प्राथमिक शेयर निष्काशन मिति जुधेपछि सबै शेयर बिक्री भएनन्, अब निष्काशन मिति नजुधाउने

सुवास निरौला/बिजमाण्डू
२०७६ बैशाख ८ गते १७:०७ | Apr 21, 2019
प्राथमिक शेयर निष्काशन मिति जुधेपछि सबै शेयर बिक्री भएनन्, अब निष्काशन मिति नजुधाउने


काठमाडौँ। एकै पटक धेरै कम्पनीका शेयर निष्कासन हुँदा लगानीकर्तानै अलमलमा परेपछि शेयर निष्कासन समयलाई व्यवस्थित गरिने भएको छ। 

Tata
GBIME
Nepal Life

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) ले शेयर निष्कासन समयलाई व्यवस्थित गर्न लागेको हो। प्रवक्ता सुरेश न्यौपानेले एकै समयमा धेरै वटा कम्पनीको शेयर निष्कासन हुँदा लगानीकर्ताहरूले शेयरमा आवेदन दिँदा अलमलमा परेको गुनासो आएको बताउँदै त्यही भएर समयलाई व्यवस्थित गर्न लागेका छौं। 

यसअघि बिक्री प्रबन्धकले शेयर निष्कासनको मिति तय गरेपछि सिडिएससीलाई जानकारी दिन्थे। अब बिक्री प्रबन्धकले सिडिएससीसँग समय लिएपछि मात्रै मिति तय गर्नु पर्ने नीति बनाउन लागिएको हो।

त्यसपछि सिडिएससीले एकै पटक धेरै कम्पनीका शेयर नजुध्ने गरी निष्कासनको समय मिलाउने प्रवक्ता न्यौपानेले बताए।

हाल आधा दर्जन कम्पनीका प्राथमिक शेयर खुला छन्। जसमा जलविद्युत कम्पनीका तीन, सामूहिक लगानी कोष, ऋणपत्र र लघुबित्तको एक/एक शेयर खुला छ। 

एकै पटक धेरै कम्पनीको शेयर खुला हुँदा सिडिएससिको 'सिस्टम लोड' समेत बढ्न थालेको छ। न्यौपानेका अनुसार, आइतबार एक मिनेटमा दुई सय ५० भन्दा बढिको दरमा आवेदन परिरहेको थियो। पछिल्लो समय सिस्टमको स्तरोन्नति गरिसकिएकाले लोडका कारण कुनै समस्या नहुने न्यौपानेको दाबी छ।

आवेदकको चापले सिस्टममा कुनै समस्या नहुने भए पनि निष्कासित सबै कम्पनीका शेयरमा पर्याप्त आवेदन भने पर्न सकेको छैन। एकै पटक धेरै कम्पनीको शेयर खुला भएपछि लगानीकर्तालाई रकम जोहो गर्नसमेत समस्या देखिन थालेको छ।

यहीकारण दोस्रो बजारमा उचित मूल्य प्राप्त गर्न सकिने कम्पनीको शेयरमा लगानीकर्ताले मागभन्दा बढी आवेदन दिएका छन्। अन्य कम्पनीको शेयर बिक्री हुन कठिन देखिएको छ। लगानीकर्ताले हाल खुला रहेको तीन जलविद्युत कम्पनीमा युनियन हाइड्रोको शेयर निष्कासन भएको एक महिना पुग्नै लाग्दा पनि जम्मा ९७ प्रतिशत मात्रै बिक्री भएको छ।

जबकि गत बिहीबारदेखि निष्कासन भएको सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण देखिएको छ। आइतबारसम्म सान्जेनको ७४ प्रतिशत शेयर बिक्री भैसकेको छ भने रसुवागढीमा ४७ प्रतिशतले आवेदन दिएका छन्। युनियनको शेयरमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिन्छ भने साञ्जेन र रसुवागढीको शेयरमा छिटोमा वैशाख १० गते र ढिलोमा जेठ ५ सम्म आवेदन गर्न सकिन्छ।  

एकै पटक निष्कासन जुधेका कारण सामूहिक लगानी कोषमा लगानीकर्ताको आकर्षण कम देखिएको छ। आइतबारसम्म नविल इन्भेष्टमेन्ट बैकिङले निष्कासन गरेको 'नविल ब्यालेन्स फण्ड २' मा ११ हजार २७६ आवेदकले एक करोड २९ लाख आठ हजार २३० इकाइका लागि आवेदन दिएका छन्।

कम्पनीले सर्वसाधारणको लागि १२ करोड इकाई निष्कासन गरेको छ। फण्डले प्रति इकाई १० रुपैयाँको दरमा सर्वसाधारणको छिटोको वैशाख ९ गतेसम्म र त्यस अबधिमा बिक्री नभए जेठ तीन गतेसम्म बिक्री खुल्ला गर्ने छ। तर आइतबारदेखि निष्कासन भएको नेपाल एग्रोको शेयर एक घण्टामै बिक्री भयो यता सनराइज बैकले निष्कासन गरेको ऋणपत्र अझै  बिक्री भएको छैन।