युत गृहको काम सकिएर त्यहाँ रहेका टर्वाइनहरु पानी पर्खिएर बसेका छन्, मुलुकको अर्थतन्त्रलाई ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने राष्ट्रिय गौरबको आयोजनाको आफूले लिएको जिम्मेबारी छिट्टो पूरा गरी दिनुहोस् ।’

बैठकमा टेक्स्म्याकोका सिइओ अग्रवालले लगायत अन्य ठेकेदार कम्पनीले आ–आफ्नो काम एक अर्कासँग समन्वय गरी निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । ‘हामीलाई अवसर दिनुहोस्, हाम्रो काम निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध छौं’अग्रवाललले भने । बैठकमा आयोजनाको अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिका बारेमा विस्तृत छलफल तथा समीक्षा गरिएको थियो।