पुरानो दायित्व फरफारक गर्नुस्: अर्थमन्त्री, प्रादेशिक सन्तुलन हुनेगरी बजेट बनाउन निर्देशन

बिजमाण्डू
२०७६ बैशाख ८ गते १८:५३ | Apr 21, 2019
पुरानो दायित्व फरफारक गर्नुस्: अर्थमन्त्री, प्रादेशिक सन्तुलन हुनेगरी बजेट बनाउन निर्देशन


Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बाँकी समयमा सिर्जित पुरानो दायित्व फरफारक गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुरानो दायित्व फरफारक गरेर अघि बढ्न निर्देशन दिएका हुन्। 

कार्यक्रममा अर्थमन्त्री खतिवडाले खर्च गर्न नसक्ने बजेट फिर्ता गराउने र शोधभर्ना लिन तीव्र पहल गर्न पनि निर्देशन दिएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा आर्थिक र सामाजिक विकासमा सहयोग पुग्ने किसिमका कार्यान्वयन योग्य र प्रादेशिक सन्तुलन हुने योजना तथा कार्यक्रम प्रस्तुत गर्न पनि उनले निर्देशन दिए। 

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरुले आयोजना कार्यान्वयनमा भएका समस्या र चुनौतिका बारेमा कुरा राख्दै सहजीकरणका लागि आग्रह गरेका थिए। छलफलमा अर्थसचिव डा. राजन खनालले वित्तीय अनुशासन कायम गर्न र कार्यसम्पादनको जवाफदेहिता सबैले लिन आग्रह गरे। 

छलफलमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले चालु आर्थिक वर्षको चैतसम्मको बजेट कार्यान्वयनको अवस्था, निकायगत बजेट खर्चको स्थिति, राष्ट्रिय गौवरका आयोजनाको बजेट र खर्चको अवस्था, शोधभर्ना तथा थप बजेट मागको विवरण प्रस्तुत गरेका थिए।