नबिल र इन्भेष्टमेन्टको जस्तै एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर किनबेच गराउने तयारी 

बिजमाण्डू
२०७५ चैत्र ११ गते ११:३४ | Mar 25, 2019
नबिल र इन्भेष्टमेन्टको जस्तै एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर किनबेच गराउने तयारी 

काठमाडौँ।  एभरेष्ट इन्स्योरेन्सले निष्कासन गरेको संस्थापक हकप्रद शेयर साधारणजस्तै गरी कारोबार हुने भएको छ। 

Tata
GBIME
Nepal Life

संस्थापक शेयर खरिद/बिक्री गर्ने झन्झटिलो प्रक्रियालाई सरलिकृत गर्न बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले नयाँ ब्यवस्था गर्न लागेको छ। पछिल्लो पटक हकप्रद शेयरमार्फत कम्पनीमा थुप्रै संस्थापक भित्रिएकाले उनीहरूलाई छुट्टै व्यवस्था गर्न लागिएको समितिका उप निर्देशक सम्भाराज लामिछानेले जानकारी दिए।

लामिछानेका अनुसार  समितिले दोस्रो बजारमा कारोबार गराउने मोडेल बारे छलफल गरिरहेको छ। कारोबार मोडेल तयार भएलगत्तै दोस्रो बजारमा कारोबार सूचारु गर्न आग्रह गरिने लामिछानेले जानकारी दिए।

यसअघि कुनैपनि कम्पनीमा निश्चित संस्थापक शेयरधनी हुने गरेका थिए। तर एभरेस्ट ईन्स्योरेन्स कम्पनीका हकमा साधारण शेयरधनी नै हकप्रदमार्फत संस्थापक भएपछि संस्थापकको सङ्ख्या बढेको छ। 

१० कित्ता शेयर हुने शेयरधनीसमेत संस्थापक भएपछि उनीहरूको पहिचान गर्न समेत समितिलाई अप्ठ्यारो भएको छ। सानो सानो कित्तामा खण्डीकृत शेयरलाई सहज कारोबार गराउनसमेत समितिले छुट्टै व्यवस्था गर्न लागेको हो। 

दोस्रो बजारमा संस्थापक शेयर कारोबार गर्न थुप्रै प्रकृया पुर्याउनु पर्छ। सानो सानो कित्तामा खण्डिकृत संस्थापक शेयर कारोबार गर्न असुविधा हुने गुनासो लगानीकर्ताले गर्दै आएका छन्। 

समितिले दोस्रो बजारमा नेपाल इन्भेस्टमेन्ट बैक र नबिल बैकको संस्थापक शेयर कारोबार भए जसरी नै कारोबार गराउने योजना बनाएको छ। लगानीकर्ताले क्रस होल्डिङको शेयर भएका कारण नबिल पी र एनआइबिएल पिओ दोस्रो बजारमा सहजै कारोबार गर्दै आएका छन्। यस्तै मोडलमा जाने योजना समितिको छ।

कम्पनीले गत फागुन १३ गते नेपाल स्टक एक्सचेन्जमा पछिल्लो पटक निष्कासित हकप्रद शेयरलाई संस्थापक शेयरका रूपमा सूचीकृत गरेको छ। प्रति शेयर १०० रुपैयाँको दरमा १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर संस्थापक शेयरका रूपमा दोस्रो बजारमा सूचीकृत गरेको छ। 

शेयर सूचीकृत भएपनि दोस्रो बजारमा कारोबार भने नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअघि नेप्सेमा १० लाख १२ हजार पाँच सय कित्ता संस्थापक शेयर दोस्रो बजारमा सूचीकृत थिए। 

कम्पनीले शेयर संरचनामा मिलाउन हकप्रदमार्फत संस्थपाक शेयर बिक्री गरेको थियो।  हकप्रद निष्कासनपछि कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत पुगेको छ भने सर्वसाधारणतर्फ ४८.७८ प्रतिशत रहेको छ। 

चुक्ता पूँजीको हकमा २७ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अझै बिमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुगेको छैन। निर्जीवन बीमा कम्पनीले कम्तिमा एक अर्ब चुक्ता पूँजी पुर्याउनुपर्छ। 

कम्पनीले गत मंसिर १६ गतेदेखि एक कित्ता शेयर बराबर १.०५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। यो शेयरमा आवेदन दिएका साबिक शेयरधनी संस्थापक भएका हुन्। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।