मोट्रेक्सको कडा शर्त विरुद्ध नाडा, सात वर्ष अरु कम्पनीलाई प्लान्ट राख्न नदिने शर्त अस्विकार्य

बिजमाण्डू
२०७५ चैत्र १९ गते १५:४१ | Apr 2, 2019


काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)ले मोट्रेक्सले राखेको शर्तलाई मानेर गाडी एसेम्बल्डको स्वीकृति नदिन आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

लगानी बोर्डबाट गाडी एसेम्बल्डका लागि विदेशी लगानी स्वीकृति पाएको मोट्रेक्सले सात वर्ष भेहिकल म्यानिफ्याक्चरिङ एसेम्बल्ली प्लान्ट दिन नपाउने कडा शर्त राखेको छ।नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालसहितको टोलीले बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई भेटेर कुनै एउटा कम्पनीलाई एकाधिकार कायम गर्नेगरि एसेम्बल्ड प्लान्ट राख्न नदिन माग गरेको हो।

‘गाडी एसेम्बल्डका लागि मोट्रेक्सले सात वर्ष अरु कम्पनी आउनै नदिने गरि प्रस्ताव गरेको हामीले सुन्यौं। कम्पनीको प्रस्तावकै आधारमा स्वीकृति दिएमा एकाधिकार कायम हुन्छ। अरु कम्पनीलाई छेकेर एउटै कम्पनीलाई मात्रै प्लान्ट राख्न दिएमा त्यसले मुलुक र उपभोक्ता दुबैलाई फाइदा गर्दैन्’ नाडाका अध्यक्ष दाहालले बिजमाण्डूसँग भने,’कुनै कम्पनीले एसेम्बल्ड प्लान्ट लगाउँछ भने त्यसमा हाम्रो कुनै विमति छैन। तर अर्कोको अधिकार हनन गर्न पाइदैन।’

 उनका अनुसार अरु कम्पनीलाई पनि बराबरी हैसियतमा उद्योग राख्ने वातावरण तयार गर्नुपर्छ। दाहालले विदेशी कम्पनीलाई उद्योग स्थापना गर्न दिँदा स्वदेशीलाई समेत बराबरनै सुविधा दिनुपर्ने बताए।‘हामीले पनि यहाँ उद्योग लगाउन सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं। स्वदेशी कम्पनीले जोइन्ट भेन्चरमा लगानी गर्ने तयारी गरिरहेका छन्। ती कम्पनीले समेत मोट्रेक्सले पाएजस्तै सुविधा दिइनुपर्छ’ दाहालले भने।

उनले गाडी एसेम्बल्ड गर्न आएको कम्पनीले ट्रेडिङ समेत गर्न पाउनुपर्ने शर्त राखेको जानकारी आएको बताउँदै कुनै पनि विदेशी कम्पनीले व्यापार गर्न नपाउने कानुनी व्यवस्थालाई समेत बोर्डले हेर्ने अपेक्षा राखे।‘हामीले कुनै पनि कम्पनीलाई गाडी एसेम्बल्ड रोक्न खोजेका होइनौं। कम्पनीले राखेको केही माग अनपेक्षित लागेर बोर्डसँग स्पस्ट हुन खोजेका हौं’ उनले भने,’यसमा बोर्डले राम्रो अध्ययन गरेर उपयुक्त निर्णय गर्नेमा विश्वस्त छौं।’ मोट्रेक्सले बोर्डमा बुझाएको प्रस्तावमा सात वर्षपछि पनि ११ अर्ब रुपैयाँ भन्दा ठूलो एसेम्बल्ड प्लान्टलाई मात्रै अनुमति दिनुपर्ने शर्त समेत राखेको छ। त्यसमा पनि विदेशी लगानीलाई मात्रै प्लान्ट राख्न अनुमति दिनुपर्ने शर्त राखेको छ।

कम्पनीले पेश गरेको प्रस्तावका बारेमा परियोजना लगानी सम्झौंतामा नेगोसियसन हुनेछ। यो कम्पनीसँग नेगोसियसनका लागि बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संयोजक रहेको समिति समेत बनाइएको छ। समितिमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन र लगानी बोर्डका सहसचिव सदस्य छन्। स्रोतका अनुसार कम्पनीले चाँडैनै नेगोसिएसन टुँग्याउन बोर्डलाई दबाब दिएको छ।

मंगलबार नाडा टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नाडाका निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ, अग्नि इन्कर्पोरेटेडका निर्देशक अर्जुन शर्मा, गो फोर्डका निर्देशक आकाश गोल्छा, सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी लगायत थिए।