लगानी सम्मेलन: ५ हजार ५०० मेगावाट बराबरका १८ जलविद्युत आयोजना, ११ खर्ब लगानी खोजिदै

बिजमाण्डू
२०७५ चैत्र ९ गते १०:५१ | Mar 23, 2019
लगानी सम्मेलन: ५ हजार ५०० मेगावाट बराबरका १८ जलविद्युत आयोजना, ११ खर्ब लगानी खोजिदै


काठमाडौं। सरकारले लगानी सम्मेलनमा ५ हजार ५७८ मेगावाट बराबरका १८ वटा जलविद्युत आयोजना लगानीका लागि तयार पारेको छ। विदेशी लगानीका लागि तयार पारेको जलविद्युत आयोजनामा करिब १० खर्ब ८६ अर्ब रुपैयाँ लगानी आवश्यक छ।

Tata
GBIME
Nepal Life

यहि चैत्र १५ र १६ गते आयोजना गर्ने लागिएको लगानी सम्मेलनका लागि तयार पारिएका ६३ आयोजना मध्ये करिब ३० प्रतिशत आयोजना जलविद्युत क्षेत्रका मात्रै रहेका छन्।सरकारी स्तरबाट ७ वटा र निजी क्षेत्रबाट ११ वटा आयोजना गरि १८ वटा जलविद्युत आयोजनालाई लगानी सम्मेलनमा प्रस्तुत गर्न लागिएको लगानी बोर्डले जनाएको छ।

सरकारले तयार पारेको एक हजार ११० मेगावाटको सुनकोशी २ जलविद्युत आयोजना सबैभन्दा ठूलो आयोजना रहेको छ। पश्चिम सेती र एसआर ६ जलविद्युत आयोजनालाई संयुक्त रुपमा विकास गरे एक हजार २०० मेगावाट क्षमता हुने भएपनि छुट्टा छुट्टै विकास गरे पश्चिम सेती ७५० र एसआर-६ ४५० मेगावाटको हुनेछ।

त्यसैगरि ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना, ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना, ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना र ५३६ मेगावाटको सुनकोशी ३ जलविद्युत आयोजना ५०० मेगावाट भन्दा ठूला जलविद्युत आयोजना रहेका छन्।

त्यसैगरि ५०० मेगावाट भन्दा कमको ४१० मेगावाटको नलसिंहगाड जलाशययुक्त जलविद्युत आयोजना पनि लगानीका लागि तयार भएको परियोजना हो।कुल ७ आयोजनाको चार हजार ६९१ मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता रहेको छ भने लागत नौ खर्ब ३० अर्ब रुपैयाँ अनुमान गरिएको छ।

त्यसैगरि निजी क्षेत्रबाट देखाउन लागिएको जलविद्युत आयोजनामा सबै भन्दा ठूलो २६० मेगावाटको नाम्लन खोला जलविद्युत आयोजना रहेको छ। १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना र १३२ मेगावाटको तल्लो बरुणखोला जलविद्युत आयोजना मात्र १०० मेगावाट भन्दा ठूला आयोजना हुन्।

अन्य १०० मेगावाट भन्दा साना आयोजनामा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना, ५३.६ मेगावाटको मध्य कालिगण्डकी जलविद्युत आयोजना, ५० मेगावाटको तारप खोला जलविद्युत आयोजना, ४६ मेगावाटको अपर बलेफी जलविद्युत आयोजना, ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना, ३६ मेगावाटको अपर बलेफी ए जलविद्युत आयोजना, ३० मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजना र १८ मेगावाटको इगुवा खोला जलविद्युत आयोजना रहेका छन्। कुल ११ वटा आयोजनाको क्षमता ८८७ मेगावाट र लागत एक खर्ब ५६ अर्ब रुपैयाँ अनुमान गरिएको छ।