ग्यास उद्योगीले भने-‘ खर्च बढेको बढ्यै छ, ६ वर्षअघि कै कमिशनमा कसरी ग्यास बेच्नु?’

बिजमाण्डू
२०७५ चैत्र १३ गते ११:१४ | Mar 27, 2019


काठमाडौँ। समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन्।

Tata
GBIME
Nepal Life

उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि आवश्यक अन्य खर्च बढेको भए पनि सरकारले सञ्चालन खर्च वृद्धि नगर्दा व्यवसाय धरासायी बनेको बताए ।नेपाल एलपी ग्यास उद्योग सङ्घले मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सङ्घका अध्यक्ष गोकुल भण्डारीले ६ वर्षदेखि ग्यासको कमिशन नबढेको बताउँदै उद्योग संचालन गर्न समेत कठिन भएको बताए।

‘छ वर्षअघि तोकिएको यसप्रकारको सञ्चालन खर्चले उद्योग चलाउन निकै कठिन भएको छ। यसअवधिमा उद्योगको सञ्चालन खर्च ठूलो दरले वृद्धि भएकाले खर्च समयानुकूल वृद्धि गरिनुपर्छ,’उनले भने,’हामीले यो अवधिमा संविधान सभाको निर्वाचन र तीन तहका निर्वाचनका लागि घाटानै सहेर भएपनि ग्यास बिक्री गर्यौं। तर अब हामीले संचालननै हुन नसक्ने अवस्था आएको छ।’उनका अनुसार ६ वर्षको अवधिमा विभिन्न वस्तुको मूल्य आकासिएको र श्रमिकको समेत तलब ठूलो वृद्धि भइसकेको अवस्थामा धान्नै नसक्ने परिस्थिती आएको छ।
 
 संघको अगुवाईमा एक महिना अघि विभिन्न ११ बुँदे माग राख्दै हड्तालको घोषणा गरेको थियो। संघले ग्यास डेलिभरी अर्डर(पिडियो)नै बन्द गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबको संयोजकत्वमा भएको वार्तामा १५ दिनभित्र उद्योगीको माग संबोधन गर्ने प्रतिवद्धता जनाएका थिए। निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्व गठित कार्यदल उद्योगीको मागका बारेमा अध्ययन गरिरहेको छ।

ग्यास बिक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले ६ वर्षसम्म पनि कमिशन नबढ्दा बिक्रेता संकटमा परेको बताउँदै अब पनि माग संबोधन नभए ग्यास व्यवसायनै नगर्ने चेतावनी दिए।‘हामीले ढुंगामुढा र बन्द गर्ने भनेका होइनौं। व्यवसाय चलाउन सकिएन अब गर्दैनौं भन्न पाउँछौं।’उनले भने,’६ वर्षअघिकै भाउमा कुनै वस्तु तथा सेवा खोज्यो भने हामीले पाउँछौं। तर हामीले ६ वर्ष अघिकै कमिशनमै काम गर भनेर भन्नु कति उपयुक्त होला?’(राससको सहयोगमा)