हेलिकोप्टरको सीट नघटाउने व्यवसायीको अडान, ‘सीट झार्दा दुर्घटना नहुने जिम्मा क्यानले लिन्छ?’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ चैत्र १० गते १७:२६ | Mar 24, 2019


काठमाडौं। पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जना भिभिआइपी चढेको हेलिकोप्टर दुर्घटनापछि नेपाल नागरिक उड्ययन प्राधिकरणले सबै हेलिकोप्टरबाट एउटा सीट हटाउने निर्णय गर्यो।

Tata
GBIME
Nepal Life

 सबै हेलिकोप्टर संचालकलाई तीन साता अघि बोलाएर ५ यात्रु र एक पाइलट मात्रै राख्न निर्देशन दियो। यो निर्देशनप्रति हेलिकोप्टर सोसाइटी नेपालले भने असन्तुष्टी जनाएको छ। सोसाइटीका महासचिव योगराज कँडेलले सीट संख्या घटाउने निर्णयले दुर्घटना नहुने जिम्मा प्राधिकरणले लिनुपर्ने बताए।

'एयरबस कम्पनीले यो टाइपको हेलिकोप्टर उत्पादन गर्नुअघि नै सबै परिक्षण गरेर सातजना (सिक्स प्लस वान)को क्षमता अनुसार बनाएको हो। यो टाइपको हेलिकोप्टरलाई छ जनाको क्षमतामा झार्दा दुर्घटनानै नहुने जिम्मा प्राधिकरणले लिन सक्छ? उनले प्रश्न गर्दै भने, ‘यस्ता हचुवाको भरमा निर्माता कम्पनीले बनाएको म्यानुअल विपरीत निर्णय गर्नु जायज होइन।‘

गत शुक्रबार (चैत ८ गते ) सीट संख्याका बारेमा छलफल गर्न प्राधिकरणले हेलिकोप्टर व्यवसायी, हेलिकोप्टर सोसाइटी नेपालका उच्चपदाधिकारी र हेलिकोप्टर चालकलाई बोलाएको थियो। यही छलफलमा कँडेलले प्राधिकरणको निर्णयप्रति असन्तुष्टी जनाएका थिए।

मन्त्री अधिकारीसहितको हेलिकोप्टर एयर डाइनेष्टीको नाइन एन एएमआइ एएस ३५० विथ्रीइ कलसाइन हेलिकोप्टर गत फागुन १५ गते पाथीभरा मन्दिर नजिकै दुर्घटना भएको थियो। यो दुर्घटना हुनुमा हिमपात र हाइ अल्टिच्यूटमा समेत धेरै तौल भएर दुर्घटना भएको अनुमानका आधारमा सीट संख्या घटाउने निर्णय गरिएको थियो।

अध्ययन सुरु
हेलिकोप्टर दुर्घटनाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानविन समितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ।अध्ययनका क्रममा समितिले फ्रान्सको इन्भेष्टिगेसन एजेन्सी र हेलिकोप्टर उत्पादक कम्पनी एयरबस कम्पनीसँग समन्वय गर्न सुरु गरिसकेको छ।

छानविन अध्ययनका लागि फ्रान्सबाट इन्भेष्टिगेसन एजेन्सीका पदाधिकारी र एयरबस कम्पनीबाट प्राविधिक आउँदैछन्।'हामी केही साता अघि घटनास्थलमा पुगेर आइसकेका छौँ। त्यो बेलाको मौसमको अध्ययन, तथ्यांक संकलनको काम सुरु भइसकेको छ। अहिलेसम्मकै अफ्ठेरो ठाउँमा दुर्घटना भएको छ।हेलिकोप्टरमा जडान गरिएको भेहिकल एण्ड मल्टीफङ्सन डिस्प्ले (भिइएमडी) मा राखिएको 'चिप' ल्याउन सकिएको छैन। घटनास्थलमा हिँउ पग्लिएपछि प्राविधिक टोलीलाई फेरि पठाउनेछौँ। यदि भेटियो भने त्यो उपकरणलाई अनुसन्धान प्रयोजनका लागि फ्रान्स पठाइनेछ।' मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेले भने।