लगानी सम्मेलनका परियोजना: ११ अर्ब लागतमा शे फोक्सुन्डो लक्जरी रिर्सोट, मनाङमा पनि रिसोर्ट

बिजमाण्डू
२०७५ चैत्र ८ गते ११:२९ | Mar 22, 2019
लगानी सम्मेलनका परियोजना: ११ अर्ब लागतमा शे फोक्सुन्डो लक्जरी रिर्सोट, मनाङमा पनि रिसोर्ट

काठमाडौं। डोल्पामा ‘हाइइन्ड’ पर्यटकलाई लक्षित गर्दै लक्जरी रिर्सोट बनाउन सकिने परियोजना तयार भएको छ। लगानी बोर्डले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै तयार पारेको परियोजनामा यो लक्जरी रिर्सोट समेत शोकेस गर्दैछ।

Tata
GBIME
Nepal Life

सय कोठा भएको पाँच तारे लक्जरी रिर्सोट शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र रहनेछ। सन् १९८४ मा स्थापना भएको यो निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। १ हजार ३ सय ७३ स्क्वायर मिटर रहेको निकुञ्ज डोल्पा र मुगु जिल्लालाई जोड्छ। 

बोर्डका अनुसार यो रिर्सोटबाट राष्ट्रिय निकुञ्जसँगै शे फोक्सुन्डो ताल समेत राम्रोसँग देख्न सकिन्छ। हाइ अल्टिच्यूटमा होटल निर्माण हुने भएकाले यहाँ आउने पर्यटकले बेग्लै अनुभूति गर्न पाउनेछन्। होटलमा लक्जरी र स्वीट रुम हुनेछन्। 

होटलमा मल्टी कुजन फाइन डाइनिङ रेष्टुरेन्ट, वाइन सेलर, कन्फ्रेन्स तथा बैठक हल, इन्डोर र आउटडोर स्वीमिङ पुल,क्यासिनो तथा लिजर सेन्टर, गल्फ कोर्ष, स्पा तथा वेलनेश र हेलिप्याड समेतको व्यवस्थासहितको होटल निर्माण गर्न सकिनेछ। 

विश्वव्यापी रुपमै लक्जरी टुरिज्जम फष्टाउँदै गएकोले समेत शे फोक्सुन्डोमा रिर्सोट विदेशीका लागि आकर्षक हुनसक्ने बोर्डको ठम्याई छ। उचित प्रचारप्रसार र पूर्वाधारको अभावले शे फोक्सुन्डोमा जाने पर्यटक भने न्यून छन्। शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार सन् २०१६/०१७ मा ५ सय ३५ जना पर्यटक मात्रै त्यहाँ पुगेका छन्। त्यहाँ अहिले पर्यटकीय स्तरका होटल छैनन्। ट्रेकिङ जाने अधिकांश पर्यटक स्थानीय होटल र होमस्टेमा बस्ने गर्छन्।

मनाङमा लक्जरी रिर्सोट
बोर्डले तयार पारेको अर्को परियोजना हो मनाङमा लक्जरी स्की रिर्सोट। गण्डकी प्रदेशमा रहने यो रिर्सोट ३ हजार ५ सय १९ मिटर अल्टिच्यूडमा रहनेछ। सिजनल पर्यटकलाई लक्षित गर्दै बन्ने यो रिर्सोटमा ४० वेडको माउन्टेन होटल र १० वटा लक्जरी क्लब लज हुनेछ। 

माउन्टेन्ट होटलमा लक्जरी स्वीट, प्रिमियम स्वीट, मल्टी कुजन रेष्टुरेन्ट, ब्यांकेट हल, हेल्थ क्लब, तातोपानी भएको स्वीमिङ पुल, स्पा र साउना हुनेछ। यो वाहेक होटलमा चेयरलिफ्ट, म्याजिक कार्पेट, आउटडोर विन्टर एण्ड समर टेरेस लगायतका सुविधा हुनेछ। बोर्डका अनुसार यो क्षेत्रमा लक्जरी होटलको सम्भावना अपार छ। 

ट्रेकिङ र माउन्टेनरिङका लागि वार्षिक ७५ हजार २ सय १७ जना पर्यटक आउने गर्छन्। मनाङमा जाडोयाममा हिउँ परिरहने हुनाले स्कीका लागि पर्यटक आकर्षित गर्न सकिने बोर्डको दाबी छ।

कसरी निर्माण गर्न सकिन्छ होटल?
सार्वजनिक निजी साझेदारी अन्तर्गत यो रिर्सोट स्थापना गर्न सकिन्छ। सरकारले जमीन किन्न, अरु पूर्वाधार सुविधा र परियोजनामा सुरक्षा दिनेछ। योसँगै कानुनी प्रकृयालाई समेत सरकारलेनै सहजीकरण गर्नेछ। 

रिर्सोट निर्माण भएको ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ। यो परियोजनामा आउने कम्पनीले एक वर्षमा प्रि कन्स्ट्रक्सन, अर्को एक वर्षमा फाइनान्सियल क्लोजर र तीन वर्षभित्र निर्माण सकिसक्नुपर्नेछ। यी दुबै रिर्सोट निर्माणका लागि झण्डै ११/११ अर्ब रुपैयाँ लाग्ने देखिएको छ।

पर्यटनमै अरु यस्ता छन् परियोजना
लगानी बोर्डका अनुसार दमौली मल्टीप्रपोज, दोलखा माउन्टेन एकेडेमी, ड्रिमल्याण्ड धुलिखेल, फिल्मसिटी दोलखा, गौतम बुद्ध इन्टरनेशनल मेटिरनिटी हस्पिटल, जानकी हेरिटेज होटल एण्ड कल्चर भिलेज,तालतलैया थिम पार्क विथ होटल र खप्तड टुरिज्जम छ।