नेतृत्वको गल्तिले अवसानतिर एफएनसिसिआइको छवी, ब्यक्तिगत स्वार्थ पूर्ति गर्न संस्थाको प्रयोग

बिजमाण्डू
२०७५ चैत्र २८ गते ११:४२ | Apr 11, 2019
नेतृत्वको गल्तिले अवसानतिर एफएनसिसिआइको छवी, ब्यक्तिगत स्वार्थ पूर्ति गर्न संस्थाको प्रयोग


काठमाडौं। नेपालको सबैभन्दा ठूलो सञ्जाल भएको व्यवसायिक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आज ५३औं वार्षिक साधारणसभा गर्दैछ।

Tata
GBIME
Nepal Life

५३ वर्ष पार गरेको व्यवसायिक संस्था जसले औद्योगिक व्यवसायिक क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्यो, त्यही संस्था अहिले सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको छ।

नेपालका विभिन्न राजनीतिक परिवर्तन र संकटमा समेत अब्बल भूमिका निर्वाह गर्दै आएको यो संस्था अहिले इतिहासकै कमजोर अवस्थामा छ। मुलुकको हरेक मुद्दामा महासंघको भूमिका अग्रस्थानमा हुने गर्थ्यो। माओवादी जनयुद्धले आक्रान्त बनाएका बेला होस् वा बन्द हड्तालको लामो श्रृंखलामा महासंघको भूमिकाले मुलुकलाई नै निकासतर्फ लैजान सहयोगी बन्ने गर्थ्यो। 

तर अहिले सरकारले निर्माण गर्ने आर्थिक नीतिदेखि व्यवसायिक नीतिसम्म एफएनसीसीआईको भूमिका सबैभन्दा कमजोर छ। 

सरकारले ल्याउने आर्थिक, मौद्रिक नीतिमा संस्थाले गुण र दोषका आधारमा धारणा प्रस्तुत गर्नै होइन स्वागत गर्न थालेको छ। व्यक्तिगत लाभहानीलाई संस्थागत रुपमा प्रयोग गर्न थालेकाले नै सरकारसँग महासंघ बलियो रुपमा प्रस्तुत हुन सकेको छैन। महासंघ आफ्नै संस्थागत सुशासन सबैभन्दा कमजोर छ। महासंघको कृषि उद्यम केन्द्रमा भएको भष्ट्राचारका कारण वहालवाला कोषाध्यक्षले राजीनामा दिएका छन्।

बहालवाला कोषाध्यक्षले राजीनामा दिएपछि आन्तरिक छानविनका लागि समिति समेत बन्यो। तर त्यो समितिले छानविननै गर्न सकेको छैन। सरकारबाट आएको अनुदान र विभिन्न गैरसरकारी संस्थाबाट आएको पैसा दूरुपयोग भएको मुद्दामा महासंघको अहिलेको नेतृत्वले गम्भिर रुपमा लिएको देखिँदैन। 

निजी क्षेत्रको संस्थामा भएको भष्ट्राचारको मुद्दामा समेत नेतृत्वनै मौन रहँदा यसले महासंघको साख थप गिरेको छ भने सरकारी तहमा हुने भष्ट्राचारको विषयमा प्रश्न उठाउने नैतिकता समेत गुमाएको छ। संस्थाभित्रको विकृत रुपले ५३ वर्षे इतिहास बोकेको महासंघको जग हल्लिसकेको छ। र, तत्कालै सुधार नगर्ने हो भने संस्था अवसानको प्रस्थान विन्दु समेत बन्नेछ।

अहिलेको नेतृत्वको गल्ति
महासंघको ५३ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्षको रुपमा भवानी राणा निर्वाचित भईन्। उनी निर्वाचित भएपछि महासंघले सुधारको अपेक्षा विपरित एकपछि अर्को गल्ति दोहोर्याइन्। 

उनको सबैभन्दा ठूलो गल्ती थियो-‘विधान संशोधनका लागि चण्डीराज ढकाललाई संयोजक बनाउने।’ ५३ वर्षको इतिहासमा विधान संशोधन गरेर पहिलो पटक वरिष्ठ उपध्यक्ष स्वत: अध्यक्ष बनाउने गरि विधान संशोधन भएको थियो। त्यही संशोधनको जगमा उभिएर राणा अध्यक्ष बनेकी थिईन्।

तर उनी अध्यक्ष भएको एक वर्ष पनि नवित्दै त्यही प्रावधान उल्टाउनका लागि विधान संशोधन समिति बनाउन मार्गप्रशस्त गरिदिईन्। विधान संशोधन समिति बनाउन मार्गप्रशस्त गर्ने उनको भूमिकाले महासंघ अस्थिरताको दलदलमा फसेको छ। ढकालको व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम राणा बनिन्। यो गल्तीबाट उनी भाग्न पाउँदिनन्। कारण हो, ’महासंघ अध्यक्षतात्मक प्रणालीबाट निर्देशित हुन्छ। उनले महासंघलाई अस्थिरतामा लैजान रोक्ने कुनै प्रयास गरिनन्।’ 

राणाले हाकेको बेला महासंघ नीतिगत अस्थिरतामा मात्रै फसेन भष्ट्राचारको मुद्दामा पनि तानियो। राणा आफै कृषि उद्यम केन्द्र हाकेर आएकी भएपनि त्यहाँको विकृति सुधारको काम गरिनन्। केन्द्रमा दोहोरो ब्यालेन्ससीट बनाउनेदेखि फर्जी बिललाई समेत राणाले सदर मात्रै गरिन्।

राणाले भष्ट्राचार नियन्त्रणको प्रयास गरिनन् बरु संचारमाध्यममा सूचना दिएको अडियो सार्वजनिक गर्दै वहालवाला कोषाध्यक्षलाई राजीनामा गर्न बाध्य पारिन्। उनले यो मुद्दालाई थामथुम पार्न महासंघभित्रकै पदाधिकारी राखेर छानविन समिति बनाइन्। तर त्यो छानविन समितिले अहिलेसम्म पनि कुनै प्रतिवेदन दिएको छैन। 

राणाले छानविन समिति बनाउनुमा तत्कालका लागि थामथुम पार्ने प्रयास मात्रै रहेको प्रष्ट देखिन्छ। अध्यक्ष राणा नीतिगत वहसमा समेत नराम्रोसँग चुकिन्। खुला बजार प्रतिस्पर्धाको हिमायती रहेको संस्थालेनै बैंक ब्याजदर महँगो भएको भन्दै सरकारलाई हस्तक्षेप गर्न उकास्यो। 

पूर्वबाट एकाएक उदाएको ब्याजदर आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारले ब्याजदर नियन्त्रणका लागि अग्रसर हुनुपर्ने धारणा सार्वजनिक गरिन्। खुला बजार अर्थनीतिबाट फष्टाएको वित्तीय क्षेत्रलाई धरासायी बनाउने उद्देश्यसहित आएको एजेण्डामा उनले सहीछाप गरिन् र महासंघको इतिहासलाई संकटमा पार्ने गम्भिर गल्ति गरिन्। 

महासंघको साख जोगिएला?
महासंघ इतिहासकै कठिन अवस्थामा भएपनि यसको साख जोगाउने दायित्व वर्तमान नेतृत्व, पूर्व अध्यक्ष र यसमा आवद्ध रहेका उद्योगी/व्यवसायीको भूमिकामा निर्भर गर्छ। साखनै नभएको कुनै पनि संस्थामा गोलबन्द हुनुको अर्थ रहँदैन। त्यसैले अरुको स्वार्थका लागि संस्थालाई नै धरासायी बनाउन भूमिका खेल्नु जायज हुँदैन।

व्यवसायी भनेको दुई कदम अगाडि सोचेर उद्योग/व्यवसाय लगाउँछन्। तर त्यही संस्थामा रहेका उद्योगी/व्यवसायीले भने संस्था अवसानतर्फ लाग्दा साथ दिनु उचित होइन। संस्थागत रुपमा भएका केही निर्णयलाई सच्चाउने जिम्मेवारी अहिलेकै पदाधिकारी र सदस्यहरुलाई छ। महासंघलाई अस्थिर बनाएर फाइदा लिने समूहको स्वार्थलाई रोक्न सके संस्था जोगिन्छ। अहिले भइरहेका एकपछि अर्को गल्तिलाई सच्याउँदै यही साधारणसभाबाट सुधारको बाटोमा लैजानसक्ने राम्रो अवसर पनि उत्तिकै छ।

यो विधान संशोधन गर्ने साधारणसभा नभएपनि यसले विधान संशोधनका कारण ध्रुवीकृत हुन खोजेको माहौललाई एकतामा लैजान सहयोग गर्छ।