टेलिकमपछि भारतीय अर्बपति मुकेश अम्बानीको आँखा रियल स्टेटमा, मुम्बईमा बनाउँदैछन् मेगासिटी

बिजमाण्डू
२०७६ बैशाख २ गते १३:४१ | Apr 15, 2019


मुम्बई। भारतीय दूरसंचारको क्षेत्रमा क्रान्ति ल्याउने गरी जियो लञ्च गरेका मुकेश अम्बानी अब रियल स्टेट क्षेत्रमा पनि यस्तै प्रयोग गर्दैछन्।

Tata
GBIME
Nepal Life

रिलायन्स इन्ड्रस्ट्रिजको मुम्बई स्थित कार्यालय नजिकै नवी मुम्बईमा उनले विश्वस्तरको मेगासिटी बनाउने योजनामाथि काम गरिरहेका छन्।

हाल यसका लागि मुकेशले त्यस क्षेत्रको ४ हजार एकड जमिन समेत लिजमा लिइसकेका छन् जहाँ पाँच लाख मानिसको बसोबास हुने गरी मेगासिटी बन्दैछ।

विश्वकै १३ औं धनाढ्य मुकेशले जियो टेलिफोनका माध्यमबाट भारतको दूरसंचार क्षेत्रको छवि नै बदलिदिएका थिए। अब उनले रियल स्टेटमा हात हाल्दै मेगासिटीको ब्लुप्रिन्ट तयार गरिसकेका छन्। बिजनेस स्ट्याण्ड्डको एक प्रतिवेदनका अनुसार यो  मेगासिटी परियोजना रिलायन्सको हालसम्मकै सबैभन्दा ठूलो परियोजना हुने अनुमान गरिएको छ।

यो मेगासिटी सिंगापुरको मोडलमा डेभलप हुने बताइएको छ। यसमा एयरपोर्ट, सि पोर्ट तथा सि लिंक कनेक्टिभिटी समेत हुनेछ। यो शहरमा हजारौं कम्पनीहरु समेत हुने र पाँच लाख भन्दा बढी मानिसको लागि आवासको परिकल्पना गरिएको छ। यस परियोजना तयार हुन दश वर्ष तथा ७५ अर्ब डलर लाग्ने अनुमान गरिएको छ।

अम्बानीको यस परियोजनालाई महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको  छ। विश्लेषकहरुका अनुसार रियल स्टेटमा यस परियोजनाको असर त्यस्तै हुनेछ जस्तो दूरसंचार क्षेत्रमा जियोका कारण भएको छ।

प्रतिवेदनका अनुसार अम्बानीको मेगासिटी तयार भएपछि मुम्बईको तस्वीर पूरै बदलिनेछ। नयाँ शहर रिभर्स माइग्रेसनको कारक बन्न सक्ने बताइएको छ किनभने यहाँ रहेका घरहरुको मूल्य मुम्बईमा हाल रियल स्टेट कम्पनीहरुले बेच्ने घरहरुको तुलनामा निकै कम हुनेछ।

यो परियोजनाको सबैभन्दा ठूलो विशेषता के हो भने रिलायन्सले यो परियोजना डेभलप मात्र नभइ शहर तयार भएपछि त्यसमाथि पूर्ण प्रशासनिक नियन्त्रण समेत गर्ने बताइएको छ। यस्तो ऐतिहासिक परियोजनाका निर्माण गर्न लागेका कारण कम्पनीले 'स्पेशल प्लानिङ अथोरिटी लाइसेन्स' पाएको छ। प्रतिवेदनका अनुसार यो लाइसेन्सका कारण अम्बानीलाई नयाँ शहर डेभलप गर्ने लागत पनि कम पर्नेछ।

हाल ब्लु प्रिन्ट तयार भैरहेको यस परियोजनाको सपना भने रिलायन्स ग्रुपका संस्थापक धिरुभाई अम्बानीले ८० को दशकमै देखेका थिए। उनले पहिलोपटक मुम्बईको नवी क्षेत्रमा विश्वस्तरीय शहर बनाउने योजना बनाएका थिए।

रिलायन्सले विश्वस्तरको इकोनोमिक हब बनाउनकालागि गत महिना नै काम सुरु गरेको हो। कम्पनीले नवी मुम्बईको स्पेसल इकोनोमिक जोन सेजबाट २१ सय करोड भारतीय रुपैयाँ को प्रारम्भिक भुक्तानी गरी ४ हजार एकड जमीन लिजमा समेत लिइसकेको छ।

सेजले विश्वस्तरीय शहर डेभलप गर्नकालागि सन् २००६ मै यो जमीन छुट्याएको थियो।

नवी मुम्बईको सेजलाई मुकेश अम्बानी, जय कर्प, इन्डिया स्कील इन्फ्रास्ट्रक्चर लिमिटेड तथा सिटी एण्ड इन्ड्रस्ट्रियल डिभलपमेन्ट कर्पोरेसन सिड्को मिलेर प्रवर्द्धन गर्छन्।

यसमा सिड्कोको २६ प्रतिशत स्वामित्व छ भने बाँकी स्वामित्व अम्बानी, आनन्द जैनको जय कर्प तथा निखिल गान्धकीको स्कील इन्फ्रास्ट्रक्चरको रहेको छ।