छिचोलियो भेरी–बबई, ‘पानी लगे भनेर चित्त सानो गराउन पर्दैन’, ४८ मेगावाट कर्णालीले पाउनुपर्छ

बिजमाण्डू
२०७६ बैशाख ३ गते १८:२८ | Apr 16, 2019
छिचोलियो भेरी–बबई, ‘पानी लगे भनेर चित्त सानो गराउन पर्दैन’, ४८ मेगावाट कर्णालीले पाउनुपर्छ

सुर्खेत। राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ मार्ग छिचोलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा बटन थिचेर सुरुङ मार्गबाट करिब १५ मिनेटको समयमा टनेल बोरिङ मेसिन (टिबीएम) भेरी किनारमा निकालेका थिए। 

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ छिचोलिएपछि सम्बोधन गर्दै पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरिएको आयोजना सफलतापूर्वक सम्पन्न भएको बताए। भौगोलिक बनावटले निकै चुनौती रहेको यस आयोजनाको काम समयसीमा भन्दा अगावै सकिएको भन्दै खुशी व्यक्त गरे। 

यस प्रविधिबाट नेपालमा भित्रिएसँगै अब प्रयोग गर्दै जाने र लाभ पनि लिँदै जाने उल्लेख गरे। 

आयोजनाको सुरुङ सकिए लगत्तै प्रधानमन्त्री ओलीले बाँकी अन्य कामलाई गति दिन आग्रह गरेका छन्। 

‘अब तुरुन्त आयोजनाको बाँधको काम, पावर हाउस, आयोजना सक्नुभन्दा पहिले नै बाँके बर्दियाको खेतमा सिँचाई गर्नतर्फ लाग्नुपर्छ। खेतमा पानी पुर्‍याउनुपर्छ,’ उनले भने, ‘यी काममा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु।’

‘पानी लगे भनेर चित्त सानो गराउनु पर्दैन’
प्रधानमन्त्री ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जनताको सरकार भएकाले भोकै मर्न नदिने जवाफ दिएका छन्। ‘कहाँको जमिनमा पानी लाग्छ भन्ने होइन। नेपालको खेतमा पानी सिँचाई हुन्छ। कसको खेतमा धान फल्छ भन्ने होइन। नेपालको खेतमा धान फल्छ,’ प्रम ओलीले भने, ‘पानी लान्छन् भनेर चित्त सानो गराउनुपर्ने आवश्यकता छैन। नेपालमै पानी लाग्छ। नेपाल धनी हुन्छ। समृद्धि हुन्छ।’ 

बाँके र बर्दियालाई कर्णालीमै राख्नुपर्छ भन्दा आफ्नो पुत्ला दहन गरेको भन्दै जहाँको विकास भए पनि नेपालकै हुने उनले बताए। 

‘मैले संविधानसभामै भनेको थिएँ। बाँके र बर्दियालाई कर्णालीमै राख्नुपर्छ भनेर। त्यत्तिबेला मेरो पुत्ला दहन गरियो,’ उनले भने।
गरीबी हटाउने संकल्पमा अघि बढेको भन्दै गरीबी अब रहिरहन नसक्ने दावी गरे। 

‘गरीबी हटाउने संकल्पमा सधैँ गरीबी रहिरहन सक्दैन,’ उनले भने, 'कोही भोकै भए भन्नुस् हामी कोही कसैलाई भोकै मर्न दिन्नौँ। जनताको सरकार भएकाले भोकै मर्न दिइँदैन।’

देशको अर्थतन्त्रमाथि उठाउन पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा, ऊर्जा क्षेत्रमा ध्यान दिएर सरकार लागि परेको बताए। रोजगारी सिर्जना गर्ने र उत्पादकत्व वृद्धि गर्नतर्फ सरकार लागेको उनको भनाई छ। 

सुर्खेतका बाढी पीडित असारभित्र छानामुनि
त्यस्तै, अब सुर्खेतका बाढी पीडितलाई आगामी असारभित्र छानामुनि ल्याउने प्रधानमन्त्रीले उद्घोष गरेका छन्। विगत ५ वर्षदेखि पालमुनि बस्दै आएका बाढीपीडितलाई अब भुकम्प पीडित सरह सहयोग गर्ने बताए। 

‘२०७१ सालमा आएको बाढी पीडितलाई अब असारभित्रै छानामुनि ल्याउनुपर्छ भनेर लागेका छौँ,’ उनले भने, ‘४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत केन्द्र सरकारको समन्वयमा काम भइरहेको छ। अझै पनि केन्द्र सरकार सहयोग गर्न तयार छ। आवश्यक पर्छ भने भन्नु होला।’
त्यस्तै, असुरक्षित बस्तीलाई सुरक्षित बस्ती बसाउन सरकार लागि परेको बताए। 

छिट्टै हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने प्रधानमन्त्रीको दावी थियो। 

जलविद्युतमा ४९ प्रतिशत जनताको शेयर : ऊर्जा मन्त्री पुन 
त्यस्तै, कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले नेपाली बजेटमा चिनियाँ निर्माण कम्पनी अमेरिकी प्रविधिको प्रयोग गरी निर्माण गरिएको यो आयोजना ऐतिहासिक र गौरवशाली भएको बताए। यसरी आफ्नै लगानीमा काम गरेको यो पहिलो आयोजना भएको भन्दै थप आयोजनालाई अघि बढाउन हौसला मिलेको बताए। 

आयोजनालाई जनताको जलविद्यूत अयोजनामा राखिएको मन्त्री पुनको कथन थियो। 
‘४८ मेगावाट उत्पादन हुने यो आयोजना जनताको जलविद्युत आयोजनामा राखिएको छ,’ उनले भने, ‘यसमा ४९ प्रतिशत जनताको शेयर हुने छ।’ 

४८ मेगावाट विद्युत कर्णालीले पाउनुपर्छ : मुख्यमन्त्री शाही
त्यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरीको पानीबाट उत्पादन गरिएको विद्युत कर्णालीलाई दिनुपर्ने माग अघि सारेका थिए। 

‘आयोजनाबाट उत्पादन हुने ४८ मेगावाट विद्युत कर्णालीले पाउने विश्वास छ,’ उनले भने, ‘यहाँको पानी बाँके, बर्दियामा चामल, गहुँ भकारीमा हुने। तर, कर्णालीका नागरिक चामलको खोजीमा भौतारिन पर्ने नहोस्। चर्को मूल्य भएर भोकै बस्नुपर्ने अवस्था नहोस्। कर्णाली भौगोलिक, सामाजिक, आर्थिकरुपमा निकै पछाडि परेको छ। त्यसले गर्दा यहाँको जीवनस्तर उकास्न आवश्यक छ।’

उनले अब बाँके र बर्दियामा गएको पानीले चामल र गहुँ उत्पादन हुने भन्दै कर्णालीलाई सस्तो सुलभ किनेर खान सक्ने बनाउनुपर्ने बताए। 
सुर्खेतका बाढी पीडितको समस्या समाधानका लागि विशेष ध्यान दिन समेत केन्द्र सरकारलाई आग्रह गरेका थिए। मुख्यमन्त्री शाहीले आयोजना प्रभावित क्षेत्रमा भएका जग्गा लालपुर्जाबिहीन भएकाले तत्काल लालपुर्जाको व्यवस्था गर्न माग गरे। 

‘परियोजना प्रभावित तथा डुवान क्षेत्रका जग्गा लालपुर्जाबिहीन छन्। तत्काल लालपुर्जाको व्यवस्था गरियोस्,’ उनले भने, ‘प्रभावित जनताले पनि आयोजनाबाट लाभ लिने व्यवस्था होस्।’

त्यसैगरी, आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न आग्रह गरेका छन्। अहिले नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको छ।

त्यस्तै, कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल गौरवको आयोजना समय अगावै सफलता प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे। भेरीको पानी बाँके र बर्दियाको जमिन सिँचाई हुने भन्दै अब कर्णालीलाई सहुलियतपूर्ण खाद्यान्न उपलब्ध गराउने बताए। 

यस्तो छ आयोजनाको काम 
भेरीगंगा नगरपालिकाको बबईबाट सुरु भएको सुरुङ निर्माण कार्य आज भेरीगंगाको चिप्लेस्थित भेरी नदीमा गई टुंगिएको हो। पहिलो पटक प्रयोग गरिएको मानव रहित टीबीएम मेसिनले १२ किलोमिटर २१० मिटर सुरुङ पार गरी चिप्लेस्थित भेरी किनारमा निस्केको हो। टीबीएम मेसिनले २०७४ कार्तिक २० गतेबाट सुरुङ खन्ने काम थालेको थियो। टीबीएम मेसिनले दैनिक २०–२५ मिटरका दरले सुरुङ खन्ने काम गर्दै आएको थियो। सुरुङ मार्गका लागि आयोजनाको हाल सम्म झण्डै सात अर्ब रुपैयाँ खर्च भइसकेको निर्देशक सञ्जीव बरालको भनाई छ। 

नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत् तोकिएको समय एक वर्ष अगावै सुरुङ मार्ग सकिएको छ। अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टीबीएम मेसिनले सुरुङ खनेको थियो। 

आयोजनाको सम्झौता अनुसार २०७६ चैत १५ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो। तर, तोकिएको समय सीमा भन्दा करीब एक वर्ष अगावै सुरुङ मार्ग सकिएको हो। 

निर्माण कार्यको जिम्मा पाएको चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)ले २०७१ माघमा ठेक्का सम्झौता भई काम थालेको थियो। 

उक्त सुरुङमार्गबाट भेरी नदीको पानी प्रति सेकेन्ड ४० घनमिटर बबईमा खसालिने छ। पानीबाट करीब ४८ मेगावाट विद्युत उत्पादन गरिने योजना रहेको छ। त्यस्तै, आयोजनाबाटै बाँके र बर्दियाको करीब ५१ हेक्टर जमिन सिंचाई सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ। 

सुरुङ मार्गबाट पानी खसाल्नका लागि भेरीगंगाको चिप्लेमा एक सय १४ मिटर लामो, १४ मिटर अग्लो र ६ गेज सहितको ब्यारेज निर्माण गरिने आयोजनाले जनाएको छ। यसका लागि हात्तीखालमा विद्युत गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ। सिँचाई विभागले यो आयोजनाबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करिब ४ अर्ब, अन्य कृषितर्फको आम्दानी ३.१ अर्ब हुने दावी गरेको छ। 

आयोजना २०२० सम्म निर्माण कार्य सकाएर सञ्चालनमा ल्याउने योजना रहेको निर्देशक बरालको भनाई छ। 

आयोजनाको सुरुङ मार्गका लागि मात्रै १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको थियो। आयोजनाको सुरुवातमा करीब साढे १६ अर्ब लाग्ने अनुमान गरे पनि आयोजना सम्पन्न हुँदासम्म करीब ३३ अर्ब बढीको लागत पुग्ने अनुमान छ।