धनीले सम्पत्तिको असमान वितरणको बिरोध गर्न किन नपाउने?, गरिबी घटाउन धनीको पनि भूमिका छ

बिजमाण्डू
२०७५ चैत्र ११ गते १५:२९ | Mar 25, 2019
धनीले सम्पत्तिको असमान वितरणको बिरोध गर्न किन नपाउने?, गरिबी घटाउन धनीको पनि भूमिका छ


जब धनाढ्यहरुले 'सम्पत्तिको पुनर्वितरणको' पक्षमा कुरा गर्छन् कन्जरभेटिभ वा राइट विङका अनुयायीहरुले सँधै ति धनाढ्यहरुलाई दोहोरो चरित्रको लेबल लगाउने गर्छन्।

Tata
GBIME
Nepal Life

'जब तिमीहरु समानताका लागि यति धेरै सोच्छौ भने किन आफ्नो आम्दानी उनीहरुसँग बाँड्दैनौ त?' कन्जरभेटिभ विङबाट धनाढ्यहरुले सँधै खेप्नुपर्ने बचन हो।

'कन्जरभेटिभ विङ'का अनुयायीले धनाढ्यहरुमाथि लगाउँदै आएको यस्तो लाञ्छनाको असर निकै शक्तिशाली हुन्छ किनभने कोही पनि मानिस आफूलाई  हिप्पोक्रेट भनेको रुचाउँदैनन्। धनाढ्यहरुलाई पनि यो सुन्न मन पर्दैन।

यसको बिकल्पमा उनीहरुसँग केवल केही छनौट हुन सक्छन् – कि त आफ्नो कमाइको केही अंश उनीहरुलाई दिनु र असमानता बिरुद्ध क्याम्पेन चलाउनु वा यसबाट पर चुपचापै बस्नु। धेरैजसोले दोस्रो बिकल्प अपनाउँछन्।

तर यसरी चुपचाप बस्नु दूर्भाग्यपूर्ण हुन जान्छ किनभने वैश्विक असमानता असैह्रय स्तरमा पुगिसकेको छ। धन कुनै एक परिवार, समूह वा ब्यापारिक घरानाको मुठ्ठीभित्र छ। असमानता शासन जस्तो भैरहेको छ जहाँ केही मानिसहरु जन्मदै धनी जन्मन्छन् र केही ब्यक्ति यस धर्तीमा आउनासाथ गरिब कहलाइन्छन्।

यस्तो किसिमको अन्याय यति कुरुप छ कि यसबारे सोचेर वा बोलेर मात्रै हुने विषयबस्तु होइनन् यी त यस्ता बिषय हुन् जसले समाधान तर्फ पनि  सही कदम चाल्न हामीलाई प्रेरित गरोस्।

तर धनाढ्य भनिने समाजकै एक प्रभावशाली बर्गलाई आफ्नो असहमती प्रकट गर्नबाट रोक लगाउँदा यस प्रक्रियाको पहिलो कदममा नै अवरोध उत्पन्न भैरहेको छ।  

अक्सफामले हालै सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार विश्वका २६ जना धनाढ्यहरुसँग त्यति नै सम्पत्ति छ जति सम्पत्ति विश्वका तीन अर्ब असी करोड मानिसहरुसँग छ। अक्सफामका अनुसार विश्वका अर्बपतिहरुको संयुक्त सम्पत्ति गत वर्षभन्दा ९ सय अर्ब डलरले बढेको छ अर्थात दैनिक अढाई अर्ब डलरले बढिरहेको छ।

यसकारण धनको असमान वितरण पनि बढिरहेको देखिन्छ। वर्ल्ड इन्इक्वालिटी रिपोर्ट अर्थात् विश्व असमानता प्रतिवदेन २०१८ का अनुसार अमेरिका, चीन, रुस र भारतमा सम्पत्तिको अधिक प्रवाह भएको देखिन्छ।

वास्तवमा कुनै निश्चित प्रकारको असमानता अर्थतन्त्रको अकाट्य सत्य हो। तर वर्तमान असमानताले 'गोल्डिलक्स लेभल' पार गरिसकेको छ।

सम्पत्ति तथा आयको असमानतालाई कसरी मापन गर्ने भन्ने बारेमा निरन्तर बहस समेत चलिरहेको छ। विकासशील देशका चरम गरिबी रहेको सुकुम्बासी बस्तीमा घुम्दा,  धनी देशमा रहेका गरिब र घरबारबिहीनहरु देख्दा र धनाढ्यहरुका घर र जीवनशैली हेर्दा र यी सबैको तुलना गर्दा वर्तमान अवस्थालाई स्पष्ट सम्बोधनको आवश्यकता देखिइसकेको छ।

खासमा गरिबमाथि सबैको ध्यान जानु आवश्यक छ। यस विषयमा धनाढ्यहरुले बाम झुकाव राखेर आफ्नो बिचार पोख्दा कन्जरभेटिभ विङले लगाउँदै आएको 'हिप्पोक्रेट'को आरोपप्रति चुपै रहनु बेस लाग्ला तर  यो सही भने होइन।

'तिमी धनी हुन सक्छौ।सुपर रिच बन्न पाउँछौं। र आफ्नो धन  अरुलाई बाँड्न वा खर्च गर्न चाहन्नौ भनेपनि जुन प्रणालीले तिमीलाई यति धेरै कमाउने छुट दिइरहेको छ त्यसको बिरोध गर्ने वा त्यसलाई गलत हो भन्ने धारणा पनि राख्न पाउँछौ। यसो भन्दैमा तिमीलाई कसैले पनि दोहोरो चरित्रधारी वा हिप्पोक्रेट भन्न मिल्दैन।'

विश्वका उम्दा लेखक तथा दार्शनिकहरुले पनि यसको पक्षमा बोलेका छन्। बेलायती दार्शनिक बर्नाड रसेलले स्पष्ट रुपमा भनेका छन् कि उच्चकोटीको सिगार पिउँदैमा कसैलाई पनि समाजवादी हुनबाट रोक्न मिल्दैन।

अमेरिकी अर्थशास्त्री पौल स्यामुलसनले सन् १९८३ मा  'माइ लाइफ फिलोसफी' मा यस्तै लेखेका छन्।

स्यामुयल आफै पनि अर्थशास्त्रको कोर्सबुक लेखेर धनी भएका थिए।  दशकौंसम्म उनले लेखेको अर्थशास्त्रको किताब विश्वविद्यालयमा पढाइ हुन्थ्यो तर उनी आफ्नो बिचार र अडानमा प्रष्ट थिए। उनले भनेका छन्- 'म सँधै असमानतालाई घृणा गर्छु।'

स्यामुयलले यो सँगै 'आयले आफूलाई मध्यमस्तरबाट माथि पुर्याएकोमा धनसँग जोडिनुमा कुनै पश्चाताप नभएको' पनि बताएका छन्।

उनले खुला रुपमा के स्वीकार गरेका छन् भने 'जहाँ कर वा सम्पत्तिको पुनर्वितरणको प्रश्न उठ्छ त्यहाँ  उनी सँधै आफ्नै आर्थिक हित बिरुद्ध भोट गर्छन्।'

असमानताको बिरुद्ध चर्को आवाज उठाउने धनाढ्यका रुपमा फ्रेडरिक एंगेल्स प्रसिद्ध छन् जसका बुवा ठूलो टेक्सटाइल फ्याक्ट्रीका मालिक थिए। तर युवा फ्रेडरिक भने बालश्रम तथा मजदुरहरुको पीडाबाट प्रभावित भइ असमानताका प्रखर आलोचक बने।

तर पछि एंगेल्स फेरि आफ्नो ब्यवसायमा फर्किए ताकि आफ्ना साथी कार्ल मार्क्सको सिद्धान्तलाई सहयोग गर्न सकियोस् त्यसकालागि उद्योगमा हुने मजदुरमाथिको बिभेद र मालिकले लिने चरम नाफाको अन्त्य गर्न सकियोस्।

जसले जे सुकै भनुन् दार्शनिक मार्क्सले अघि सारेको सिद्धान्त र प्रस्तावले  सामाजिक असमानता घटाउन  पुर्याउन चाहेको योगदानको सरहाना गर्नैपर्छ।

आशा जिवितै छ। केही धनाढ्यहरुले खुला हृदयले चरम असमानता हटाउने पक्षमा सहयोगी बनिरहेका छन्। उनीहरु आफूमाथि लाग्ने हिप्पोक्रेसीको आरोपबाट नडराइ त्यसभन्दा माथिको ठूलो उद्देश्य प्राप्त गर्न  इच्छुक देखिन्छन्। र यसले उनीहरुको मनोबललाई अझै शक्तिशाली बनाइदिएको छ।

प्रगतिशिल ब्यक्तिहरु जो आफ्नो आयको लाभ अरुलाई समेत बाँड्न चाहन्छन् उनीहरु प्रशंसायोग्य हुन्छन् नै। तर  आयको वितरण गर्न नचाहनेहरुले पनि विश्वको मुख्य विषय बनिसकेको र थप दबाब दिन आवश्यक मुद्दा बनेको 'चरम असमानता'का बिरुद्ध सामुहिक 'एक्सन' लिने विषयमा भने मौन बस्नु हुँदैन।  

(कोर्नेल युनिभर्सिटीका अर्थशास्त्रका प्रोफेसर बसु विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री समेत हुन्।)