भारतमा किन बन्द भयो टिकटक? भारतमा चिनियाँ प्राविधिक उत्पादनलाई एकपछि अर्को सकस

विधुर ढकाल/बिजमाण्डू
२०७६ बैशाख ४ गते १६:०६ | Apr 17, 2019
भारतमा किन बन्द भयो टिकटक? भारतमा चिनियाँ प्राविधिक उत्पादनलाई एकपछि अर्को सकस


काठमाडौं। भारतको अदालतले मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। अदालत प्रतिबन्ध लगाउन दिएको आदेशसँगै भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले गुगल र एप्पललाई रोक लगाउनका लागि पत्राचार गरेको थियो।

Tata
GBIME
Nepal Life

भारतको मन्त्रालयले पत्राचार गरेसँगै गुगल र एप्पलले भारतमा आफ्नो प्लेस्टोर र एप स्टोरबाट टिकटक डाउनलोड गर्न रोक लगाएका छन्।

भिडियो सेयरिङ एप टिकटक भारतमा मात्र २३० मिलियन पटक डाउनलोड भइसेका छन्। भारतको मद्रासस्थित उच्च अदालतले अप्रिल ६ मा एपमाथि रोक लगाउन आदेश दिएको थियो। पछि मद्रास अदालतको निर्णय खारेज गर्न सर्वोच्चमा निवेदन पुगेको थियो। तर सर्वोच्चले फसैला खारेज नगर्ने निर्णय सुनाएको थियो।

यस सम्बन्धी थप सुनुवाई अप्रिल २४ का लागि तोकिएको छ। प्रतिबन्ध लागेसँगै टिकटकले भारतको न्यायिक प्रणालीको स्वागत गर्ने जनाएको छ।

किन प्रतिबन्ध लाग्यो टिकटकमाथि?

टिकटक चिनियाँ बाइट डान्स टेक कम्पनीको उत्पादन हो। यो एप्पल एप स्टोरमा १२+ रेटिङमा छ। त्यस्तै गुगल प्लेस्टोरमा 'टीन म्याच्यूरिटी' रेटिङमा छ। तर, टेक्नोलोजी उत्पादनको परिवार र बालबालिकामाथि पर्ने प्रभावको अध्ययन गर्ने अमेरिकाको कमन सेन्स मिडियाले यो एप प्रयोग गर्न बालबालिका १६ वर्ष हुनुपर्ने जनाएको छ।

गत फेब्रुअरीमा अमेरिकी संघीय व्यापार आयोगले टिकटकमाथि ५.७ मिलियन डलर जरिवाना लगाएको  थियो। टिकटकमाथि १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत सूचना अवैधानिक तरिकाले संकलन गरेको अभियोग लागेको थियो।

मद्रासको अदालतले टिकटक बन्द गर्न दिएको फैसलासँगै भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको दिल्ली इकाइले देशको चुनाव आयोगमा बाइट डान्सले भारतको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेको भन्दै निवेदन दिएको थियो। बाइट डान्स टिकटकको मातृ संस्था हो।

भाजपाले निवेदनमा फेसबुकमा ११ हजार विज्ञापन बाइट डान्सको अर्को एप्स 'हेल्लो'बाट आएको र ती सामाग्रीले राजनीतिक विज्ञापनको पारदर्शिता सम्बन्धित नियमलाई उल्लंघन गरेको उल्लेख गरेको साउथ चाइना मर्निङ पोस्टको अनलाइन संस्करणमा उल्लेख छ।

बाइट डान्सले वक्तव्य जारी गर्दै स्थानीय कानुन तथा नियमहरुको सम्मान गर्न प्रतिबद्ध रहेको र भारतीय प्रयोगकर्ताहरुमाझ आफ्नो एप्सका सुरक्षा र सकरात्मक प्रभाव कायम राख्न काम गरिरहेको जनाएको छ।

उसले 'हेल्लो' प्लेटफर्मले कुनै पनि राजनीतिक विज्ञापनलाई सेयर गरेको भन्ने आरोपको खण्डन गरेको छ। उसले भारतीय चुनाव आयोगसँग भारतको निर्वाचन आचार संहिताप्रति प्रतिवद्ध रहेको जनाएको छ।

'हामीले भारतीय निर्वाचनका कुनै पनि पैसा तिरिएका राजनीतिक विज्ञापनहरुलाई सहयोग गरेका छैनौँ। र कुनै पनि राजनीतिक नेता तथा दलहरुलाई नियतवस हाम्रो सञ्जालमा अगाडि ल्याएका छैनौँ,' बाइट डान्सको वक्तव्यमा भनिएको छ। उसले गत जुनमा 'हेल्लो'को लन्चसँगै हालसम्म गरिएका विज्ञापनमध्ये ०.१ प्रतिशत मात्र रहेको दाबी गरेको छ।

बाइट डान्स ७५ बिलियन डलर मूल्यांकन भएको विश्वकै ठूलो इन्टरनेट स्टार्टअप कम्पनी हो उसले अमेरिकामा हेको 'उबर'लाई दोस्रो स्थानमा पछि पारेको छ। उबरको मूल्यांकन ७२ बिलियन डलर गरिएको छ।

मोबाइल एप इन्टिलिजेन्स कम्पनी सेन्सर टावरका अनुसार २०१९ को पहिलो चौमासिकमा १८८ मिलियन टिकटकका नयाँ प्रयोगकर्तामध्ये ८८.६ मिलियन प्रयोगकर्ता भारतको रहेको उल्लेख छ। जुन एक वर्षको तुलनामा ८ गुणा बढी हो। यही अवधीमा अमेरिकामा १३.१ मिलियन टिकटकका नयाँ प्रयोगकर्ताहरु थपिएका छन्।

टिकटक २०१९ को पहिलो त्रैमासिकमा विश्वमा धेरै डाउनलोड गरिएको एपमा तेस्रो नम्बरमा छ। गत बुधवारमात्र टिकटक गुगल प्ले स्टोरबाट डाउनलोड गरिने फ्रि एपमध्ये भारतमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै बाइट डान्सको अर्को एप 'हेल्लो' भारतमा ११ स्थानमा रहेको छ। बाइट डान्सकै अर्को एप भिगो भिडियो पनि भारतीय प्रयोगकर्ता माझ लोकप्रिय छ।

गत जुनमा हेल्लो लञ्च भएको थियो। यो भारतीय प्रयोगकर्तालाई लक्षित गरी विभिन्न १४ भाषामा सामाग्री दिँदै आएको छ।

यो अहिले एउटा कानुनी लडाइमा जोडिएको छ। भारतमा सबै भन्दा ठूलो भारतीय भाषाको सामाजिक सञ्जालको रुपमा दाबी गरिँदै आएको सेयर च्याट निर्माताले कानुनी मुद्दा दर्ता गरेका छन्। सेयर च्याट भारतमा गुगल प्ले स्टोरको सातौँ स्थानमा छ।

'सेयर च्याट' का निर्माताले 'हेल्लो' आफ्नो एपको कपी गरिएको दाबी गरेका छन्। बाइट डान्सले यसलाई अस्वीकार गर्दै आएको छ। मुद्दा दिल्ली स्थित उच्च अदालतमा सुनुवाइका क्रममा छ।

पत्रकार, कलाकार र तथा समाचार माध्यमहरुलाई भेरिफाइड एकाउन्ट दिएको हेल्लोले राजनीतिक नेतृत्वलाई भने दिएको छैन। हेल्लोले आफ्नो उद्देश्य मनोरञ्जन क्षेत्रमा लक्षित सामाग्रीहरु भएको जनाएको छ। 'हेल्लोले भारतमा निर्वाचन प्रक्रिया सुरु भएसँगै कुनै पनि राजनीतिक सामाग्री राखिएको छैन,' बाइट डान्सले दाबी गरेको छ।

टिकटकमाथि पहिलो पटक भारतमा गत फेब्रुअरीमा तामिलनाडु सरकारले बन्द गर्ने घोषणा गरेको थियो। तर पछिल्लो समय भारतीय राजनीतिक नेतृत्वका भाषणहरुसमेत टिकटिक प्रयोगकर्ताले प्रयोग गर्न थालेपछि विवादमा आएको हो।

'टिकटकमाथिको प्रतिबन्धलेले म खुसी छ। एप मानिसलाई खुसी पार्न बनाइएको भए पनि यसले सीमा नाघिरहेको थियो,' भाजपाका तामिलनाडु प्रमुख सुन्दर राजनले भने।

तामिल नाडुले टिकटकमाथि प्रतिबन्ध लगाएपछि टिकटक निर्माताले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको थियो। सर्वोच्चले निवेदनमा माग भए बमोजिम फैसला कार्यान्वयनमा रोक नलगाए पनि २२ गते पुन सुनुवाइ गर्ने गरी फैसलालाई अगाडि बढाएको छ।

यसैबीच टिकटकले भारतीय प्रयोगकर्ताका ६ मिलियन भिडियोहरु हटाएको दाबी भारतीय वकिलहरुले दाबी गरेका छन्। मद्रास उच्च अदालतले यस सम्बन्धि अध्ययन गर्नका लागि स्वतन्त्र नियोग जनाएको छ।