पहिलो लगानी सम्मेलनमा तीन खर्ब लगानी गर्ने इच्छा देखाएका ४ कम्पनीले काम थाले, ५ कम्पनी फर्केनन्

बिजमाण्डू
२०७५ चैत्र १० गते १०:३४ | Mar 24, 2019
पहिलो लगानी सम्मेलनमा तीन खर्ब लगानी गर्ने इच्छा देखाएका ४ कम्पनीले काम थाले, ५ कम्पनी फर्केनन्


काठमाडौं। नेपालले गरेको पहिलो लगानी सम्मेलनमा तीन खर्ब रुपैयाँ लगानी गर्ने इच्छा देखाएका ४ वटा कम्पनीले प्रारम्भिक चरणको काम गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

जसमा ३ वटा चिनियाँ कम्पनीले लगानी ल्याउने गरि प्रारम्भिक चरणका काम गरिरहेको र डोल्मा फण्डले २२ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गराइसकेको लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए।चार वटै कम्पनी उर्जा क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन्।चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी कम्पनीले २३५ मेगावाटको हुम्ला कर्णाली १ र ३३५ मेगावाटको हुम्ला कर्णाली २ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिएको छ।  कुल ५७० मेगावाटका दुई आयोजनाको लागि एक खर्ब १० अर्ब रुपैयाँ लगानी अनुमान गरिएको छ।

त्यस्तै अर्को कम्पनी गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रालीले १२८ मेगावाटको खलङ्गा भेरी, २५६ मेगावाटको भेरी २ र ४०० मेगावाटको भेरी १ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिएको छ। कुल ७८४ मेगावाटका तीन आयोजनाको लागत एक खर्ब ५० अर्ब रुपैयाँ अनुमान गरिएको छ।
त्यस्तै अर्को चिनियाँ कम्पनी चाइना हारबोर इन्जिनियरिङ कर्पोरेसनले ७८ मेगावाटको साञ्जेनखोला जलविद्युत आयोजनामा जोइन्ट भेन्चर गरि १५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ।

लगानी सम्मेलनमा सिचुवान वाङपिङले एक खर्ब रुपैयाँ र चाइना हरबोरले १५ अर्ब रुपैयाँ लगानी गर्ने इच्छा जाहेर गरेका थिए। गेजुवा ग्रुप र डोल्मा फण्डले भने कुनै लगानीको ईच्छा देखाएका थिएनन्।

पाँच कम्पनी फर्केनन्
विद्युत विकास विभागले ०७४ असोज २६ गते ६५० मेगावाट क्षमताको तामाकोशी ३ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति निजी क्षेत्रको कम्पनी टिबीआइ होल्डिङलाई दिएपछि लगानी सम्मेलनमा तामाकोशीमा लगानी गर्ने ईच्छा देखाएका ७ मध्ये ५ वटा कम्पनी नफर्केको लगानी बोर्डको दावी छ।

तामाकोशी ३ मा लगानी गर्ने इच्छा देखाएका सिचुवान वाङपिङ र गेजुवा ग्रुपले मात्रै अन्य आयोजनामा लगानी गर्ने गरि काम गरिरहेका छन्। तर तामाकोशी ३ मै लगानी गर्ने इच्छा देखाएका अन्य ५ कम्पनीमा चिनियाँ कम्पनी वुलिङ पावर कम्पनीले एक खर्ब २० अर्ब रुपैयाँ, चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनले तीन खर्ब रुपैयाँ, चाइना स्टेट कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङले २ खर्ब रुपैयाँ, सिटिसिई ग्रुप चाइनाले एक खर्ब रुपैयाँ र जापानी कम्पनी द कन्साई इलेक्ट्रिक पावरले एक खर्ब रुपैयाँ लगानी गर्ने इच्छा देखाएका थिए।

उर्जा क्षेत्रमा लगानी गर्ने ईच्छा देखाएका सबै कम्पनीको आँखा तामाकोशी ३ मा परेपनि उर्जा मन्त्रालयले उक्त आयोजना अर्कैलाई दिएपछि उनीहरु नफर्केको बोर्डको दावी छ।पहिलो लगानी सम्मेलनमा १९ वटा विदेशी र ६ वटा नेपाली कम्पनीले करिब १५ खर्ब रुपैयाँ लगानी गर्ने इच्छा देखाएका थिए। त्यो मध्ये करिब तीन खर्ब रुपैयाँ बराबरका आयोजनाको प्रारम्भिक काम सुरु भएको हो।