भौतिकमन्त्री रघुविर महासेठको एक वर्षे प्रगतिमा झुठैझुठ, सिन्डिकेट हटाएको दाबी पनि

बिजमाण्डू
२०७५ चैत्र १० गते १४:५५ | Mar 24, 2019
भौतिकमन्त्री रघुविर महासेठको एक वर्षे प्रगतिमा झुठैझुठ, सिन्डिकेट हटाएको दाबी पनि


काठमाडौं। भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पदभार सम्हालेपछि एक बर्षमा गरेका कामको फेहरिस्त सुनाए । फेहरिस्त मात्रै सुनाएनन, आफूले अरु मन्त्रीका तुलनामा धेरै काम भएको दाबी पनि गरे ।

Tata
GBIME
Nepal Life

मन्त्री भएको एक बर्षमा २५ बर्षदेखि सार्वजनिक यातायातको क्षेत्रमा जरो गाडेर बसेको सिन्डिकेट खारेज गरेको, पूर्व -पश्चिम रेलमार्गको डिपिआर तयार पारेको, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पुर्व – पश्चिम राजमार्गलाई गति दिएको प्रगति विवरण समेत सुनाए।  यो अवधिमा ७ सय ४७ किलोमिटर सडक कालोपत्रे, काठमाडौं उपत्यकाको सडक सुधार, करिव सय वटा पुल निर्माण सम्पन्न गरेको दाबी गरे । कुनै आर्थिक बर्षमा ५० भन्दा माथि पुल निर्माण हुन नसकेको भन्दै ऐतिहासिक उपलब्धी भएको र आगामी बर्ष २ सय भन्दा बढी पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको समेत सुनाए ।

छिमेकी राष्ट्र भारत र चीनबाट काठमाडौं जोड्ने रेलको निर्माणको प्रक्रियालाई गति दिएको बताउँदै उत्तर दक्षिण जोड्ने व्यापारिक मार्गमा भैरहेको ढिलासुस्ती हटाएर तीब्रता दिएको दाबी समेत गरे। सबै राष्ट्रिय राजमार्गका लागि विनियोजन भएको रकम खर्च गरेर अर्थसँग थप रकम मागेको समेत महासेठले बताए। उनले फाष्ट ट्रयाकको कामको प्रगति समेत राम्रो रहेको भन्दै फागुन मसान्तसम्म ३८ प्रतिशत प्रगति रहेको बताए।

के हो वास्तविकता?
मन्त्रीले मंगलबार मन्त्रालयमा सुनाएका प्रगतिका फेहरिस्त झूठको पुलिन्दा रहेको पाइएको छ।

महासेठले सिन्डिकेट खारेज गरेको दाबी गरेपनि आफैले संघ/समितिका व्यवसायीलाई तेस्रो पटक कम्पनी मोडलमा जानका लागि केहि दिन अघि समय थपेका थिए। व्यवसायीतिर लचिलो हुँदै समय थपिदिएपनि सिन्डिकेट खारेज गरेर यातायातको क्षेत्रमा सुधार गरेको भन्दै झुठो प्रगति विवरण सुनाए। सिन्डिकेट कायम राख्न अझ उनको भूमिका छ। सिन्डिकेट खारेजीको प्रकृया अघि गृहमन्त्री रामबहादुर थापा बादलले अगाडि बढाएपछि महासेठ आफैँले यसलाई रोक्ने काम गरेका थिए।

सुरुमा नै महासेठ सिन्डिकेट  खारेज गर्ने पक्षमा थिएनन तर आम जनताको समर्थन र सररकारको चौतर्फी प्रशंसा सुरु भएपछि बाध्य भएर बाहिरी रुपमा समर्थन गरेका थिए । यातयात व्यवस्था विभागले गृह मन्त्रालय गुहारेर सिन्डिकेट खारेज गर्ने निर्णयमा अडिग  बनेको थियो । त्यसपछि आफुसँग छलफलनै नगरि सिन्डिकेट खारेजी नेतृत्व लिएको भन्दै तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा गरेर सिन्डिकेट खारेजीलाई अलपत्र बनाएका थिए। अहिले पनि संघ समितिकै दबादबा पहिलेकै जस्तै छ।

मन्त्री महासेठले राष्ट्रिय गौरवको पूर्व – पश्चिम विदयुतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)तयार भइसकेको विवरणमा उल्लेख गरेका छन् । पाँच बर्षमा रेल कुदाउने योजना समेत उनले सुनाएका छन्।तर यता रेल विभागले भने उक्त रेलमार्गको एउटा खण्ड (१३६ किमी) को भर्खरै डिपिआरको काम सुरु गरेको छ। यो खण्डको डिपिआर गरेर फाइनल रिपोर्ट तयार  पार्नका लागि करिव १ बर्ष समय लाग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार एक चरणमा डिपिआर फाइनल गरिएपनि एलान्टमेन्ट परिवर्तन गर्नुपर्ने भएकाले रिर्पोट ढिला आएको हो।

रेलमार्गको डिपिआर जैविक तथा पर्यावरणीय कारणले पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा एलाइन्टमेन्ट परिवर्तन गर्नुपर्ने भएपछि एक बर्ष ढिला हुन लागेको हो। विभागले निकुञ्ज छलेर एलाइन्मेन्ट बनाउँदैछ।पुरानो रुट रौतहटबाट बाराको सिमरा हुँदै ठोरी आएर चितवन छिर्थ्यो । अब रौतहटबाट निजगढहुँदै हेटौडा जाने र त्यहाबाट चितवनतर्फ नयाँ रुट ल्याएको हो । चितवनको लोथर हुँदै छिर्ने रेल टाँडी र सौराहाको वीचबाट वीस हजारी तालको दक्षिणबाट भरतपुर निस्कनेछ ।

त्यस्तै असारदेखि ट्याक्सीलाई मिटरमा अनिवार्य गरिएको भनेपनि कार्यान्वयनमा आउन सकेको छैन् । एकातिर ट्याक्सीको मनोमानीलाई नियन्त्रण गर्न सकिएको छैन भने अर्कातिर ट्याक्सी व्यवसायीको समस्यालाई सम्वोधन गर्न सकेका छैनन्। करिव दुई महिनादेखि ट्याक्सी चालक र व्यवसायीहरुले मौन आन्दोलन गरिरहेका छन्। तर महासेठले ट्याक्सीलाई मिटरमा अनिवार्य गरिएको भन्दै ठूलै उपलब्धी हासिल गरेको भन्दै प्रगति विवरण सुनाएका छन् ।

भाद्रदेखि हरियो स्टिकर अनिवार्य गरिएको बताएपनि कार्यान्वयनमा आउन सकेको छैन् । अहिले पनि उपत्यकामा धेरै यस्ता सवारीसाधनहरु हिडिरहेका छन् । यातायात व्यवस्था विभागले भने पर्याप्त मेसिन र जनशक्ती नहुँदा कार्यान्वयनमा ल्याउन कठिन भएको बताएको छ। उनी मन्त्री हुनुभन्दा पहिले नै कार्यान्वयनमा ल्याईएको इम्वोस्ड नम्वर प्लेटलाई समेत आफ्नो प्रगतिमा विवरणमा समेट्ने भ्याएका छन्।

उपत्यकाका सडकहरु आफु मन्त्री भएर आएपछि तीव्रगतिमा काम गरेर सुधारेको दाबी गरे पनि समस्या उस्तै छ छ। मन्त्री महासेठले उपत्यका भित्रने कंलकी- नागढुङगा र चावहिल – साँखु सडक  जेठ मसान्तसम्म कालोपत्रे सक्ने गरि काम भैरहेको बताएका छन्। तर अहिले गरेको कामको अवस्थालाई हेर्ने हो भने अर्को एक बर्षमा पनि चावहिल- बौद्ध साँखु सडक पुरा हुन कठिन देखिन्छ। । उपत्यका सडक विस्तार आयोजना अन्तर्गत निर्माणाधिन यो सडकको ५० प्रतिशत बल्लतल्ल प्रगति छ । साढे दुई महिनामा बाँकी ५० प्रतिशत काम कसरी पुरा हुन्छ ?