सिसिडी ब्यवस्थापन गर्न नसकेर बैंकहरुमा रोइलो, ८ वटा बैंकको ८१%, अन्तर बैंक सापटीमा दबाब

बिजमाण्डू
२०७५ चैत्र ११ गते ११:०१ | Mar 25, 2019
सिसिडी ब्यवस्थापन गर्न नसकेर बैंकहरुमा रोइलो, ८ वटा बैंकको ८१%, अन्तर बैंक सापटीमा दबाब


काठमाडौं। अधिकांस बैंकको कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत हाराहारी पुगेपछि अन्तर बैंक सापटीमा दबाब देखिएको छ। अनिवार्य तरलता अनुपात (सिआरआर) का लागि सापटी सहजै पाइए पनि सिसिडी ब्यवस्थापनका लागि भने पाउन छाडेको छ।

Tata
GBIME
Nepal Life

बैंकरका अनुसार, अहिले सिआरआर प्रयोजनका लागि सापटी दर ४ देखि साढे चार प्रतिशतमा चलिरहेकोछ । सिसिडी ब्यवस्थापनका लागि चलाइने सापटीको ब्याज भने साढे  ६ प्रतिशत हाराहारी छ।

राष्ट्र बैंकले अन्तर बैंक सापटीबाट पनि सिसिडी ब्यवस्थापन गर्न सकिने ब्यवस्था गरेपछि यतातिर दबाब देखिएको हो। अहिले राष्ट्रिय बाणिज्य बैंकले सापटी उपलब्ध गराइरहेको छ। बाँकी अधिकांस बैंक भने सापटी माग गरिरहेका छन्।

माघसम्मको तथ्यांक अनुसार औषत सिसिडी ८०.९५ प्रतिशत छ। ८ वटा बैंकको सिसिडी अहिले पनि ८१ प्रतिशत माथि रहेको छ। त्यही भएर यस्ता बैंकले अन्तर बैंक सापटी मागेर सिसिडी ब्यवस्थापन गर्न खोजिरहेका छन्। 

'राष्ट्रिय बाणिज्य बैंकले सापटी दिइरहेको छ। नेपाल बैंक अघिल्लो सातासम्म दिन तयार हुन्थ्यो, तर अहिले रोकिएको छ' एक बैंकरले भने, 'उत्पादनमूलक क्षेत्रको कतिपय ऋण सिसिडीमा गणना गर्नु नपर्ने भएकाले कृषि विकास बैंकलाई पनि राहत पुगेको छ।'

उनका अनुसार, नबिल र स्ट्यान्डर्ड चार्टर्ड केही सहज देखिए पनि बाँकी बैंकहरु सापटीबाट आफूलाई ब्यवस्थापन गर्न खोजिरहेका छन्। सिसिडी नाघ्न थालेकाले अहिले कतिपय बैंकले ऋण नै ठप्प गरेका छन्।