जापान कामदार पठाउने बाटो औपचारिक रुपमा खुल्यो, मासिक तलब ३ लाख रुपैयाँसम्म

बिजमाण्डू
२०७५ चैत्र ११ गते १३:१५ | Mar 25, 2019
जापान कामदार पठाउने बाटो औपचारिक रुपमा खुल्यो, मासिक तलब ३ लाख रुपैयाँसम्म

काठमाडौं। नेपाल र जापान सरकारबीच जापानमा नेपाली कामदार पठाउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई देशका प्रतिनिधिहरूले आज ललितपुरस्थित होटेल हिमालयमा एक कार्यक्रमका बिच कामदार साझेदारीसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

Tata
GBIME
Nepal Life

जापानले १४ क्षेत्रमा कामदार लैजाने छ। कामदार पठाउन सरकारले मन्त्रालयभित्र छुट्टै संयन्त्र बनाउने छ। मासिक तलब ३ लाख रुपैयाँसम्म हुने छ।

कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत तथा संभार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्टस् उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलोक्ट्रोनिक्स र सुचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ ब्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाइ उद्योगमा श्रमिक लिने छ। 

सरकारका तर्फबाट  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा श्रम मन्त्री गोकर्ण बिष्ट पनि उपस्थित थिए।

पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेश मन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो। 

दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका जापानी परराष्ट्र मन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको थियो। जापानले त्यहाँको सांसदबाट कामदार भर्ना सम्बन्धी नयाँ कानुन पारित गरेको छ। उसले नेपाललाई कामदारको स्रोत देशकोरुपमासमेत राखेको छ। 

चैत ४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साझेदारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम सचिवलाई दिने निर्णय गरेको थियो।